मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र नसमाती सुखै छैन। https://www.himalkhabar.com/news/130022
मुलुकको अर्थतन्त्र आजको कठिन अवस्थामा कसरी आइपुग्यो भनेर केलाउन थोरै विगततिर फर्कनुपर्ने हुन्छ। शुरूमा वैदेशिक मुद्राको घट्दो सञ्चितिबारे चर्चा गरौं। कोभिड–१९ महामारीको वेला उद्योगधन्दा, होटल बन्द थिए, तिनलाई चाहिने आयात भइरहेको थिएन।
जसका कारण विदेशी मुद्रा सञ्चिति राम्रो अवस्थामा थियो। तर, कोभिड शिथिल भएर आर्थिक क्रियाकलापले तीव्रता पाएसँगै आयात स्वाभाविक रूपमा बढ्यो। त्यो अवस्थामा अर्थ मन्त्रालयले राजस्वको दृष्टिले मात्रै हेर्यो। आयात बढ्दा राजस्व बढ्छ र त्यसले अर्थतन्त्र धान्छ भन्ने बुझाइ राखेको देखियो। तर, आयात वृद्धिले कस्तो समस्या ल्याउँछ भन्ने ख्याल गरेन र नियन्त्रित आयाततर्फ सोच नै पुगेन।
खास गरी गत वर्षको भदौ, असोजदेखि नै आयातमा जुन तीव्रता आइरहेको थियो, त्यसले तत्काल राजस्वमा राम्रो टेवा दिए पनि पछि के असर गर्छ भन्ने कुरा अध्ययन भएन। त्यो अर्थ मन्त्रालयले गरेन या गर्न सकेन। अरू मन्त्रालयहरूले पनि त्यसमा ध्यान दिएनन्। यसमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्कले विशेष ध्यान दिनुपर्ने हो। पछि, विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि मात्रै राष्ट्र ब्याङ्क अब नियन्त्रण गर्नुपर्छ भन्नेतिर गयो।