बाग्मती नदी ढलमती भएको धेरै वर्ष भएको छैन । तीन दशक अगाडिसम्म यहाँको पानी कञ्चन थियो । त्यो आज सपना जस्तो भएको छ । अहिले बाग्मतीमा माछा छैनन् । जलचरहरू छैनन् ।
पशुपन्छी र चराचुरुंगीले पिउनका लागि पानी पनि छैन । नदी किनारमा रहेका पशुपति, गुहेश्वरीलगायतका मठमन्दिरमा चढाउने जलको अभाव छ । प्रजातन्त्रको आगमनसँगै बाग्मतीको दुर्दशा सुरु भएको काठमाडौंवासीलाई थाहा छ । देख्नेलाई थाहा छ । अहिले बाग्मती नदी ढलमती भएको छ । राजधानी सहरबीचबाट बहने नदीको यो अवस्थाले लोकतान्त्रिक सरकारको अनुहार झल्काएको छ ।
राज्यको व्यवस्थापकीय अकुशलता प्रस्ट्याएको छ ।प्रजातन्त्रको पुनस्र्थापना पछाडि काठमाडौंमा जनसंख्याको चाप बढेसँगै बाग्मती नदीमा फोहर बढ्दै गएको हो । ३ दशक अगाडिसम्म काठमाडौंवासीले बाग्मती नदीको पानी खाने गर्दथे । कपडा धुने, नुहाइधुवाई गर्ने पानीको स्रोत नै बाग्मती नदी थियो । प्रजातन्त्रको पुनस्र्थापनापछि अव्यवस्थित सहरीकरण, बसाइसराइ एवं जनसंख्या बृद्घिले काठमाडौं प्रदूषित सहरमा परिणत हुँदै गयो ।
काठमाडौंवासीले नदीमा फोहोर, मैला, प्लाष्टिक, मरेका जनावर बाग्मतीमा फल्न थाले, ढल मिसाउन थाले । राज्यले बाग्मती नदीलाई सफा र स्वच्छ राख्ने कुनै पनि वैधानिक नीतिनियम बनाएर खरो रूपमा कार्यान्वयन गर्न सकेन । बाग्मती नदी सरसफाइ अभियानमा सरकारले अर्बाै रुपैयाँ खर्च गरेको छ । वैज्ञानिक कार्य योजनाको अभावका कारण रकम मात्र खर्च भयो ।
नदीको अवस्थामा सुधार हुन सकेन । अहिलेसम्म भएको अर्बौं लागानीले सुन्दरीजलदेखि चोभारसम्म करिब १६-१७ किलोमिटरको दूरीमा नदीको दुवै किनारबाट पाइप बिछ्याएर ढल निकास गरेको भए पुग्ने रकम खर्च गरियो तर नदी जस्ताको त्यस्तै छ ।