केहीसमय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला। त्यसैमा केही वर्ष अघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्यो। किल्लाका सम्पदा स्थल केटाकेटी खेल्ने मैदान जस्तै बन्यो। नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीन तीरबाट अतिक्रमण तीब्र भयो।
ओझेलमा परेको वीरताको जिवित गाथा सम्झाउने किल्ला तब फेरिन सुरू भयो जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आए। तत्कालीन जिविस सदस्य हुँदा भागमा पर्ने केही हजार विकास बजेटलाई जितगढी संरक्षण र सम्बद्र्धनमा लगाएर उजागार गर्न कोसिस गर्ने एकजना नेता बुटवलको मेयरका रूपमा निर्वाचित भएपछि जितगढीको कायापलट सुरू भयो।
उनै नेता अर्थात् शिवराज सुवेदी ०५४ मा जिविस सदस्य हुँदा प्राप्त गरेको केही बजेटले जितगढीको उजागार गर्ने कोसिस गरे। त्यसबेलाको पहल कदमी अहिले झण्डै दुई दशकपछि आएर मात्रै साकार हुने चरणमा पुगेको छ। त्यसअघि सम्म झारले ढाकिएको, एक एक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाई गरी वार्षिकी मनाउने गरिन्थ्यो। त्यसबेलासम्म जितगढीका लागि विनियोजित बजेटसमेत खर्च हुन्थेन र फ्रिज हुन्थ्यो। कैयौं आवको बजेट त्यसै फ्रिज भएको मलेपको तथ्यांकमा सायद अझै फेला पर्ला।
तर, अब जितगढीको मुहार फर्किने भएको छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रूपमा विकास गर्न लागिएको छ। ऐतिहासिक सम्पदाका रूपमा रहेको यो किल्लाको संरक्षणको पहल भएको झण्डै २३ वर्षपछि बुटवल उपमहानगरपालिकाले अहिले विशेष कार्यक्रम बनाएर संरक्षण सुरू गरेको छ। अहिले उबेलाको किल्ला परिसरको स्वरूप पूरै फेरिएको छ।
०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रूपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरू भएको थियो। बीचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम अहिले सुरू भएको छ। सुवेदीले आफु मेयरमा निर्वाचित भएकै वर्ष भित्री संरचना निर्माणलगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन गर्दै विशेष काम सुरू गराएका थिए।
उतिबेला जिविसमार्फत बजेट विनियोजन गर्दै संरक्षण सुरू गरेका जिविस सदस्यसुवेदी अहिले बुटवलको नगर प्रमुखको रूपमा निर्वाचित भएपछि नगरसभामार्फत जितगढी किल्ला विजय उत्सवको आधिकारित तिथि, मिति नै तय गरेर जितगढीलाई उजागार गर्ने र संरक्षण गर्दै विस्तार गर्ने कामको एउटा चरण सफल भएको छ। अब गुरूयोजनाका बाँकी काम अगाडि बढ्दैछन्।
‘जितगढी सम्पदाको गुरूयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ,’ स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौलले भने- इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ।’
विजय उत्सव दिवसको पाँचौं वर्षसम्म आइपुग्दा बुटवलले जितगढीको गुरूयोजना को अधिकांश काम पूरा भएको छ। गुरूयोजना अनुरूपको विस्तृत परियोजना प्रतिवेदन तोकिएका काम साकार हुँदैछन्। जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसँग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ। नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध सँग्रहालय निर्माण गरिएको छ।
जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं.१८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रूपमा मनाउन सुरू गरेको थियो। त्यसअघि सम्म विजय भएको दिनको यकीन मितिमा एकमत थिएन।
ऐतिहासिक स्मारक स्थल
बुटवल वडा-१ स्थित जितगढी किल्ला नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१ (७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो। बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए।
हतियारले सुसज्जित अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशलता, पौरख एवम् वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी। आज सोही विजय उत्सवको दिन हो। राष्ट्रिय स्वाभिमानको किल्ला जितगढीमा नेपालले अंग्रेजलाई हराएर वीरताको गाथा लेखाएको यो स्थललाई बुटवल उपमहानगरले अहिले संरक्षण, सम्बद्र्धन र व्यवस्थित गरेको छ। उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछिको यो एउटा सफल काम हो।
बटौली पर्यटन सर्किटको केन्द्र जितगढी
किल्लाको संरक्षण र सम्बद्र्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रूपमा विकास गर्ने र बटौली पर्यटन सर्किटको मुख्य केन्द्र नै जितगढीलाई बनाउने बुटवलको लक्ष्य छ। जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ। अंग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ। नजिकै १३ जना वीर योद्धाका सालिक ठडिएका छन्। किल्लाको वास्तुकला, इतिहास, नेपाल–अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार हुँदैछन्। हरियाली गार्डेन तयार भएको छ र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएको छ।
प्रमुख सुवेदीका अनुसार अहिले झण्डा राखिएको टावरको केही स्वरूप फेरेर अझ भव्य बनाइने छ। किल्लाको बाहिरी र वरपरको भागलाई थप आकर्षक बनाइने छ, भविष्यमा तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रूपमा पनि विकास गर्ने सुवेदीको दीर्घकालीन योजनामा छ। किल्ला परिसरसँगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसँग जोडेर सर्किट बनाइएको छ र यसलाई साकार पार्न निजी क्षेत्रपनि सहकार्यको खाका तयार पारिएको छ।
आदी मानव रामापिथेकश क्षेत्र र अरू पार्कहरूलाईसमेत जोडेर बटौली एकीकृत पर्यटन गन्तव्य बनाउने गरि विस्तारित गुरूयोजनालाई साकार पार्नेतर्फ ध्यान दिइएको प्रमुख सुवेदीले भने, ‘आजको भोलि नै सबै एकैसाथ काम नहुन सक्छन् तर दीर्घकालसम्म सोंचेर तय गरिएका योजना विस्तारै साकार पार्दा बुटवल अझ भव्य बन्नेछ’।
जितगढीलाई केन्द्रमा राखेर नुवाकोट, लक्ष्मीपार्क, हिलपार्क, रामापिथेकश पार्कसहितका वरपरका क्षेत्र र बैठौलिया तालसम्म एउटै सर्किटमा जोडनेगरी पर्यटन सर्किट तयार भएको छ। यो सर्किटलाई बुटवल चक्रपथले जोडेको र छिमेकका पालिका हुँदै लुम्बिनीसम्म कनेक्टिभिटी गराइएको छ।
इतिहासका जानकार र विज्ञहरूको मेहनत
बुटवल उपमहानगरले विभिन्न समयमा इतिहासविद्, इतिहासका जानकार तथा विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा साहदत प्राप्त गर्नेहरूको खोजी र पहिचान गर्न लगाएपछि मात्रै शालिक निर्माण गरिएको उक्त कार्यको संयोजन समेत गरेकाे अनुगमन समिति संयोजक उपप्रमुख गुमादेवी आचार्यले बताइन्।
उक्त कार्यदलमा संयोजक झपेन्द्र जिसी र सदस्यहरू डा.सूर्यबहादुर जिसी, विमलबहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्द्रगोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले नेपाली सेनामा रहेका विज्ञहरू, इतिहासकार र सम्पदाका बारेमा जानकार रहेकाहरसँग विभिन्न समयमा अन्तरक्रिया गरेको थियो। उक्त कर्यदलले ती वीर नेपालीका वंशका परिवार तथा आफन्त, नेपाली सेनाका मातहतका विभिन्न अड्डा र इतिहासविदसँग विभिन्न समयमा छलफल गरेको कार्यदलका संयोजक जिसीले बताएका छन्।
संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरू, वटौली संरक्षण समिति तथा स्थानीय संघ–संस्था तथा क्लबहरूको सहकार्यमा जितगढीको संरक्षण र सम्बद्र्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताएका छन्।
जितगढी किल्ला परिसरमा रहेको पुरानो नगरपालिका भवन, (वडा कार्यालय) हटाइएको छ। सोही स्थानमा प्रदेश सरकारको सहकार्यमा जितगढी युद्ध सँग्राहलय (बटौली सँग्राहलय) निर्माण भएकाे छ। अबको जितगढी बल्ल ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार र वीरताको किल्लाका रूपमा देखिने गरी कायापलटको काम भएको अध्यक्ष लिगलले बताएका छन्।
भव्य बनेका छन् संरचना
१) मुल गेट र ऐतिहासिक पथ
–मुल गेट बुज्रा शैलिमा बनेको छ। जुन मणीमुकुन्द सेनको पालामा चलेको शैली हो। गेटको छानोको मध्यभागमा नेपालको झण्डा राखिएको छ। गेटको दुवैतिर तोप राख्ने काम भइरहेको छ। टिकट काउण्टर र गार्डको लागि अलग्गै ठाउँ रहेको छ। ऐतिहासिक पथमा एङ्लो–नेपाल युद्धको ऐतिहासिक समयानुक्रम र युद्ध सेनाहरूको परिचयात्मक फोटोसहितको ब्याकग्राउण्ड राखिँदैछ। यी युद्ध सेनाहरूले कोलोनेल (कर्णेल) उजिरसिंह थापालाई वरिपरिबाट घेरेर राखेको जस्तो देखाइने छ।
२) विशाल राष्ट्रिय झण्डा
–अहिलेको झण्डाको संरचना परिवर्तन हुने छ। थोरै स्थान लिने गरी एउटै खम्बामा झण्डा फहराइने छ। उजिरसिंहको शालीक अगाडिको भागमा खाली ठाउँ राखिएको छ। समतल भूभागभन्दा केही माथि उठाइएको यो खाली ठाउँमा एक सय जना सिपाहीहरूले उजिरसिंहलाई सलामी ठोक्न सक्नेछन्। किल्लामा सेनाहरूलाई त्यहीँ बसेर किल्लाको सुरक्षा गर्न आर्मी क्वार्टरको डिजाइन गरिएको छ। यसका अलावा यी किल्लाका प्रत्यक कुनाहरूमा क्वाटर बनाइने छ। आर्मी क्वार्टरमा लवी, किचन, बेडरूम र ट्वाइलेट तथा बाथरूम बनाइएको छ।
३) कलात्मक पुल
–संरक्षण गर्नुपर्ने क्षेत्रमा नै अहिलेको पुलको फाउण्डेशन रहेकाले नयाँ पुल प्रस्ताव गरिएको छ। पुलले अवलोकनकर्ताहरूलाई किल्लाको पूर्व र पश्चीम तर्फ अवलोकन गर्न मिल्ने गरि बनाइने छ। मेयरले सकभर सिसाको जस्तो पुल बनाउन अध्ययन गर्न लगाएका छन्। एउटै पुलबाट अवलोकनकर्ताहरूले गढीको फेँदमै जान मिल्ने र माथि पनि आउन मिल्ने गरि पुलको डिजाइन भइ कनिर्माण कार्य सुरू भएको सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनीयर सुमन श्रेष्ठले जानकारी दिएका छन्। यो काममा नेपाली सेनाले निरन्तर समन्वय र रेखदेख गरिरहेको छ।
५) वीर योद्धाका सालिक
–जितगढी युद्धमा सहादत प्राप्त गर्ने वीर नेपाली सेनासहित वीर योद्धाहरूको सालिक निर्माण गरिएको छ। १३ जना वीरयोद्धाका सालिक कर्णेल उजिरसिंहको शालिकतिर फर्किएर कमाण्ड कुरेको जस्तो देखिने छ। यी सबैका सालिक निर्माण गरिएको छ। सालिकसँगै हरियाली उधान पनि निर्माण भएको छ। यसको हालै पूर्वमन्त्री तथा एमाले सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेेका थिए।
६) भ्यू डेक र फोटो बुथ
–किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदि अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनाउने काम भइरहेको छ। कर्णेल उजिरसिंह थापाको पोजीशनमा फोटो खिच्न चाहने अवलोकनकर्ताहरूको लागि फोटो खिच्न मिल्ने एउटा फोटो बुथ निर्माण गरिने छ। यसले त्यहाँ आउने पर्यटकका लागि कर्णेल उजीर सिंहलाई सम्झाउने छ।
७) एमफीथियटर (रंगभूमि)
– साँझमा सराया नाचलगायतका सास्कृतिक नाच तथा झाँकीहरू प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिएको छ। यसका लागि संरचना तयार भएको छ। यहीँ स्थानमा उस्तै पोशाक लगाएर कर्णेल उजीरसिंहका पालाको भगवति जात्रा र सरायँ नाचको झल्को देखाइने छ।
८) मन्दिर
–अहिलेको मन्दीरलाई जस्ताको तस्तै राखिने गरी थप आकर्षक बनाइने छ। यसको संरचनामा परिवर्तन नगरि थप कलात्मक र आकर्षक बनाउने काम भइरहेको इन्जिनियर रूक्मात बस्यालले बताएका छन्। बस्यालसहित नेपाली सेनाको प्राविधिकहरू निरन्तर जितगढीमा खटिएका छन्।
९) ग्रेटर नेपाल र शीलालेख
–रंगभूमिको पछाडीको भागमा अवलोकन कर्ताहरूले नेपालको रणनैतिक आक्रमणका ठाउँहरू देखाईएको नेपालको ठूलो तस्वीर राख्ने काम सुरू भएको छ। सम्भव केही दिनमै यो काम पुरा हुनेछ। तस्वीरको अगाडिको भागमा विभिन्न समयको प्रतिनिधित्व हुने गरी एङ्लो नेपाल युद्धको समयानुक्रम देखाइने इन्जिनियर बस्यालले बताएका छन्।
१०) स्मारक
–एङ्लो नेपाल युद्धको झझल्को आउने गरी एउटा स्मारक डिजाइन गरिएको छ। अवलोकनकर्ताहरूले किल्लाबाट बाहिर निस्कने द्वारमा यसलाई अवलोकन गर्न सक्नेछन्। किल्लामा यहाँका स्थानीयको सहयोगमा बुटवल उपमहानगरपालिका र पपुरातत्व विभागले उत्खनन् सुरू गरिसकेको छ। त्यसैलले उत्खनन् भएका क्षेत्रमा आँशीक रूपमा मात्रै अवलोक कर्ताहरूलाई जान दिन मिल्ने बनाइएको छ। उत्खनन् भएको क्षेत्रलाई पानी र खराब मौसमबाट बचाउन संरचना तयार पारिने छ। अहिलेको किल्लाको संरचनाको ठिक्क बाहिर पट्टी मायाको चिनोहरू बेच्ने ठाउँ र कार्यालय बनाउने काम पनि सुरू भएको छ। यहाँ ४ चक्के र २ चक्केको लागि पार्कीङसमेत बनाइने छ। यी कामका लागि कुल लागतः ८ करोड, १२ लाख ८९ हजार २७ रूपैंयाँ लागत अनुमान गरिएको थियो।
क–कसकाे बन्यो शालिक ?
१ कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण भएको)। २. काजी वीरभञ्जन पॉडे (गुरूबक्स कम्पनी)। ३. कुम्भेदान कृपासुर थापा। ४. दलखम्ब थापा। ५. समशेर राना मगर। ६. सरदार सूर्जे थापा। ७. लेफ्टीनेन्ट अम्बर अधिकारी। ८. कुम्भेदान वृषसुर थापा। ९. जमदार भीमसेन देउजा। १०. जमदार शूरवीर बोहरा। ११. हवल्दार रणशूर बानियाँ। १२ सिपाही हंशवीर अधिकारी। १३. थरघर नकुल बानियाँ। १४. जुठे वस्नेतका शालिक तयार भएका छन्। यी शालिककको पूर्वमन्त्री छविलाल विश्वकर्माबाट अनावरण भइ सकेको छ।
के भन्छन् फेरिएको जितगढीबारे विज्ञहरू ?
जितगढी बल्ल देखिने, सुनिने र चिनिने भयो
डा.सूर्य जिसी
इतिहासविद्
नेपालको वीरताको किल्लालाई कागजमा सीमित थियो। अतिक्रमणको चपेटामा परेको थियो र जीर्ण बनिरहेको थियो। जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो तब अहिले जितगढी सुनिने, चिनिने र देखिने अवस्थामा पुगेको अहिलेको अवस्थाले प्रष्ट पारेको छ। अहिले यो किल्ला संरक्षण र सम्बद्र्धन भएर उज्यालो बनेको छ। हालसम्म हुन नसकेका काम जनप्रतिनिधिले यो एउटा कार्यकालमा अगाडि बढाएको छ। गुरूयोजना नै बनाएर बुटवल उपमहानगरले महत्वपूर्ण संरक्षण र सम्बद्र्धनको काम गरेको छ। जितगढीलाई आधुनिक, व्यवस्थित र योजनाबद्ध तरिकाले संरक्षण, विस्तार र विकास गर्नु समग्र इतिहासलाई उजागार गर्नुजस्तै हो। तत्कालीन नेपाल–अंग्रेज युद्धमा विजेता भएका वीर योद्धाका, वीर सपूतका सालिक निर्माण गर्ने, सम्पदास्थललाई संरक्षण र सम्बद्र्धन गर्ने जुन काम भएको छ यसले बुटवलको पहिचानलाई अझ विस्तार गरेको छ। कर्णेल उजीर सिंहको पूर्णकदको सालिक निर्माण भएको छ र उक्त सालिक अनावरणका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली आफै सम्पदास्थलमा प्रस्तुत भएर जितगढीको गाथा सुनाउनुभएको थियो। यसले पनि जितगढीको शान र पहिचानलाई विस्तार गर्न मद्दत मिलेको छ।
बुटवलवासीले गर्व गर्न लायक भएको छ जितगढी
बिमलबहादुर शाक्य
वरिष्ठ समाजसेवी तथा पूर्वउपप्रमुख
बुटवल उपमहानगरपालिकाले जितगढी सम्पदाको संरक्षण र विस्तार योजनाबद्ध ढंगले काम गरेको छ। बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बुटवलबासीले गर्व गर्न लायक काम भएको छ, जितगढीको मुहार फेरिएको छ। जितगढीको संरक्षण, सम्बद्र्धन र विकासका लागि उपमहानगरका मेयर शिवराज सुवेदीको नेतृत्वमा उदाहरणीय काम भएको छ। बुटवलबासीले गौरवबोध गर्न मिल्ने काम भएको छ। यद्यपि जितगढीका लागि बनाइएको गुरूयोजना साकार पार्नका लागि अझै केही काम बाँकी पनि रहेका छन्। जितगढी के हो ? कर्णेल उजिरसिंहलाई त्यसबेला अंग्रेजले के पत्र लेखेका थिए भन्ने कुरालाई नेपालीमा अनुवाद गरेर त्यहाँ राख्नुपर्ने छ। गुरूयोजनामा यसलाई समावेश गरिएको मेयरले बताउनुभएको छ। के कसरी युद्ध भएको थियो भन्ने बारेमा भिडियो मार्फत सन्देश दिन सकिने समेत व्यवस्था मिलाउने कुरा मेयरले गर्नुभएको छ जुन खुशीको कुरा हो। यो एउटा अवधिमा अर्थात् एक कार्यकालमा यो सबै काम एकसाथ सम्पन्न हुन सक्ने कुरा पनि भएन। तर, जेजति काम भए त्यसले समग्र विकासको असली खाका कोरेको छ र बुटवलबासीले गौरवबोध गर्ने भएको छ।
इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम भएको छ
झपेन्द्र जिसी
संस्कृतिविद्
बुटवलमा रहेको वीरताको किल्ला जितगढीको संरक्षण र सम्बद्र्धनमा उदाहरणीय काम भएको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछिका नौला काममध्येको यो एउटा महत्वपूर्ण काम हो। गुरूयोजना बनाएर सुरू गरिएको यो कामले अहिले सार्थकता पाएको छ। विक्रम सम्वत् १८७१ देखि १८७२ वैशाख ७ गतेसम्मको पटक–पटकको लडाइँमा आफूलाई विश्व विजेता दाबी गर्ने अंग्रेज सेनासँगको युद्धमा डटेर लड्ने विजयी हुने कर्णेल उजीरसिंह सहित वीरयोद्धाका सालिक निर्माण गरेर इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम गरेको छ। प्रमुख शिवराज सुवेदीसहित उपमहानगरका सबै जनप्रतिनिधि, कर्मचारीहरू र यसको संरक्षणका लागि खटिएका वडाका नागरिक अगुवा र सबै संरक्षणकर्मीहरू बधाईका पात्र हुनुहुन्छ। तत्कालीन नेपाल–अंग्रेज युद्धमा शाहदात प्राप्त सरदार सुर्य थापा, लेपटन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भिमसेन देउजा, सुरविर बोहरा, हवल्दार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ, जुठे बस्नेतलगायतका सैयौं जना ती वीर योद्धाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु।
बल्ल उज्यालो भएको छ जितगढी
रवीन्द्रगोपाल लाकौल
संरक्षणकर्मी, बटौली संरक्षण तथा सम्बद्र्धन समिति, बुटवल
जितगढी वीरताको किल्ला जितगढी सम्पदाको भूमिमा रहेका नागरिक हौं हामी। यसको संरक्षणका लागि धेरै वर्षदेखि लड्दै आएका थियौं तर सुनुवाई भएको थिएन। अहिले बुटवलमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामी बुटवलबासीका लागि पनि गर्व गर्ने काम भएका छ। बल्ल विजयका गाथा सुनाउने सम्पदाका रूपमा यसको विकास भएको छ। साह्रै खुशी लागेको छ। अहिलेका मेयर शिवराज सुवेदी प्रष्ट भिजन भएका, प्रष्ट विचार भएका, दूरदृष्टि भएका सक्षम हुनुहुँदो रहेछ। उहाँले जितगढीलाई संरक्षण र सम्बद्र्धन गरेर सिङ्गो बुटवललाई उज्यालो बनाउनुभएको छ। हामी स्थानीय बासिन्दाहरू यो कामबाट हामी साह्रै खुशी भएका छौं र उत्साहित भएका छौं। जितगढी बुटवलवासीको मात्र सम्पत्ति नभइ सिङ्गो राष्ट्रको सम्पत्ति बन्नेगरी बुटवलले काम गरेको छ। योजनाबद्ध विकास र संरक्षण एवम् सम्बद्र्धनका काम कसरी हुँदा रहेछन् भन्ने कुरा हेर्नका लागि जितगढीमा आउनुपर्ने भएको छ। वीरताको किल्ला जितगढीको मुहार फेरिएको छ र सिंगो बुटवल उज्यालो भएको छ।