नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका बारेमा चर्चा भएको थियो।
निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो।
६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने करिब २२ लाखमात्र खर्च गरेको उल्लेख छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरालाले यसअघिको निर्वाचनमा पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगले जनाएको छ। तर उनले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिएको अभिव्यक्तिमा माथि आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो।
आयोगले भनेको छ, 'कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथिनै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानरकारी सम्बन्धित व्यक्तिलाई दिइ सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ।'
त्यस्तै आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको आयोगले जनाएको छ।