वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा १४ जना प्रमुख पदमा भिड्दैछन्। २ स्वतन्त्र र १२ राजनीतिक दलबाट प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।
गठबन्धनन दलबाट घोराहीमा नेकपा (माओवादी केन्द्र) का हेमराज शर्मा (डायमण्ड), नेकपा एमालेबाट नरुलाल चौधरी र एकीकृत समाजवादीबाट रामप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।
यस्तै विवेकशील साझा पार्टीबाट प्रमुखमा सूर्यप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, नेकपा मालेबाट नेत्रप्रसाद पाण्डेय, मंगोल नेश्नल अर्गनाइजेसन पार्टीबाट कल्पना चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ठाकुर रोका, लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्यम पुन, नेपाली कांग्रेस वीपीबाट गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरीले घोराहीको प्रमुखका लागि उम्मेदवारी दिएका छन्।
यस्तै घोराहीमा स्वतन्त्रबाट लिलाबहादुर पुन र चुरामनी सुवेदीले उम्मेदवारी दिएका छन्। प्रमुखका लागि १४ जनाले उम्मेदवारी दिएपनि विशेष गरेर सत्ता गठबन्धनन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
गठबन्धननबाट उम्मेदवारी दिएका माओवादी केन्द्र दाङका सह-इन्चार्जसमेत रहेका शर्मा र एमालेबाट उम्मेदवारी दिएका एमाले दाङका इन्चार्जसमेत रहेका चौधरीबीचको प्रतिस्पर्धा तीव्र हुने राजनीतिक नेताहरुको आँकलन छ।
०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीमा तेस्रो भएको माओवादीले दोस्रो भएको कांग्रेससँग गठबन्धनन गर्दै आफूले जित्नेमा ढुक्क जस्तै देखिन्छ। ‘हार्ने भन्ने त कुनै ठाउँ नै छैन। प्रमुखमा मात्र होइन, वडादेखि सदस्यसम्म हाम्रै गठबन्धनको जित निश्चित छ’, प्रमुख पदका उम्मेदवार शर्माले भने।
एमालेबाट उम्मेदवार भएका चौधरीले पनि आफ्नो जित निश्चित भइरहेको बताउँछन्। अघिल्लो कार्यकाल नगरको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेको भन्दै फेरि जनताले आफूलाई जिताउने उनको दाबी छ।
चौधरीले ०७४ को निर्वाचनमा २२ हजार ३० मत प्राप्त गरेका थिए भने कांग्रेसबाट मेयर भएका भूपबहादुर डाँगीले (गठबन्धनबाट हाल उपप्रमुखका उम्मेदवार) १७ हजार ४८४ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रबाट जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।
०७४ मा घोराहीमा जित निकालेको एमालेले ०५४ सालमा कांग्रेसलाई हराउँदै जितेको थियो। दुई पटक घोराहीको नेतृत्व गरेको एमालेले यस पटकको निर्वाचनमा पनि आफ्नो विरासतलाई जोगाउने कसतमा छ।
तर माओवादीले घोराहीको नेतृत्व गर्न पाएको छैन। ०७४ को निर्वाचनमा कमजोर देखिएको माओवादी यस पटक भने गठबन्धनसहित इतिहास रच्ने दाउमा छ। बहुदलपछि ०४८ सालको स्थानीय निकायको निर्वाचनमा एमालेलाई हराउँदै नेपाली कांग्रेसका यज्ञबहादुर बुढाथोकी घोराही (तत्कालीन त्रिभुवन नगर पञ्चायत) को पहिलो मेयर भएका थिए।
त्यसपछि २०५४ सालमा एमालेबाट निर्वाचित भएर अमरबहादुर डाँगी मेयर बने। उनले कांग्रेसका यज्ञबहादुर बुढाथोकीलाई हराएका थिए। त्यसको २० वर्षपछि ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले नै विजयी हुँदै आफ्नो विरासत जोगाएको थियो।
दाङको घोराही उपमहानगरपालिका भुगोलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो। साथै जिल्लाको केन्द्रविन्दु पनि हो, घोराही। जसले गर्दा घोराही उपमहानगरपालिकामा के भइरहेको छ भन्ने जिल्लामा मात्र होइन देशकै चासो र चर्चाको विषय बन्दै आइरहेको छ।
अहिले पनि शर्मा र चौधरीबीचको प्रतिस्पर्धालाई रोचकका साथ हेरिएको छ। दुबैले जित्ने दाबी गरिरहँदा कसले आफ्नो पक्षमा जित पार्न सक्छन्, त्यो भने त्यसै भन्न सक्ने अवस्था छैन।
के भन्छन् नेताहरु?
घोराहीमा शर्मा वा चौधरी कसले जित्ला भन्ने विषयमा नेताहरुको आ–आफ्नै आँकलन छ। ०७४ को निर्वाचनमा प्राप्त मत र थपिएका नयाँ मतदातालाई आधार मानेर नेताहरु आ–आफ्नै ढंगले शक्ति आँकलन गरेका छन्।
घोराहीमा पाँच दलीय गठबन्धनन नभएपनि तीन दलीय गठबन्धनन छ। गठबन्नसँग एमाले एक्लै प्रतिस्पर्धामा छ। माओवादी केन्द्र, कांग्रेस र जनमोर्चाको गबन्धन भएको घोराहीमा गठबन्धननकै जित हुने कांग्रेस दाङका सभापति शंकर डाँगी दाबी गर्छन। ‘विगतको मत हेर्दा पनि यो क्षेत्रमा कांग्रेस आफैंसँग ठूलो मत थियो, अहिले गठबन्धननका अरु दलका मत पनि थपिएका छन्,’ उनले भने, ‘हामी अत्यधिक मतले ल्याएर जित्छौं।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले घोराहीको नेतृत्व गर्न नयाँ अनुसार जनताले खोजेको भन्दै शर्मा नयाँ अनुहार भएको र उनैले जित्ने दाबी गर्छन्। आचार्यले भने, ‘अघिल्लो पटक मतदाताले नरुलाल जीलाई भोट दिएर उहाँको कार्य क्षमता हेरिसके। अब मतदाताले नयाँ मुहार खोजेका छन्। शर्माललाई जनताले जिताउँछन्।’
एमाले दाङका अध्यक्ष हुकुम बस्नेत घोराहीमा चौधरीको विकल्प नै नभएको बताउँछन्। पाँच वर्षमा चौधरीले गरेको कामको आधारमा पनि घोराहीको नेतृत्वमा चौधरीको विकल्प नरहेको बस्नेत दाबी गर्छन।
कति छन् घोराहीमा नयाँ मतदाता ?
घोराहीमा ३४ हजार ५०० नयाँ मतदाता छन्। ०७४ मा ७८ हजार ४२७ मतदाता थिए। अहिले बढेर १ लाख १२ हजार ९२७ पुगेको छ।
७८ हजार चार सय २७ मतदाता रहँदा एमाले उम्मेदवार चौधरी २२ हजार ३० मत ल्याएर मेयरमा विजयी भएका थिए। त्यसैगरी कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी १७ हजार ४८४ मत ल्याएर दोस्रो र माओवादी केन्द्रका उम्मेदवार जीवन गौतम १२ हजार ८२ मत ल्याएर तेस्रो भएका थिए।
यस्तो छ घोराहीको ऐतिहासिक पृष्ठभूमि
घोराही उपमहानगरपालिकामा साबिकका घोराही र त्रिपुर नगरपालिका गरी दुई नगरपालिका र रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार र सैघा गाविसलाई समेटिएको छ। जिल्ला सदरमुकाम केन्द्र रहेको यो उपमहानगरपालिका पञ्चयातकाल २०३५ साल माघ १५ गते त्रिभुवननगर नगरपञ्चायातका रुपमा घोषणा भएका हो।
दोस्रो जनआन्दोलनपछि २०६५ कात्तिक २० गते त्रिभुवन नगरपालिका नाम संशोधन गरी घोराही नगरपालिका भएको हो। त्यस समयमा घोराही नगरपालिकामा ११ वडा थिए।
त्रिपुर नगरपालिकासहित ५ वटा साबिकाका गाविस समेटिएको छ। साबिकको सैघा गाविस बाहेकका सबै स्थान समथर क्षेत्रमा पर्दछ भने सैघा गाविस अहिलेको १९ नम्बर वडा भने पहाडी दुर्गम क्षेत्रमा मानिन्छ।
यो उपमहानगरपालिकाले पञ्चायतकालमा संस्थापक प्रधानपञ्चका रुपमा गजराज शर्मालाई लामो समयसम्म प्रधानपञ्चका रुपमा पायो। त्यसपछि पञ्चयातकालमै यज्ञबहादुर बुढाथोकी प्रधानपञ्च बने।
२०५४ सालको स्थानीय चुनावमा नेकपा एमालेका अमरबहादुर डाँगी मेयर बने। त्यतिबेला एमालेकै दामोदर अधिकारी उपमेयरमा निर्वाचित भए। राजाले गराएको शाही चुनावमा बलिभन्द्र राना मेयर भए।
संस्थापक प्रधानपञ्च गजराज शर्मा र पूर्वप्रधानपञ्च यज्ञबहादुर बुढाथोकीको निधन भइसकेको छ भने पूर्व मेयर अमरबहाुदर डाँगी अहिले पनि छन्। उनी लुम्बिनी प्रदेश सदस्यबाट राजीनामा दिएर सक्रिय राजनीतिभन्दा बाहिर छन्।
घोराही उपमहानगरपालिका केन्द्रीय तहका नेताहरुको निर्वाचन क्षेत्र पनि हो। एमालेका महासचिव शंकर पोखरेल निर्वाचन क्षेत्र नं २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पनि हुन्।
यस्तै माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराको पनि घोराही निर्वाचन क्षेत्र पर्छ। उनी निर्वाचन क्षेत्र नं २ बाट संघीय सांसद पदमा निर्वाचित भएका थिए। पोखरेल र महराको निर्वाचन क्षेत्रमा पर्ने घोराहीमा कसले जित्छ ? यो चासोको विषय पनि बन्दै आइरहेको छ। जसलाई दुबैको प्रतिष्ठाको विषयका रुपमा पनि हेरिन्छ।