‘युवाहरु केही गर्न सक्दैनन्। उनीहरुमा राजनीतिक चेत भएको हुँदैन। भर्खरै राजनीतिमा होमिएका युवायुवतीहरु अवसरको लागि आत्तिनु हुँदैन। पालो आउँछ। अवसर पाइन्छ। राजनीतिमा धैर्य हुनुपर्छ रे?’ कति पुस्ता धैर्यतामा नै विलय भएर गए, कहिले एकीन गरेका छौँ? नयाँ पुस्ता आलोकाचो हुन सक्छ। तर केही न केही कुरामा अपडेटेड नभएका हुँदैनन्। कम्तिमा उनीहरुको त्यो क्षमतालाई अगाडि बढ्न दिने सामर्थ्य पनि त राख्न सक्नुपर्यो नि!
जानेर हो या नजानेर अथवा हाल्काफुल्का तरिकाले, पार्टीको अधिवेशन र महाधिवेशमा मात्र होइन, असामान्य अभिव्यक्ति युवाहरुको नेतृत्व क्षमतामा तगारो बन्दै आएको छ। त्यसैगरी यसपालिको स्थानीय चुनाव नजिकिँदै गर्दा युवाहरुमाथि मनगणन्त्य विचार पोखिन रोकिएन, युवाप्रति सकारात्मक धारणा भएर हो या नभएर। आसन्न वैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि युवालाई टिकट दिने विषयमा कुनै पार्टीले निर्णय गरेको पत्तो पाइएन। बरु युवाहरु चुनावमा होमिने डर र शंका भने सबै पार्टीमा पैदा भएको देखिन्छ।
चुनावमा भिड्ने आकांक्षा राख्ने युवालाई कुनै पार्टीले प्राथमिकताका साथ स्विकारेको देखिएन। जसले गर्दा युवाहरुमा नैराश्यता उत्पन्न गराएको अट्कल गर्न सकिन्छ। हुन सक्छ त्यसैको उपजमा विभिन्न पार्टीमा आबद्द युवाहरुले पार्टी त्यागेर स्थानीय चुनावको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरे। जहाँ युवाहरुमा समाज र जनताको निम्ति सक्षम नेतृत्वको रुपमा स्थापित गर्न खोजिरहेको संकेत देखा परेको छ।
विगतदेखि आजसम्मको राजनीतिक अभ्यासलाई केलाउँदा समाज र देश कसरी बनाउने? विज्ञान र प्रविधिलाई कसरी प्रयोगमा ल्याउने? भन्ने भन्दा पनि सत्ता कसरी टिकाउने? जनतालाई जालझेल गरी कसरी झुक्याउने? युवालाई कसरी आफ्नो अन्डरमा हिँडाउने? भन्ने कथित पार्टीका नेताको चतुर्याइँले एकछत्र छलाङ मारेको देखिन्छ।
तर, त्यो चतुर्याइँ अबका पुस्ताले सहजै स्वीकार्न सक्ने अवस्था छैन। भलै नयाँ पुस्ताले राजनीतिक इतिहास नपढेका, नजानेका, नबुझेका हुन सक्छन्। तर उनीहरु इतिहासको अनविज्ञतामा चुप लागेर बस्न भने मानेका छैनन्। बस उनीहरुले यतिमात्र जान्न र बुझ्न चाहेका छन्, ताकि आजका दिनसम्म नेपाली समाज कसरी पछि परिरहेको छ।
देशमा बेरोजगार, गरिबी, विकृति र विसंगतीको खाडल किन पुरिएन? नेपाली समाज विश्व ग्लोबलाइजेशनको चमत्कारमा किन दाैडिन सकेन? नेपाली समाज र जनताको अवस्था, युवाहरुले खाडी मुलुकमा सस्तो मूल्यमा पसिना बगाउनु परेको विवशता, मुक्त कमैया र सुकुम्बासीको दयनीय अवस्था किन फेरिएन? भन्ने विषयतर्फ युवाहरुको चासो र चिन्ता बढेको पाइन्छ।
विश्वमा युवाहरुले राष्ट्रको नेतृत्व अंगालेर उदाहरणीय काम गरेर परिचित छन् भने नेपालमा युवाहरुले एउटा वडा, नगरपालिका र गाउँपालिका समाल्नै नसक्ने हुन्छ र? उता विश्वका ठूला देशहरुमा युवा प्रधानमन्त्रीले प्रशंसनीय काम गरेका धेरै उदाहरण छन्। जस मध्ये ३७ वर्षको उमेरमा न्यूजल्याण्डकी प्रधानमन्त्री बनेकी जसिन्डा आर्डनले आफू प्रधानमन्त्री बनिसकेपछि ‘हामी एक हौं, उनीहरु हामी मध्येकै हुन्।’ भन्ने छोटो भनाईमार्फत सिङ्गो न्यूजल्याण्डलाई एकजुट पारिन् र विश्वलाई एउटा स्पष्ट सन्देश दिन सफल भइन्।
एक स्वघोषित श्वेत सर्वोच्चतावादीले क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा ५० जनाको ज्यान जाने गरी गरेको आक्रमणपछि उत्पन्न राष्ट्रिय संकट खेप्दा उनले देखाएको सुझबुझलाई लिएर विश्वभर जसिन्डाको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भयो। उनले राष्ट्रको आवश्यकता बुझिन् र साँच्चिकै उदाहरणीय रूपमा कदम चालिन्।
यसरी विश्वका विकसित राष्ट्रहरूमा सत्ता सम्हाल्ने र चलाउने कुरामा धेरै वर्ष पहिले युवालाई स्थान दिइएका उदाहरण छन्। बिडम्बना नेपालमा भने सत्ता चलाउने कुरा परको हो। राजनीतिक नेतृत्व सम्हाल्न सक्ने सक्षम युवाहलाई उमेरको ट्याग लगाएर पाखा लगाउने प्रचलन एकाधिकार रुपले अघि बढेको छ।
युवाहरुको क्षमता र योग्यताभन्दा पनि उनीहरुको उमेर, जात र लिङ्गलाई औँल्यार बोलिने परिपाटी छ। यस्तो राजनीतिक प्रवृतिले युवाको क्षमतालाई आगामी दिनहरुमा प्रयोगमा ल्याउन सक्छ कि सक्दैन ? यो अन्यौलको विषय बनेको छ। यद्यपि नेपालमा कुनै युवा नेतृत्व तहमा नपुगेको पनि होइन। तर पनि पछिल्लो समयमा युवा जमात नेतृत्व तहमा किन पुग्न सकेन भन्ने विषय नै चासोको विषय हो।
समाजवादको लक्ष्य लिएर हिँडेका २२औं प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ४४ वर्षको उमेरमा जनमतसंग्रहबाट निर्वाचित पहिलो प्रधानमन्त्रीको रुपमा स्थापित भए। उनलाई नेपाली राजनीतिका शिखर पुरुषको रुपमा चिनिन्छ। उनले प्रधानमन्त्रीकालमा बिर्ता उन्मुलन गरी जग्गा जोत्नेको हुनुपर्छु भन्ने भूमिसुधार लागु गराएका थिए। पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे। जहाँ भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बीपीको प्राथमिक आर्थिक एजेण्डा थियो।
उनले गरेका थुप्रै उदाहरणीय काममध्ये यो एउटा जनताको हितमा गरेको कामको उदाहरण मात्र हो। त्यति मात्र होइन, नेपालको राणा विरोधी आन्दोलनमा उनको अग्रणी भूमिका सर्ववितितै छ। आज उनले देखेको समाजवादको सपना अझै पुरा हुन सकिरहेको छैन। यति मात्र होइन, जनतालाई निरंकुश शासनबाट उन्मुक्ती गर्न नेपाली युवाहरुको ऐतिहासिक योग्दान छ। नेपालका प्रत्येक राजनीतिक आन्दोलनमा युवाहरुको बलिदानीपूर्ण संघर्ष छ।
लामो समयदेखि जरा गाडेर रहेको राणा शासनको अन्त्य गर्न युवाहरको गर्विलो इतिहास छ। जसलाई कसैले नकार्न मिल्दैन। जसमा वि.सं १९९६ सालमा गंगालाल श्रेष्ठले राणा शासनविरुद्धमा गरेको संघर्षले जनताको आधिकारलाई निरंकुश शासनले पर्दा बाहिर निकाल्ने जमर्को गर्यो। त्यतिखेर उनी वर्षले २० को सेरोफेरोमा थिए। उनले गरेको काम आज पनि रापिलो छ। जसको बाटो पछ्याउँदै क्रमश आन्दोलन हुँदै गए।
प्रजातन्त्र प्राप्तिको निम्ति विसं २००६ मा भएको क्रान्ति, वि स २०३६, सालमा नेपालमा बहुदल वा पञ्चायती व्यवस्था मान्ने कि नमान्ने भन्ने विषयमा भएको जनमत संग्रह, २०४६ मा भएको पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन, विसं. २०५२ को सशस्त्र जनयुद्धलगायत यी सबै आन्दोलनहरुमा हजारौं युवाहरुले उत्पीडित समुदाय र उत्पीडित वर्गको निम्ति गरेको संघर्ष र बलिदान ताजै छ।
जहाँ बन्दुक उठाएर जहानियाँ शासनको अन्त्य गर्न अग्रपंत्तिमा लड्ने आँट गर्ने तिनै युवाहरु थिए। जसले राणा र तानसाही शासनलाई एक किनारा लगाएर छोडे। जनता र देशको निम्ति बिनास्वार्थ रगत बगाए। देशको व्यवस्था फेर्न ज्यानको आहुती दिए।
त्यसैगरी २०६२/०६३ मा उठेको जनआन्दोलनको पनि युवाहरुको अग्रसरतामा सफल भएको थियो। जुन आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाउनु पर्यो। यसरी विभिन्न कालखण्डलाई पार गर्दै देशलाई यो अवस्थासम्म ल्याई पुर्याउने युवा आज आएर समाजको बिकराल अवस्थालाई टुलुटुलु हेरेर बस्नुपर्छ भन्ने अभिव्यक्ति नै सरासर गलत हो भन्न सकिन्छ।
लामो समयको संघर्षपछि आएको गणतन्त्रमा एकात्मक जातिवादले रजाईं गरिरहेको बेला युवाहरु अन्यायमा परेका छन्। अझै भन्ने हो भने रगत बगाएर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र र संविधानमाथि अवसरवादी र पुँजीवादीहरुको वर्चश्व बढिरहेको छ। संविधानले दिएको अधिकारलाई बर्जित गर्ने ठुलो षड्यन्त्र हुँदैछ भन्नलाई सकस छैन।
जब अवसरको कुरा हुन्छ, तब युवाहरुको योगदानलाई कदर गर्ने संस्कार नेपाली राजनीतिमा पाइँदैन। नेतृत्व तहमा परिवारवाद, जातवाद र आफन्तवादबाहेक अरु देखिँदैन। अवसर दिने कुरामा आफ्ना, आफन्त नातेदार र घर पररिवारलाई नेतृत्व दिने प्रवृतिको विकास हुँदै आएको पाइन्छ, नेतृत्व दिने कुरामा युवाहरुलाई पत्याइँदैन। बरु पिठ्युँमा धाप हानेर थमथमाउन बानी परिसकेका छन्।
नेपाली राजनीतिमा पुस्तान्तरणलाई अस्वीकार गरिन्छ। जहाँ लामो समयदेखि राजनीतिको बागडोर समाल्दै आएका अग्रज नेताहरुमा निकै अटेरीपन देखिन्छ। जसले युवाप्रति फराकिलो धारणा विकास गर्न सकस मान्छन्। युवाको हातमा नेतृत्व गएपछि के पो हुन्छ भन्ने मनस्थितिबाट आँकलन गर्ने गरेको पाइन्छ।
नेपाली राजनीतिमा नेतृत्व गर्न अलि उमेर कटेकै हुनुपर्छ भन्ने मान्यता र प्रचलनले स्थान पाउँदै आएको छ। नेपाली राजनीतिकाे अवस्थालाई हेर्दा नेपाली समाज बनाउन, राष्ट्रलाई विज्ञान र प्रविधिसँग जोड्न, युवाले समाजलाई निकास दिन आफूलाई नेतृत्व तहमा उभ्याउन खोज्नु न्यायोचित नै ठान्नुपर्छ।
यो समयमा समाज र राष्टलाई विश्व परिवेशमा दौडाउन युवा तात्तिनुपर्छ। नेतृत्व सम्हाल्न सक्ने युवाहरु अब पर्खिनु हुँदैन। शिक्षामा, स्वास्थ्य, रोजगार र विकासमा अत्याधुनिकरणको प्रयोगमा समाजलाई उभ्याउन र पुँजीवाद, दलाल र घुसखोरीहरुकाे दबदबा अन्त्य गर्न आजका युवाहरुले सोच्नु पर्ने अवस्था आइलागेको छ।
समाजमा एउटै समस्या मात्र छैन। पछिल्लो राजनीतिक संस्कार पूर्णरुपले पुँजीवादको अभ्यासमा छ। त्यसले जनताको कल्याण गर्नको साटो उत्पीडनमा पार्ने अवस्था सिर्जना गरिरहेको अनुमान गर्न सकिन्छ। न जनताको अवस्था परिवर्तको संघारमा छ, न राजनीतिक प्रवृति प्रगतिशिल हुन सकिरहेको छ।
हुन पनि हो, समाजमा जताततै व्याप्त समस्याका खाडल छन्। दैनिक चर्को आर्थिक अभाव छ। उसो त यस्ता समाजको समस्या देखेर अहिलेका पुस्ता हडबडाएर किन नआत्तिनु? युवाहरुसँग धेरै राजनीतिक ज्ञान नभए पनि आफू बसेको समाज र विश्व परिवेशलाई राम्ररी बुझ्ने क्षमता छ। जसले गर्दा विश्वमा आफूलाई पछि परेको महसुस गरेका छन्। त्यसैले देशलाई निकास दिन र समाजलाई विकास गर्न समाजको नेतृत्वदायी भूमिकामा आउने आँट गरेका छन्।
फलस्वरुप पछिल्लो पुस्ता नेतृत्वमा आउन आत्तिएका मात्र छैनन्। समाजलाई निकास दिने विचारले स्वतन्त्र उम्मेदारी दिएका छन्। अब कसरी भन्न सकिन्छ जायज होइन भनेर? युवाहरु आत्तिनु हुँदैन भनेर। जब कि समाजको बेथिति, राजनीतिक अन्यौलता, जनताको अवस्था र युवाहरुको व्याथा राम्ररी बुझेका युवा आज नेतृत्व सम्हालेर समाधानको उपाए खोज्न आतुर छन्।
यसरी नेपालको राजनीतिक परिवेशले जनता र युवाको अवस्थामाथि चिरहरण गरिसकेका छन्। त्यसैको विकल्पमा युवाहरु जाग्न बाध्य छन्। नेपाली समाजलाई डाइनामिक नेतृत्वको खाँचो नभएको को पनि होइन। युवा नेतृत्व समाजले पाउनु समयको माग पनि हो।