नवनियुक्त आईजीपी सिंहले भने- प्रहरीमा आपराधिक तत्वसँगको साँठगाँठ हटाउँछु, स्थानीय निर्वाचनलाई सुरक्षित गराउँछु

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन्।

आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको बताएका हुन्।

उनले आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धतासमेत जनाए।

महानिरीक्षक सिंहले आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताए।

‘सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्णरुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने, आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने गरी केन्द्रमा राखी आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धता जनाउँछु,’ उनले भने।

महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण स्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे।

प्रकाशित मिति: : 2022-05-02 13:34:00

प्रतिकृया दिनुहोस्