चालीसको दशकतिर गायक उज्ज्वल मैनालीले गाएको ‘नाक मेरो कस्तो–कस्तो, माउन्ट एभरेस्ट जस्तो, राम्रो नेता चाहिएमा छान्नुस् म जस्तो, दाहिने हातले दिनुस् हजुर सानो एउटा भोट, देब्रे हातले लिनुस् हजुर शुद्ध गैँडा नोट’ गीत धेरैले बिर्से होलान् तर चुनावको समयमा यो गीतमा भने जस्तै हुन्छ।
यद्यपि, अहिलेको चुनावमा गैँडा नोट (सय रुपैयाँ)ले भोट आउने कुरा भएन, सायद भोटको लागि कमसेकम हात्ती नोट (एक हजार रुपैयाँ)को आवश्यकता पर्छ होला। हाल आसन्न स्थानीय तहकाे चुनावमा पनि यो गीतको मर्मले सार्थकता पाउने कुरामा दुई मत नहोला। बिडम्बना नै मान्नुपर्छ, सुमधुर स्वरका धनी गायक मैनालीले व्यवसायीक रुपमा गीत गाउन छोडेको तीसौं वर्ष भइसक्यो।
स्थानीय चुनावको सेरोफेरोमा काठमाडौँ महानगरपालिकाका केही मेयरका उम्मेदवारहरुको योग्यता र गतिविधि हेर्दा दया भाव जाग्छ, र न केहीबाट आशा गर्न सकिन्छ। प्रथम एमालेका उम्मेदवार केशव स्थापितलाई लिउँ- दुई पटक मेयर भइसकेका स्थापित सामान्य मतदाताको लागि बकम्फुसे व्यक्ति हुन्। आफ्नो पहिलेको कार्यकालमा केही काम गरेका स्थापितलाई आफ्नो सम्पर्कमा आउने महिलाहरुको यौन शाेषण गर्ने गरेको गम्भीर आरोप लागेको छ।
विकसित देशमा भएको भए यस्तो आरोप लागेको व्यक्ति मेयरको उम्मेदवार हुने सपना पनि देख्न सक्थेन, तर हाम्रो देशमा जे पनि हुन सक्छ। त्यसको कुरा अहिले नगरौं। हाल उनको चुनावी गतिविधि र बहुलठ्ठी बयानहरुलाई हेर्ने हो भने उनी अहिले नै पराजित भइसकेका छन्। आफ्ना प्रतिस्पर्धीहरुलाई लगाउने भद्दा आरोप कुनै पनि मतदाताले उनलाई मत दिनु पहिले एकपटक गम्भीरता पूर्वक सोच्नु अत्यावश्यक छ।
सञ्चारकर्मी राजेन्द्र बानियाँसँग कुरा गर्दै गठबन्धन उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले कांग्रेसी कार्यकर्ताहरुले ‘तिमी जस्तो योग्य उम्मेदवार चुनावमा नउठे हामी आन्दोलन गर्छौ’ भनेर जुलुससहित घरमा धर्ना दिएको कारण मात्र जबर्जस्ती उठेको दाबी गरेकी छिन्। यदि यो कुरा सतप्रतिशत सत्य हो भने सम्पूर्ण कांग्रेसी कार्यकर्ताहरुलाई राम राम भन्नुबाहेक पंक्तिकारसँग कुनै जवाफ छैन।
प्रकाशमान सिंहको श्रीमती हुनुबाहेक मेयर पदमा उम्मेदवार हुनको लागि उनीसँग कुनै पनि योग्यता छैन। बानियाँसँगको कुराकानीमा उनले दिएको उत्तर सुन्दा यदि उनी बिजयी भएमा आफ्ना कार्यकर्तालाई जागिर दिनु, तलब भत्ता बुझ्नु र ठेक्का वा टेन्डरमा आउने कमिसन बुझ्नुबाहेक उनको तर्फबाट झिङ्गा पनि नमर्ने निश्चित छ।
मेयर पदका अर्का दुई स्वतन्त्र उम्मेदवारहरु हुन्, सुशील थापा र बालेन साह। थापा र साह दुवै उच्च शिक्षित हुन् र उनीहरुले अगाडि सारेका एजेन्डाहरुलाई हेर्दा यी दुबैबाट आशा गर्न सकिन्छ। यद्यपि, उनीहरु दुबैको कुनै राजनैतिक पृष्ठभूमि छैन। यदि पंक्तिकार भौतिक रुपमा नेपालमा हुँदो हो त थापालाई मत दिन्थ्यो तर साहबाट पनि धेरै आशा गर्न सकिने कुरालाई नकार्न मिल्दैन।
अब हाम्रो पार्टीले भुस्याहा कुकुर उठाए पनि ‘त्यसैलाई नै मत दिने हो’ भन्ने अन्धभक्त कार्यकर्ताहरुलाई छोडेर स्वतन्त्र व्यक्तिहरुले योग्य उम्मेदवारहरुलाई मत दिने हो कि, यस्तै बकम्फुसेहरुलाई मत दिएर अर्को ५ वर्ष कल्पिएर बस्ने हो? त्यो निर्णय गर्ने समय भएको छ। यसको साथै काठमाडौँका मतदाताहरुको बौद्धिकस्तर कस्तो छ भनेर पनि यो चुनावको परिणामले बताउने कुरालाई नकार्न मिल्दैन।