‘गोसाई यै देशमी त उनकै चुनाव मात्र आउन्या भयो’

Breaknlinks
Breaknlinks

साँझपख हावाहुरी चल्छ। दिनभर राजनीतिको कोलाहल सुरु हुन्छ। बिहान बिहानै सडक किनारमा आ–आफ्नो पसल नजिकमा थुपारेको फोहर जलाउँछन्, दिपायल पिपल्लाका पसलेहरू। बिहान बिहानै नाकमा लडाइ गर्न आइपुग्छ प्लास्टिकको गन्ध बोकेको धुँवा। मोर्निङवाकमा हिँड्नुपर्छ नाक थुनेर। पछिल्लो समय यो अवस्थामा आइपुगेको छ, दिपायल बजार। एकातिर राजनैतिक प्रदुषण अर्कोतिर फोहरका डङ्गुर जल्दाको प्रदुषण।

उता आफ्नै सुरमा आफ्नै गतिमा किनारालाई छालले छुदै अनवरत रुपमा दौडिरहेकी सेतीको किनार पनि दुर्गन्धित बनाइएको छ। सेती किनारलाई डम्पिङ साइड बनाउने नगरपालिकासँग छैन्, त्यहाँका स्थानीयहरूको केही आश। चैतको हावाहुरी जस्तै चुरिफुरी गर्ने मान्छेको जातसँग दिकदार बनेकी प्रकृति खिन्न छन्, दिपायल सिलगढी नगरपालिकाको अवस्था देखेर।

केही स्थानीयहरू सुनाउने गर्छन्,‘अहिलेकी नगर प्रमुख मञ्जु मलासी विगतमा निकै क्रान्तिकारी थिइन्। पद नपाउन्जेल महिलाको नेतृत्व गर्दै हिँड्ने शाहसी महिला नेतृ पनि थिइन्। तिनका सबै क्रान्तिकारी अभियानहरू केवल पदका लागि मात्रै रहेछ।’ मेयर बनेपछि शक्तिको ताप बढ्दै गयो उनमा पनि। न उनीसँग महिलाका मुद्दा रहे न त रहे शहरका मुद्दा नै। ५ वर्षे जागिर खान आइन उनी। ५ वर्षे कार्यकालमा मासिक तलबभत्ता असुलिन् र कार्यकाल सकिन्।

पिपल्ला बजारका व्यापारीहरूको भनाइअनुसार स्थानीयले बिरोध गर्न थालेपछि पछिल्ला दिनमा फोहर व्यवस्थापन गर्ने भनेर सेती नदीको किनारमा फोहर फाल्न लगाइन्। बिस्तारै नगरको फोहर लैजाने गाडी पनि देखिन छाड्याे।

सेतीपुलमा उभिएर किनारमा थुपारिएको फोहर हेरेर टोलाइरहेकी देउसराले भनिन्,‘हिजोका दिनमी हाम्लाई डोकोभरी फोहर लैजाइबर नगरपालिकाका हाकिमका टेबुलमाइ खन्याउन लगाइन्। आज आफैं मेयर छन् फोहर व्यवस्थापन इसेरी गर्न लागिन्। यै देश जो आएलै गरिबगुरुवाका दिन उसाइ। ठाउँको हालत उसोइ। यो राजनीति हो कि रामनीति अर्थात् राम हेद्दे नीति हो गोसाई ?’

देउसराकाअनुसार २०७२ साल चैत्र २ गते अहिलेकी दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले नेतृत्व गरेको केही महिलाहरूको समूहले नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत राजबहादुर शाहीको कार्यकक्षमा फोहरका डोका घोप्ट्यायो। हरेक कोठाका टेबलमा फोहर छर्‍यो। कार्यालयभरि पुरै दुर्गन्ध फैलियो। त्यसलाई फोहर व्यवस्थापनका लागि दबाब दिइएको भनियो। आफ्नो घोषणापत्रमा सरसफाईकै मुद्दालाई प्रमुख बनाएर २०७४ मा बिजयी भएर उनी स्वयम् नगर प्रमुख बनिन्। आफू शक्तिमा पुगेपछि बिर्सिन्, सबै कुरा।

डोटेली भाषामा राम भनेको रमिता र रामहेद्दु भनेको तमासा हेर्नु भन्ने बुझिन्छ। अहिलेको राजनीतिले तमासासा मच्चाइ रहेको छ। राजनीति नभएर लाज नीति बनेको छ। त्यसैले पनि त्यति सजिलो थिएन देउसराको प्रश्नको उत्तर बताउन। हिजोका दिनमा राजतन्त्रको हैकम, मोओवादी क्रान्तिदेखि हालको गणतान्त्रिक व्यवस्थाकी साक्षी बनेकी उनलाई मेरो कामचलाउ उत्तरले पुग्दैन थियो। तै पनि डोटेली भाषाको शब्द पच्काउनुको याद दिलाइरह्यो नगरपालिका प्रमुखका कार्यले  र भन्न वाध्य भएर सुनाए, ‘यै देश इसोइ हो देउसरा भाउजू। यहाँ प्रजातन्त्र हैन। पच्कातन्त्र र लुटतन्त्र छ। अझैं भन्नु पर्दा दुबैको फ्युजन हो अहिलेको समय।’

डोटेली भाषामा पच्काउनुको अर्थ हुन्छ निमोठ्नु/अठ्याउनु आफ्नो ग्रीपमा राख्नु, मुडेबल देखाउनु। मान्छे जुनसुकै तह र तप्काका किन नहुन् शक्तिमा पुग्ने बित्तिकै आफ्नो हैकम देखाउन थाल्दछन्। गरीबका आस्था र विश्वासलाई सजिलै नुगाइ दिन्छन् गोठालाले जङ्गलमा कलिलो डालीलाई नुगाएझैं।

पुनः बोलिन उनी,‘नेता जति सबै सम्राट बन्न लागे। पैसाको खेती गद्द लागे। आफनै भुँडी भद्द लागे। यै देशमी उनकै चुनाव मात्तर(मात्रै) आउन्या भयो। अरू केही नआउन्या भयो धेक्या गोसाई ?’

निकै गम्भीर प्रश्न थियो देउसराको। ५ वर्षे जागिर खुलेको छ यतिखेर पनि। विभिन्न पदका लागि कयौंले आ–आफ्नो बायोडाटा बुझाएर आ–आफ्ना पार्टीबाट कुपन लिएका छन्। जागिरमा नाम निकाल्न पैसाको खोलो बगाइरहेका छन्। जताततै सुन्नमा आउँछ वडा अध्यक्षको पदमा भिड्न समेत कम्तिमा पनि १५/२० लाख खर्च गर्नुपर्छ। पालिका प्रमुखका लागि त करोड नै खर्च हुन्छ। यसरी लाखौं करोडौं लगानी लगाएर पाएको पदमा बसेपछि पहिलो लक्ष्य लगानी असुल्ने नै हुने भयो। त्यसपछिको लक्ष्य होला कार्यकर्ता पाल्ने र आफ्नो पेट भर्ने। यसरी कमाउँदा कमाउँदै सिद्धिन्छ ५ वर्षे कार्यकाल। विकासका नाममा भएका केही कामहरू पनि कमिसनको चक्करमा गुणस्तरहीन भएपछि तिनको कार्यकालसँगै सती जान तयार भइरहेका देखिन्छन्, कैयौं योजनाहरू। अनि देउसराहरू भन्ने गर्छन्। यै देशमी त चुनाव मात्तर (मात्रै) आउन्या रैछ।

हो, अचेल भत्केको घरको पर्खाल टाल्न पोस्टर बनेर आउँछ चुनाव। साना–साना नानीबाबुहरूलाई नारा लगाउन सिकाउँदै आउँछ चुनाव। गाउँघरमा दुई हात जोडेर नमस्कार भन्दै आउँछ चुनाव। अनिश्चितताको घुम्टो आढेर खुलेआम भ्रष्टाचार गर्न आउँछ, चुनाव। आफ्नै आत्मा मारेका कतिपय पानीमरुवा नेता र स्वाभिमान गुमाई आँखामा कालो पट्टी बाँधी दुई ग्लास रक्सीमा बिकिरहेका कतिपय लम्पसारवादी कार्यकर्ताको भीड बनेर आइदिन्छ, चुनाव। देउसराहरूले खोजे जस्तो चुनाव, साच्चिकै चुनाव जस्तो भएर आउँदैन्। विकासको लहर ल्याउने बिहानी बनेर आउँदैन।

कसैका छोराछोरी श्रीमती दाइ–भाइ, भतिजा भतिजिलाई नेता बनाउन, तिनलाई पद बहाली गराउनलाई मात्र आइदिन्छ चुनाव। कमाउनिष्टहरूको गठबन्धन बनेर यहाँ फगत चुनाव आउँछ। उनै सम्राटहरूलाई पदबी भिराएर जान्छ। छोटे राजन जन्माएर जान्छ। वाल्यकालमा दौतरीहरूसँग ढुङ्गाका बेहुला बेहुली र जन्ती अनि छेस्का र पातको घर बनाई खेल खेलेझै मात्र प्रतिवद्धताको खेल खेलाएर जान्छ चुनाव। सर्वहाराको लागि आउँदैन चुनाव। चुनाव त कमर्सियल बनेर आइदिन्छ। सोझा, इमानदार समाजसेवीलाई सिन्डिकेड लगाएर आइदिन्छ। लोकतन्त्रको मुखुण्डो लगाएर उही पञ्चायती शैलीमा आइदिन्छ। हरेक पार्टीका घोषणपत्र केवल देखाउने र सुनाउने सामग्री शिवाय अरु के नै बन्न सकेका छन् र ?

हिजेका दिनमा सर्वहाराको नारा लगाउनेहरू प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता शब्द घोकाउन सिकाउनेहरूले बिर्सिसके होलान्, ती सबै शब्दको अर्थ पनि। मञ्जु मलासीहरूका फोहरका डोका न त हिजोका दिनमा शोभनीय र सिर्जनशील दवाबको अर्थ दिएर गए, नत आज कुनै सकारात्मक पाठ सिकाएर गए। ती सधैँजसो फोहरका डङ्गुर नै बने र सदाका लागि गन्हाइरहे। मात्र अराजक बनिरहे। त्यसैले त अचेल पिपल्ला बजारका व्यापारीले आफ्नो पसल अगाडि बिहान बिहानै फोहर जलाउँदा निस्केको धुवाँले हैकम जमाइरहेछ। जसरी हैकम जमाइन् ५ वर्षसम्म उनले र उनीझैं अरू कतिपयले।

बेपत्तासँग कुँदिरहेका मान्छेहरूलाई आफ्नै हिँडाइको पत्तो छैन्। पेट पाल्नकै लागि भनेर वर्षौ विदेशिएकाहरूलाई जीवनको पत्तो छैन्। निर्लज्ज बनेका सम्राटहरूलाई आफ्नै सुरुवालको इजार फुस्केको पत्तो छैन्। तैपनि ५ सय र हजारका नोटसँगै गाउँघरतिर आइरहेकै छ, निर्वाचन। जहाँ इमान, धर्म, दया, माया, करुणा सबै मरेर केवल बाँचेको छ, यस्तै खाले कतिपय चुनावहरूको साक्षी बनिरहेको समय।

प्रकाशित मिति: : 2022-05-04 19:00:00

प्रतिकृया दिनुहोस्