'पार्टीले टिकट दिए पहिलेको भन्दा दोब्बर मत ल्याएर विजयी हुन्छु'– उपमेयर कार्की

नेपालकै सबैभन्दा जेष्ठ उपमेयर हुन्, वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की। वि.सं. २०७४ काे स्थानीय तह निर्वाचनमा विजय हुँदा उनी ८८ वर्षकी थिईन्, हाल उनकाे उमेर ९३ वर्ष पुगेकाे छ। १५ वर्षकाे उमेरमा नेपाली काँग्रेसबाट राजनीतिक यात्रा सुरू गरेकी उनकाे राजनीतिक सक्रियता अहिले पनि उस्तै छ। उमेर सँग–सँगै उनी भित्रको राजनितिक जाेश, जागर र चाहना पनि बढ्दाे छ।

लामो समय राजनीतिमा सक्रिय कार्की जीवनको अन्त्यसम्म यसलाई निरन्तरता दिने र पार्टीेले टिकट दिए फेरि पनि उपमेयरमा चुनाव लड्ने उनी बताउँछिन्।

नेपाली कांग्रेसको सक्रिय र क्रियाशील नेत्रीको रुपमा परिचित कार्की राजनितिक मोहका कारण आजीवन अविवाहित रहिन्। तर, पार्टीले भने वृद्ध अवस्थामा उनको कामको मुल्याङ्कन गर्दै ०७४ मा भएको स्थानीय तह चुनावमा उपमेयरका लागि टिकट दिएकाे थियाे। उक्त निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्। कार्कीलाई चिन्ने सबैले दिदी भनेर सम्वाेधन गर्छन। महानगरमा उपमेयर भएर आएपछि आफ्नो कामबाट नगरबासी अत्यन्त खुसी भएकाे उनकाे भनाइ छ। यदि पार्टीले पुःन उपमेयरका लागि टिकट दिए पहिलेको भन्दा दोब्बर मत ल्याएर बिजयी हुने उनी दाबी गर्छिन्।

‘म दावाको साथ भन्न सक्छु पहिलेको भन्दा बढी भोट ल्याउन सकिनँ भने म राजनीति छोड्दिन्छु। उपमेयर हुनुअघिबाट अहिलेसम्म म जनताको घर दैलोमा घुम्ने गर्छु। जनतालाई मैले के गर्न सक्छु थाहा छ, अब फेरि पनि चुनाव लड्नका लागि मलाई पार्टीेले टिकट दिनुपर्छ,’ उपमेयर कार्कीले भनिन्,‘म ९० वर्ष पार गरे पनि अहिलेसम्म मलाई कुनै रोगले छुन सकेको छैन। अझै गाडीभन्दा धेरै पैदल नै हिँड्ने गर्छु। मेरो कार्यको अहिलेसम्म कसैले विरोध गरेको छैन।’

उपमेयर कार्की आउँदो निर्वाचनमा आफ्नो जित हुनेमा निश्चित छिन्। पार्टीले अब उनको कार्यकालको मुल्याकङ्कन गर्दै टिकट दिनुपर्छ भन्ने उनको अडान छ। उपमेयर कार्कीसँग उनको कार्यकाल र राजनीति यात्राका विषयमा बिएल नेपाली सेवाकाे लागि बिमला गुप्ताले गरेकाे कुराकानी प्रस्तुत छ:-

नजिकिँदै गरेकाे चुनावकाे तयारी कसरी गरिरहुनु भएकाे छ ?

चुनावको तयारीको लागि पार्टीबाट अहिलेसम्म उम्मेदवारको निर्णय नभएको हुँदा आफ्नै किसिमले प्रचारप्रसारमा जुटेका छौँ। नीति निर्देशनको पालना गर्दै सोही चुनावी अभियान हुँदैछ।

जनप्रतिनिधि भएपछि यस साढे चार वर्षको अवधिमा तपाईंंको कार्यकाल कस्तो रह्यो ?

मैले जितेर आएपछि उपमेयरले गर्नुपर्ने काम न्यायीक समिति हेर्ने, अपाङ्गहरुलाई हेर्ने, बजार व्यवस्थापनजस्ता कामहरु गरियो। तर, कतिपय काम आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर भएकाले त्यस्ता कामहरुलाई पूर्णता दिन सकिएनँ। जस्तै नगर विकासका काम, वडाहरुको काम, आर्थिक सहयोग, चन्दा दिने, विज्ञापन दिनेजस्ता अन्य विकासका कामहरु उपमेयरको अधिकार क्षेत्रभित्र नपरेको हुँदा ती सबै कामहरु गर्न सकिएनँ।

तपाईंको क्षेत्राअधिकारभित्र पर्ने के–के कामहरू गर्नुभयाे ?

मैले आफ्नाे कार्यकालमा अपाङ्ग बालबालिकाको लागि विद्यालय निर्माण गरेँ। शिक्षामा सबै काम मेरो क्षेत्राअधिकार भित्र नरहेकोले सबै काम गर्न सकिनँ। महिलाका लागि सीपमुलक तालिमको आयोजना गरेँ। कृषिमा कामहरु गरेँ। महानगरमा न्यायीक इजलास कक्षको स्थापना गरी सहि ढङ्गले न्याय सम्पादन गरेँ। मैले गरेको न्यायको कहिले आलोचना भएन सेवा ग्राहीहरू खुसी भएका छन्।

चुनावको बेला जनताहरुसँग धेरै वाचा गरेर नै उपमेयर हुनुभयो हाे, जनताले मेयर जत्तिकै तपाईंंसँग पनि धेरै आशाहरु थिए, के नगरबासी तपाईंको कामबाट सन्तुष्ट छन त ?

मैले कुनै वाचा गरेर चुनाव जितेको होइन। जनताको माया र प्रेमले जित हासिल गरेँ। २ वर्षको समय कोरोना संक्रमणकालमा बित्यो। जसले गर्दा कतिपय काम अधुरै रह्यो। तर, पनि जति काम गरेँ मैले गरेका कामदेखि नगरबासी खुसी छन्। त्यस्तो कुनै गुनासो अथवा टिकाटिप्पणी भएको छैन।

तपाईंको जीवनको आधाभन्दा बढी समय राजनीतिमै बित्यो। पार्टीको राजनीति र जनप्रतिनिधि भएर काम गर्दा के भिन्नता पाउनुभयो ?

राजनीतिको कुरा गर्नु पर्दा, पार्टी र पदको राजनीतिमा फरक हुन्छ। पार्टीगत राजनीतिमा निर्देशन हुन्छ भने जनप्रतिनिधिको राजनीतिमा प्रशासकीय अधिकार हुन्छ। यो सबैलाई मिलाएर हिँड्दा चाहिँ एकदम कठिनाई हुने गरेको छ। पार्टीले आफ्ना सैद्धान्तिक कुराहरु राख्छ भने जनप्रतिनिधि भएपछि सरकारवादी कुराहरु आउँछ। अब यहाँ जनप्रतिनिधि भएर आएपछि जति वडाअध्यक्षलाई अधिकार तोकएको छ त्यति अधिकार उपमेयरको पनि छैन।

यदि पार्टीले तपाईंलाई उमेर हदका कारण टिकट दिएन भने के गर्नुहुन्छ ?

मेरो जीवन नेपाली कांग्रेसमै बित्यो। यता पार्टीले टिकट दियो बुढेसकालमा। अब फेरि तँ बुढी भइस् भन्न पाइन्छ ? अब मेरो जवानी के फर्केर आउँछ ? म सँगैका नेता कार्यकर्ता सभापति भए कति सांसद भए तर मलाई पहिलो पटक बुढेसकालमा उपमेयरको टिकट दिइयो। मलाई उमेरसँग जोड्न मिल्दैन। मैले आजसम्म पार्टीको कामदेखि जनताको सबै काम गरेर देखाएकी छु। जनताहरु सोध्दै छन्, दिदी फेरि चुनाव लड्ने कि नलड्ने ? जनताले फेरि आउनु भनेर त मेरो हिम्मत र हौसला बढेको छ। अब पार्टीसँग प्रक्रियागत रुपमा टिकटको प्रस्ताव राख्दै छु। अरु कुनै पार्टी प्रवेश पनि गर्दिनँ, कांग्रेसमै जिन्दगी बित्यो अब अन्तिम समयमा अन्य पार्टीमा जान सकिँदैनँ। टिकट दिए पनि नदिए पनि पार्टी नत्याग्ने र जितेको जनप्रनिधि बाहेक अन्य हारेकालाई पार्टीले टिकट दिँदैन भन्ने कुरामा मलाई विश्वास छ।

मेयर पदको लागि तपाईंले किन दाबी गर्नु भएन ?

मैले मेयर पदको लागि दाबी नगर्नुको कारण परिवार हो। एकल महिलालाई गाह्रो छ। सिङ्गो पार्टी र जनता आफ्नो साथमा भएपनि पारिवारिक सहयोग चाहिन्छ। पद मात्र भएर हुँदैन त्यसलाई जिम्मेवारीपूर्वक सम्हाल्न सक्नु पर्‍यो। आफू मेयरभन्दा पनि उपमेयरमै सक्षम रहेकाले सोही टिकट दिन आग्रह गरेकी हुँ। अन्य उपमेयरहरुको कुरा गनुपर्दा उनीहरु मेयर पदका लागि सक्षम छन्। पार्टीले त्यसता सक्षम महिलालाई अवसर दिनुपर्छ। तर, विडम्बना महिलाहरुलाई केन्द्रदेखि नै उपतहमा चुप लगाइएको छ। अहिलेसम्म मेयरमाथि नै बढी भ्रष्टाचार र अख्तियारको आरोप लागेको छ, त्यही भएर अब महिला र पुरुषभन्दा पनि अब कामको मुल्याकंन हुन जरुरी छ।

अन्त्यमा, अब उपमेयरमा निर्वाचित भएर आए तपाईं जनताको लागि के गर्नुहुन्छ ?

सर्वप्रथम मेरा अधुरा कामलाई पूर्णता दिनेछु। उपमेयरले नपाएका अधिकारको बारेमा आवाज उठाउनेछु। र, विकासको काममा विशेष ध्यान दिन्छु। उपमेयरलाई प्रत्यक्ष अधिकार नभएकाले समस्या उत्पन्न भएको हो तर अब जितेर केन्द्रबाट उपमेयरको अधिकार उनीहरुको अधिनमा रहने गरी आवाज उठाउनेछु अनि मात्र जनताको लागि केही गर्न सकिन्छ। यसअघि पनि विभिन्न रुपमा आवाज उठाउँदै आएको छु।
 

प्रकाशित मिति: : 2022-04-20 17:42:00

प्रतिकृया दिनुहोस्