डोल्पामा नयाँ जातका स्याउ परीक्षण 

File Photo
File Photo

स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ। हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ। यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ।

यही मध्य डाेल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातकाे स्याउ परीक्षण सुरु गरिएकाे हाे।

ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु गरेकाे हाे। जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पति बुढाले बताए।

लगाएका स्याउका बिरुवामध्ये केही एकै वर्षमा फलिसकेको र केही फल्ने क्रममा रहेको उनले बताए। सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ ( फुजी, गाेल्डेन लगायत) को सम्भाव्यता अध्ययन थालेको प्रमुख बुढाले बताए।

स्याउ राख्न जिल्लामा चिस्यान केन्द्र नभएकाले उच्च घनत्वको स्याउलाई विकल्पका रुपमा खोजिएको उनले बताए। यस्तै केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० बिरुवा केन्द्रमै तयार भइरहेको छ।

परीक्षणमा रहेका स्याउको जातहरुले उचित स्याद दिए विस्तार गरिनेछ। ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब चार सय हेक्टरमा स्याउ लगाएको केन्द्रले जनाएको छ।

स्थानीय जातका स्याउहरू डोल्पाका मध्य तथा तल्लो डोल्पामा लगाइदै आइएको छ। सडक सञ्जाल जोडिए पनि विद्युत आपूर्तिमा समस्या भएको डोल्पामा उत्पादित बस्तु बजारसम्म पुर्याउन नसक्नु सबै भन्दा चुनौती हुँदै आएको छ।

प्रकाशित मिति: : 2022-04-20 13:55:00

प्रतिकृया दिनुहोस्