युक्रेन युद्धपछि रूसी नागरिकहरू किन सर्दैछन्, यूएई !

बिएल संवाददाता

मध्य–पूर्व
khaleejtimes

युक्रेन युद्धपछि रूसले अनेकौं आर्थिक प्रतिबन्धहरू भोगेकाे छ। रूसी अरबपतिहरू व्यापारका लागि सुरक्षित स्थान खोजिरहेका छन्। कैयौं रूसी धनाढ्यहरूका लागि आशाको केन्द्र बनेको छ, यूएई।

रूसका अरबपति तथा व्यापारीहरू ठूलो संख्यामा यतिबेला यूएई भित्रिरहेकको बीबीसीले खुलासा गरेको छ। स्रोतका अनुसार २०२२ को सुरूआती चरणमा ६७ रूसी व्यापारीले दुबईमा सम्पत्ति जोडेका छन्।

रूसले लगातार युक्रेनमाथि आक्रमण जारी राखेको छ। तर यूएईले रूसी बर्बताविरूद्ध न निन्दा गरेको छ, न त प्रतिबन्ध नै लगाएको छ।

यूएईले दिनहुजसो रूसी नागरिकहरूलाई भित्र्याइरहेको छ। जबकि धेरै थुप्रै पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन्।

लाखौं रूसीले देश छोडे

स्रोतका अनुसार पछिल्ला दुई महिनायता लाखौं रूसी नागरिकले देश छोडेका छन्। तर, यो यकिन तथ्यांक भने छैन, अनुमान हो।

युक्रेन–रूस युद्ध सुरु भएको पहिलो हप्तामै करिब २ लाख रूसी नागरिकले देश छोडेको रूसका अर्थशास्त्रीले दाबी गरेका छन्।

हजारौं रूसी दुबई छिरेपछि विलासी महल र फ्ल्याटको माग ह्वात्तै बढेको छ। घरजग्गा एजेन्टहरूका अनुसार रूसीहरू घर खोज्दै दुबई आउने गरेका छन्, जसका कारण घरजग्गाको मूल्य पनि बढेको छ।

दुबईस्थित रियल इस्टेट एजेन्सी बेटरहोम्सका अनुसार २०२२ को पहिलो तीन महिनामा सम्पत्तिको मूल्य दुई तिहाइले बढेको छ। बढ्दो माग पूरा गर्न रूसी भाषा बोल्ने एजेन्टहरू पनि राखिएको छ।

रूसी कर्मचारी युएईमा

थुप्रै बहुराष्ट्रिय र रूसी स्टार्ट–अप कम्पनीहरूले पनि आफ्ना कर्मचारीहरूलाई दुबई पठाइरहेका छन्। रूसी नागरिक फाद फतुलेभ रुस र युक्रेनमा कार्यालय भएको एक प्रविधिक कम्पनीका सह–संस्थापक हुन्।

युद्ध सुरु भएपछि उनी र उनका साथीहरूले आफ्ना सयौं कर्मचारीहरूलाई यूएईमा सारेका छन्। ‘युद्धले असर पारेको छ। पहिले जस्तो काम गर्न सकेनौं किनभने हामीले युक्रेन र रूसबाट सयौं मानिसलाई बाहिर सार्नुपर्यो,’ फतुलेभ भन्छन्।

आर्थिक र राजनीतिक वातावरण सुरक्षित भएकाले आफ्ना कर्मचारीहरूलाई युएईमा सार्ने निर्णय गरेको पनि उनी बताउँछन्। 

अन्तर्राष्ट्रिय ग्राहक र ब्रान्डहरूसँग व्यापार गर्ने कम्पनीहरूको लागि चुनौती ठूलो थपिएको छ। किनभने अधिकांश पश्चिमी कम्पनीहरूले रूसमा रहेका कम्पनीहरूसँग सम्बन्ध तोडेका छन्।

प्रकाशित मिति: : 2022-05-08 09:00:00

प्रतिकृया दिनुहोस्