ओली गढमा राप्रपा अघिअघि, एमाले पछिपछि

Breaknlinks
Breaknlinks

चितवनमा जस्तै दमकमा पनि स्थानीय निकायको निर्वाचन रोचक मोडमा पुगेको छ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला मानिएको दमक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत पाँच दलीय गठबन्धनले राप्रपाका राम थापालाई मेयरको साझा उम्मेदवार बनाएपछि यहाँको चुनाव रोचक मोडमा पुगेको हाे।

गठबन्धनका सबै दलहरूले समर्थन गरेका कारण राम थापाको जित सुनिश्चित देखिन्छ भने एमाले पछाडि देखिएको छ। यद्यपि पार्टी अध्यक्ष ओलीले यो नगरपालिकालाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन्। यसैले सोमबार उनले दमकमा आमसभा गर्न लागेका छन्।

राम थापा दमकका प्रभावशाली नेता हुन्। २०२७ सालदेखि नै पञ्चायती राजनीतिबाट उनी दमकमा क्रियाशील छन्। उनी दुई पटक दमक नगरपालिकाको निर्वाचनमा झिनो मतान्तरले पराजित व्यक्ति पनि हुन्। उनी दुवै पल्ट एमालेका रोम ओलीसँग पराजित भएका थिए।

यसपालि एमालेले रोमलाई बसाएर पहिले उपमेयरकी उम्मेदवार गीता भण्डारीलाई मेयरमा उठाएको छ। मेयर पदका लागि राम थापाको यो तेस्रो प्रयास हो। अहिले कांग्रेस, कम्युनिस्टलगायत सबै राजनीतिक दल आफ्नो पक्षमा भएको कारण चुनाव जित्नेमा ढुक्क छन्।

‘अहिले माहौल राम्रो छ। यसअघि एक्लै चुनाव लड्दा ३ हजार मतले पराजित भएको थिए। अहिले कांग्रेस, कम्युनिस्ट सबैले सघाएका छन्। राम्रो मतले जित्छु होला,’ उनी भन्छन्।

गठबन्धनको तर्फबाट उपमेयरमा नेपाली कांग्रेसकी रेगीना भट्टराई उम्मेदवार छिन्। राम थापा आफू सहज र इमान्दार भएको कारण सबै दलले पत्याएको बताउँछन्। ‘मैले राजनीतिलाई पेशाको रुपमा नभई सेवा भावको रुपमा ग्रहण गरेको छु। त्यसैले सबैले साथ दिनुभएको हो,’ उनले भने।

प्रकाशित मिति: : 2022-05-09 18:20:00

प्रतिकृया दिनुहोस्