आईजीपी नियुक्ति प्रकरणमा आज पनि सुनुवाइ : कसको पक्षमा आउला आदेश ?

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ बिहीबार पनि जारी रहने भएको छ।

यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो। न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो।

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए।

रिटमाथि बुधबार पहिलो बहस भएको हो। बुधबार दिनभर बहस नसकिएपछि आजका लागि सारिएको थियाे।

महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। सोही आधारमा महान्यायाधीवक्ता खम्बबहादुर खाती पनि बहसमा सहभागी भएका थिए।

रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए। नवनियुक्त आईजीपी सिंहको तर्फबाट समेत अधिवक्ताहरूले बहस गरेका थिए।

उनको तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए।

प्रकाशित मिति: : 2022-05-05 09:50:00

प्रतिकृया दिनुहोस्