आचारसंहिताको धज्जी उडाउँदै फागो, राजीनामापछि पनि रवाफ उस्तै

मिलन के राउत

उर्लाबारी

भदौमा आँखा फुटेको गोरुले जताततै हरियाली देख्छ भनेझैं यहाँका एक जना जनप्रतिनिधिले राजिनामा दिएपछि पनि आफूलाई सोही हैसियतमा राखेको पाइएको छ।

उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागाेले नगरपालिकाकै एउटा कार्यक्रममा जबर्जस्त सहभागी भई आफूलाई भोट मागेका छन्। नेपाली कांग्रेसको तर्फबाट उनी आसन्न स्थानीय चुनावमा मेयर पदका उम्मेदवार हुन्।

पुनः उम्मेदवार हुनका लागि उनले गत आइतबार मेयर पदबाट राजीनामा दिएका थिए। यद्यपि, निर्वाचन आचारसंहिताविपरीत उनी नगरपालिकाको कार्यक्रममा सहभागी भएको पाइएको हो।

फागुले उर्लाबारी– १ सीमाना बस्तीमा नगरपालिकाद्वारा संचालित तालिममा आतिथ्यता गर्नुका साथै राजनीतिक विषयमा मन्तव्य राखेको बताइएको छ। नगरपालिकाद्वारा तीन दिने महिला अनुशिक्षण तालिम टेवा पुँजी संहिता कार्यक्रम आयोजना गरिएको थियो।

बुधबार समापन कार्यक्रममा दलबलसहित पुगेका फागाेले मेयरकै हैसियतमा आतिथ्यता ग्रहण गरेको तालिममा सहभागी एक महिलाले जानकारी दिइन्। विपन्न महिलालाई लक्षित गरेर नगरपालिकाको आयोजनामा तालिम दिइएको हो। तालिममा ३० जना स्थानीय महिला सहभागी थिए।

‘उहाँ आउनुभयो, बोल्नुभयो, जानुभयो’ महिला बालबालिका तथा सामाजिक शाखाकी प्रमुख चन्द्रकला सुब्बाले भनिन्,‘हामीले बोलाएका थिएनौँ, मन्तव्य राख्ने कार्यक्रम पनि थिएन उहाँले आफ्ना कुरा राख्नुभयो।’

फागाेले सहभागीहरुसँग भोट मागेको विषयमा उनले अनभिज्ञता प्रकट गरिन्। फागाे कांग्रेसको झण्डा गाडीमा फहराउँदै कार्यक्रमस्थलमा पुगेका थिए।

प्रकाशित मिति: : 2022-04-28 17:13:00

प्रतिकृया दिनुहोस्