निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै दलहरू, पार्टीगत गीतले जनताको टाउको दुखाइ

लोकान्तर

प्रकाश आचार्य

राजनीतिक दलहरूले चुनावको मुखमा निर्वाचन आचारसंहिता विपरीत बजार क्षेत्रलाई कोलाहल मच्चाएका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित दलहरूको प्रचारप्रसार तीब्र छ । गाडी र ई–रिक्सामा चर्को आवाजमा पार्टीगत गीत घन्काउँदै उम्मेदवारको प्रचारप्रसार गर्दा गाउँशहरमा ठूलो आवाजले जनताको टाउको दुखाइ भएको छ ।

प्रमुख राजनीतिक दलहरू बिहानैदेखि राति अबेरसम्म ठूलो आवाजमा पार्टीगत चुनावी गीत बजाइरहेका छन् ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) का गीतहरूले अहिले लुम्बिनी प्रदेश मुकाम बुटवल लगायत जिल्लाभर ‘माइकिङ’ गरिरहेका छन् ।

रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले दलहरूका गीत घन्काएर हिँड्ने प्रचारप्रसार शैली आचारसंहित विपरीत रहेको बताए । ‘दलहरूले यस्तो गर्न पाइँदैन,’ अधिकारी भण्डारीले लोकान्तरसँग भने, ‘सानो हाते माइक उम्मेदवारको गाडीमा मात्रै राख्न पाइन्छ । गाडीमा २ वटा झण्डा, एउटा चुनाव चिह्न मात्र राखेर हिँड्ने हो । अरु गर्न पाइँदैन । यस्तो गर्ने दलको नाममा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि गर्नुपर्छ ।’ 

प्रकाशित मिति: : 2022-05-09 13:15:00

प्रतिकृया दिनुहोस्