हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ।  पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो।

पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए।  

उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ।  भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन।  केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए।

तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यमा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए।

उखुबाट पीडित अधिकाशं किसानहरूले केरा लगाएको, तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए।  उनले केरा खेतमा ठुलो क्षति भएकोले राज्यले किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन्।  

प्रकाशित मिति: : 2022-05-04 14:35:00

प्रतिकृया दिनुहोस्