लम्कीचुहाकाे मेयरका उम्मेदवार उपाध्यायकाे याेजना : बाँसबाट मात्रै वार्षिक ३ कराेड बढी आम्दानी

Breaknlinks
Breaknlinks

लम्कीचुहा नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीबाट मेयरको उम्मेदवार बनेका लेखक महेन्द्र उपाध्यायले जनतासँग पेश गरेको एउटा योजनाले मात्रै वार्षिक ३ करोड ६० लाख नगरको कमाइ हुन सक्छ। उनले नगरमा सजिलै पाइने, उत्पादनको सहजै विकास र विस्तार गर्न सकिने बाँसबाट त्यति धेरै आम्दानी लिने सकिने भन्दै जनतामाझ महत्वाकांक्षी योजना प्रस्तुत गरेका छन्।

पेशाले इन्जिनियर उपाध्याय पेशागत जागिर छोडेर लेखन क्षेत्रमा सक्रिय छन्। सँधै राजनीतिमा लागेकाहरुले परिवर्तन गरिदेलान सोच्दा–सोच्दा परिवर्तन नदेखेपछि राजनीतिको लामो म्याराथनमा उनी आफै सामेल हुन पुगेका छन्।

स्थानीय तह निर्वाचन पछिको पछिल्लो पाँच वर्षमा पालिकाहरुमा देखिएका अधिकांश जनप्रतिनिधि जनताप्रति उत्तरदायी नहुँदा विकास निर्माणले गति लिएन। डोजरे विकासले केही सिमित मुठ्ठीभर आसेपासेको मात्रै भकारी भरिन थालेपछि वैकल्पिक योजनामार्फत् विकासप्रति जनताको भोग मेटाउने योजनासहित उनी चुनावी मैदानमा होमिएका छन्।

उनले जनतालाई साफसँग सम्झाउने प्रयत्न गरिरहेका छन्। ‘नेताहरुका बृहत योजना, ती योजनाभित्र पानी जहाज र केवारका अथवा पाइपालाईनबाट ग्याँस वा अरु केही, तमाम रोजगारीका अवसर, त्यसले फेरिने जनताको मुहारको विषयमा कोही मीठो भाषण गर्छ भने केही नभन्नुहोला,’ उनले जनतालाई आग्रह गर्दै भने, ‘यी सबै कसरी सम्भव छन् ? भनेर उत्तर खोजिदिए मात्रै पुग्छ।’

तर, उनी आफू भने जनातामाझ कसरी प्रश्नको उत्तर लिएर पुगिरहेका छन्। उनका अरु पनि योजना छन्। जसको विषयमा पछि छलफल गर्दै गरौंला। हाललाई कसरी प्रश्नको उत्तर सहितको पहिलो योजना बाँसबारे छलफल गरौं।

उनकाअनुसार बाँसलाई हरियो सुन भनिन्छ। कैलालीको ‘रानी जमरा सिचाई आयोजना’ले निर्माण गरेको नहर जम्मा (२३ किलोमिटर, कतै हाइ–टेन्सन र विद्युत्को तार पर्ने स्थान बाहेक) दायाँ–बायाँ बाँस लगाउन सकिनेछ। सँगै रोरा नदी, स्याउले खोला चुहा खोलाको छेउछेउमा, बलचौर जङ्गलको खाली भू–भाग, अन्य सामुदायिक वनका खाली जग्गामा र कृषि रोडको छेउ, जहाँ विद्युत्को तार छैन त्यहाँ पुरै बाँस खेती गर्न सकिन्छ।

उनले यी सबै क्षेत्रमा बाँस लगाउनका लागि करिब ३ लाख बाँसका बेर्ना आवश्यक पर्ने बताए। ‘आज रोपेको एक बेर्ना बाँसले आगामी पाँच वर्षमा कम्तीमा पाँच वटा बाँस दिनेछ। तीन लाख बेर्ना बाँस रोपेको खण्डमा आउँदो पाँच वर्षमा १५ लाख बेर्ना पुग्नेछ,’ उनले भने,‘यदि हामीले दिनको पाँच हजारका दरले बाँस काट्यौं भने पनि उत्पादनमा कुनै असर पर्ने छैन।’

बाँसका एकमात्रै हाेइन अनेक उपयोगिता छन्। बाँस खान मिल्छ, खेलाउन मिल्छ, पूजामा प्रयोग गर्न मिल्छ र मान्छे मर्दा पर्दा चाहिन्छ। यसलाई जति फैलाउन सकियो, उति धेरै प्रकारका लाभ लिन सकिन्छ। सँगै वन–जङ्गलप्रतिको निर्भरता पनि कम गर्न सकिन्छ। जसले तराईको वन जोगाउन सहज हुनेछ भने यसै कारण वातावरण, पर्यावरण दुबैप्रतिको मानवीय दायित्वमा योगदान गर्न सकिने उपाध्यायको तर्क छ।

उनले गरेको अध्ययनअनुसार बाँस जस्तोसुकै जमिनमा पनि हुर्किन सक्छ। सिचाइँ नहुने र बाँदर लाग्ने ठाउँहरुमा पनि खेती गर्न सकिन्छ। महत्त्वपूर्ण कुरा त यो छ कि सय ग्राम बाँसको तामाबाट ६०.३६ ग्राम कार्बोहाइड्रेट पाइन्छ भने २६५.६ क्यालोरी प्राप्त हुन्छ। तामाको व्यापार पनि गर्न सकिन्छ भने लम्कीचुहालाई ‘तामाको हब’ बनाउन सकिन्छ।

चिनियाँ उखान जसरी सय वर्षको योजना बनाएर रुख रोपेजस्तो होइन, बाँस। यो सबैभन्दा चाँडो हुर्किने बिरुवा हो। त्यसैले लम्कीचुहा जस्तो ठाउँको लागि यो उपयुक्त योजना सावित हुनेछ। पूर्वीय दर्शनमा समेत उल्लेख गरिएको आयुर्वेद उपचार पद्धतिमा समेत बाँस विभिन्न रोगको उपचारका लागि प्रयोग भएको पाइन्छ। बाँसको मुनाबाट जुस निकाली औषधि बनाउन प्रयोग गरिन्छ भने दम, खोकी र पित्तथैली सम्बन्धी विकारहरुका लागि बाँस अत्यन्तै लाभदायक मानिन्छ।

‘बाँसले अन्य बोटबिरुवाहरुको तुलनामा वायुमण्डलमा ३० प्रतिशत बढी अक्सिजन  छोड्छ। जुन बढ्दो वायु प्रदूषण र ओजन तह समेत पातलिदै गइरहेको अवस्थामा हाम्रा लागि मितव्ययी साबित हुनसक्छ,’ मेयर पदका उम्मेदवार उपाध्यायले भने।

उनले विकासको महत्त्वपूर्ण कडीको रुपमा लिएको बाँसबाट के कस्ता सामग्री बनाउन सकिन्छ ? त्यो छलफलको रोचक विषय हो। अब त्यही छलफलमा लागौं।

रोजगारी सिर्जना

मान्छेले दैनिक उपयोग गर्ने धेरैजसो सर सामान बाँसबाट नै बनेका हुन्छन्। नाङ्लो, डालो, थुन्से, चाल्नो, मान्द्रो, चित्रा, भकारी, पहाड चढ्दा प्रयोग हुने लट्ठी, ढडिया, दुवाली, जाल, कागज, ईथानल, मान्द्रो, खेलौना, आलमारी, ह्याङ्गर, टेबुल–कुर्सी, सोफालगायतका फर्निचर र घर खेतबारीका लागि बनाउन सकिने बार सबै बाँसकै हुन्छन्।

यसका अलवा बाँसको उत्पादन अत्यधिक भएपछि  गुणस्तरीय कागज उत्पादनमा गर्न सकिने उपाध्यायको राय छ। ‘नेपालमा बर्सेनि रु.५० अर्बभन्दा बढीको कागज आयात भइरहेको तथ्यांक छ। यदि हामीले बाँसबाट कागज उत्पादन गर्न सक्यौं  भने आयत घटाउन सक्छौं,’ उनले भने, ‘यसबाट कम्तिमा सुदूर पश्चिम प्रदेश कागजमा आत्मनिर्भर हुनेछ। यसैबाट नै धेरैभन्दा धेरै रोजगारीको सृजना यहीँ हुनेछ।’

उनकाअनुसार बाँसबाट ईथानल बनाउन सकिन्छ। जसको माग घट्ने कुनै सम्भावना हुँदैन। यसबाट पनि ठूलो मात्रामा रोजगारी सृजना गर्न सकिन्छ। यो अन्य राजनीतिक पार्टीका नेताले गरेझै केवल भाषण मात्रै नभई हकिकत समेत हो।

‘बाँसको प्रयोग गरी चम्चा, प्लेट, कप, थर्मस, बोतल बनाउने लगायत कुटीर उद्योग स्थापना गरी उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘हिमाल चढ्ने, पहाड चढ्ने र विभिन्न काममा प्रयोग आउने लौरोका लागि हामी ‘कटबाँस’ जातको बाँसको खेती गर्न सकिन्छ। र, आकर्षक बुट्टेदार लट्ठी बनाई त्यसको पनि निर्यात गर्न सकिन्छ। रोजगार सृजना यसरी नै हुने हो।’

सिमेन्ट र रटको आयात घटाउने बाँस

उनले आफू लम्कीचुहा नगरपालिकामा आए बाँससँगै माल बाँसको पनि खेती गरिने बताए। उनले भने,‘यो बाँसको प्रयोग गरी मलभान्सा (मिटिङ हल), पुस्तकालय, प्रतीक्षालय जस्ता एक तले घर बनाएर सिमेन्ट प्लास्टर र रङरोगन गरी हलुवा प्रकारका घरहरूको निर्माण गर्न सकिन्छ। यसरी हामी सिमेन्ट र छडको आयत कम गर्न सक्छौं।’

कतिले बाँसबाट बनेको घर टिकाउ र भरपर्दो होला भन्ने खालको प्रश्न समेत गर्ने हुनाले उनले उत्तर पनि तयार गरी राखेका छन्।

‘यदि हामीले फलामको छडलाई बाँसले प्रतिस्थापन गर्ने हो भने छडले बनेको घर जत्तिकै बाँसले बनेको घर पनि बलियो हुन्छ,’ उनले भने, ‘यति मात्रै होइन बाँस स्टिलभन्दा पनि बलियो हुन। तन्य (tenslie force) शक्तिको सन्दर्भमा। स्टिलमा २३ हजार पाउन्ड प्रतिवर्ग इन्चको तन्य शक्ति हुन्छ। तर, बाँसमा २८ हजार तन्य शक्ति हुन्छ। तन्य शक्तिले कङ्क्रिटलाई टुक्रिनबाट जोगाउँछ।’

उनले बजार क्षेत्र बाहेक अन्य ठाउँमा(गाउँ तिर) घर, करेसा र कोठे बारीको घेराबार गर्न र घर कम्पाउन्ड सुरक्षा गर्न बाँसको प्रयोग गर्नेलाई ५० प्रतिशत अनुदान दिइने बताए। यसले निर्माण सस्तो पार्नुका साथै सिमेन्टको खपत पनि कम गर्ने उनको तर्क छ। उनले थपे,‘यसरी गाउँघर सुन्दर र आकर्षक पनि देखिनेछन् भने यसैले नै हरेक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउेछ।’

फर्निचरमा बाँसको किला प्रयोग गर्दा बलियो र लामो समय टिक्ने हुन्छ। आज पनि  धेरै घरका फर्निचरमा यस्तो देख्न पाइन्छ। ‘हामी बाँसको काँटी प्रयोग गर्ने फर्निचर उद्योगलाई आधा अनुदानमा बाँस उपलब्ध गराउनेछौं,’ उनले भने, ‘यसरी फलाम आयत कम गर्न सकिनेछ।’

बहुउपयोगी बाँस

यी बाहेक बाँसलाई अन्य ससाना काममा पनि प्रयोग गर्न सकिन्छ। यसका हरिया पातलाई गाईभैँसी र बाख्राका लागि घाँसका रुपमा प्रयोग गर्ने गरिन्छ। यसको घाँस लैना बस्तुभाउलाई पेटभरि खुवाउँदा प्राकृतिक रुपले नै अम्रो झर्ने गर्छ भनेर  बुढापाकाहरु भन्ने गरेको उनको अनुभव छ।

‘खोला किनारमा लगाइएको बाँसले माटो कटान रोक्छ। सुकेका बाँसका पातहरुबाट माटाका भाँडा निर्माण गर्ने कुमालेहरुले ससाना कुटीर उद्योगमा भाँडालाई पोल्ने इन्धनका रुपमा प्रयोग गर्छन्,’ उनले भने, ‘यसरी हामी माटाका भाँडा अत्यधिक रुपमा निर्माण गर्नेछौं र माटाको भाडाको माग बजारमा अत्यधिक भएकाले यसको निर्यातमा कुनै समस्या पर्नेछैन।’

उद्योगमा लगानी कसरी जुट्छ ?

नेपालमा बाँस सम्बन्धी कम्तीमा एउटा राम्रो क्याम्पस अत्यावश्यक छ। हाम्रा विश्वविद्यालयले बाँस सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने गरी जनशक्ति तयार गर्दा अनेक सृजनशील पक्षहरुलाई सैद्धान्तिक र व्यावहारिक दुवै रुपले अगाडि बढाउन मद्दत गर्नेछ भने देशलाई उद्योगीकरणतर्फ लैजानका लागि बाँस पहिलो प्राथमिकतामा पर्ने उनले बताए।

‘बाँसका विभिन्न सामाग्री धेरै मात्रामा उत्पादन गर्दा केही वर्षमा ठूलै उद्योग आवश्यक पर्नेछ। उद्योगमा  संसारभर छरिएका नेपालीले लगानी गर्ने पाउने छन्। पछिल्लो समय पब्लिक कम्पनीमा शेयर लगानी गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गरेको देखिन्छ,’ उनले उत्साहित हुँदै भने, ‘त्यसैले कच्चा पदार्थ लगातार उत्पादन भइरहने र कच्चापदार्थको अभाव नहुने कम्पनी निर्माण गर्नमा कुनै गाह्रो हुँदैन। यदि इच्छा शक्ति छ भने।’

उनले लम्कीचुहामा खुल्ने पब्लिक कम्पनीलाई कुनै खालको बाधा अड्चन नआउने बताए। ‘करारमा बाँस खेती गर्न र कारखाना स्थापना गराउन नगरपालिकाले लिजमा जमिन उपलब्ध गराउनेछ,’ उनले भने।

लम्कीचुहा नगरपालिकामा मेयरका लागि उम्मेदवार बनेका उपाध्यायले बाँसबाट लिन सकिने आम्दानीको हरहिसाब यसरी गरेका छन्।

एक बाँसको मूल्य कम्तीमा एक सय हुन्छ। दिनमा एक हजार पिस मात्रै बाँस बेच्न सकेको खण्डमा दैनिक १ लाख आम्दानी लिन सकिन्छ। यस हिसाबले महिनामा ३० लाख आम्दानी हुन्छ भने वर्षमा ३ करोड ६० लाख नगरपालिकाको आफ्नै आम्दानी हुन्छ। अनि भएन त नगरको विकास ? कसरी प्रश्नको उत्तर ठिक छ नी।

प्रकाशित मिति: : 2022-04-25 07:00:00

प्रतिकृया दिनुहोस्