लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छन भने एक घाइते भएका छन्।
सुन्दरबजार नगरपालिका- ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए। घाइते नेपालीलाई उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो।
बेसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो रागोले शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविनालाई हानेर घाइते भएकी थिइन्। उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। तीन वर्षको सो रागोलाई प्रहरीले गोली हानेर मारेको छ। उक्त राँगोलाई दिमागी असन्तुलन भएको हुनसक्ने बताएको छ।