डुबेर चार जनाको मृत्यु

File photo
File photo

दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ। 

दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ। 

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ। 

आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अचेत अबस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

गुल्मीको रेसुङगा नगरपालिका–१४ छल्दिपना खोलामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन्। डुबेर मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत र जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामत रहेका छन्। 

माछा मार्न गएको र घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ। 

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-05-11 12:46:00

प्रतिकृया दिनुहोस्