एमबीबीएस अध्यापनका लागि कर्णाली प्रतिष्ठानलाई दश सिट थप

File Photo
File Photo

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलगायतको सिट निर्धारण गरेको छ।

गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सिट थपिएको छ।

गत वर्ष २० जना विद्यार्थी पढाएको प्रतिष्ठानले यो वर्ष ३० जना विद्यार्थीलाई एमबीबीएस पढाउने भएकाे छ। बीएनएस, बी–फार्मेसी र बीपीएच पठनपाठन गराउन २०/२० सिट तोकिएको छ। गत वर्षभन्दा स्नातक तहमा ३ सय ९ सिट थप गरिएको आयोगले जनाएको छ।

एमबीबीएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ। कर्णाली प्रतिष्ठानमा १० सिटसहित देवदह मेडिकल कलेजमा ५० सिट तोकिएको हो।

काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित देवदह मेडिकल कलेजले अघिल्लो वर्ष एमबीबीएसमा विद्यार्थी अध्यापन गराउन एक सिट पनि पाएको थिएन। फ्याकल्टी संख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चापलगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्था छ। गतवर्ष आयोगले देवदहले मापदण्ड पूरा नगरेको भन्दै सिट कटौती गरेको थियो।

शिक्षण संस्थाको सिट निर्धारण गरिएकाले शिक्षण शुल्क तोकेर म्याजिङ प्रक्रिया सुरु गर्ने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए। आयोगले प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको झन्डै १ महिनासम्म शिक्षण संस्थाको सिट निर्धारण गर्न सकेको थिएन।

सबैभन्दा धेरै एमबीबीएसका लागि २१ शिक्षण संस्थामा १ हजार ८ सय ९५ सिट कायम गरिएको छ। नर्सिङमा १ हजार ४ सय ६०, बीबीएचमा १ हजार ३ सय ५०, बीएनएसमा १ हजार १ सय ५०, बी फार्मेसीमा ८ सय ७० र बीबीएसमा ५ सय ६५ सिट कायम गरिएको आयोगका निमित्त सदस्य सचिव सेमन्तराज कोइरालाले जानकारी दिए।

यसैगरी, एडल्ट नर्सिङ, कम्युनिट नर्सिङ, क्रिटिकल केयर, एमएलटीलगायत स्नातक तहका विभिन्न २१ विषय क्षेत्रमा सिट निर्धारण गरिएको छ। यसपटक पनि आयोगले एमबीबीएसमा अधिकतम एक सय सिट निर्धारण गरेको छ। २१ मध्ये अधिकांश शिक्षण संस्थामा एक सय सिट तोकिएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५, कर्णालीमा ३०, जानकारी मेडिकल कलेजमा ५०, देवदहमा ५० बाहेक अरू एमबीबीएस पढाइ हुने शिक्षण संस्थाले एक सय सिट पाएका छन्।

प्रकाशित मिति: : 2022-05-08 13:17:00

प्रतिकृया दिनुहोस्