समकालीन नेपाली पत्रकारिता क्षेत्रमा विभिन्न समस्या छन्। अनेक समस्या झेलिरहेका पत्रकारहरुले समयमै उपचार नपाउँदा ज्यानसमेत गुमाउनुपरेको छ। भर्खरै मात्र राजधानीको चर्चित टेलिभिजनका एक वरिष्ठ पत्रकारको ६ सय रुपैयाँ नहुँदा समयमै भर्ना हुन पाएनन् र ज्यान गयो। अस्पताल भर्ना हुन नपाउँदा पत्रकारको ज्यान जाँदा पनि सरकारले वेवास्ता गर्यो। त्यसपछि श्रमजीवी पत्रकार संघ, नेपालले सबैको ध्यानाकर्षण गर्यो। पत्रकारको मृत्यु हुँदा कुनै पनि पार्टीका पत्रकार संगठनले मुख खोल्न चाहेनन्। तर, सधै श्रमजीवी पत्रकारहरुको पक्षमा संघर्ष गर्ने जन्मदेव जैसी अध्यक्ष रहेको स्वतन्त्र पत्रकार संगठनले संघर्ष गर्यो र केही मृतक पत्रकार एलबी विश्वकर्माको परिवारलाई क्षतिपूर्ती दिलायो। यो त पछिल्लो काम हो। अत्याधिक मत ल्याई नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिको सह–संयोजकको हैसियतमा जैसीले ३ वर्षसम्म मिडिया हाउसहरुमा नयाँ तरंगै ल्याए, श्रमजीवीका मुद्दामा। कुनै पार्टीको ढोकामा नजाँदा गठबन्धनको टिकट नपाए पनि श्रमजीवी पत्रकारहरुको स्वतन्त्र खम्बाको रुपमा उनले महासंघको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिए। स्वतन्त्र संस्थामा पार्टीहरुको सिन्डिकेट भएपछि स्वतन्त्र उम्मेदवारको जीत सम्भव थिएन, तैपनि व्यवसायिक पत्रकारहरुको राम्रो मत प्राप्त गरे जन्मदेवले।
माओवादी आन्दोलनमा सरिक र सैन्य हिरासत
पार्टी भूमिगत भए पनि विद्यार्थी संगठनलाई बन्देज नभएका कारण माओवादीका विद्यार्थीलाई सहज थियो। तर, ०५६ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएका उनले पार्टीकै काम पनि गर्नुपरेको थियो। २०५६ को अन्त्यतिर उनलाई माओवादी भएको आरोपमा अस्कल क्याम्पसबाट पक्राउ गरियो। २४ दिन हनुमान ढोकामा राखियो। जहाँ अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेल, केन्द्रीय सदस्य दिलबहादुर राईलाई पनि राखिएको थियो। पछि पौडेल र राईलाई बेपत्ता बनाइयो। जैसीलाई भने पत्रकार कार्ड भएकै कारण सेन्ट्रल जेल सुन्धारामा राखियो।
त्यहीँ उनको माओवादी नेता मात्रिका यादव, बालकृष्ण ढुंगेल, विशाल खड्का, रुकुमका सुन्दर ओली र वीरबहादुर केसीलगायतसँग भेट भयो। करिब दुई वर्षजति उनले जेलमा बिताए। २०५८ मा वार्ता भएपछि वीर अस्पतालबाट हत्कडी खोलेर रिहा भएका मात्रिका यादव वार्ता टोली सदस्य बने। यादवकै पहलमा जैसीलाई सरकारले रिहा गर्यो। जेलबाट छुटेपछि उनलाई बाहिर बस्ने ठाउँ भएन।
त्यसपछि भने उनको व्यवसायिक पत्रकारिता जीवन सुरु गरे। समदृष्टि र प्रकाश साप्ताहिकमा काम गरिरहेका उनी पत्रकार मात्रै रहेनन्। त्यही आवरणमा उनले माओवादी पार्टीको काम पनि गरिरहेका थिए। एकदिन उनले रामबहादुर थापा (बादल) को अन्तर्वार्ता लिएर साप्ताहिकमा प्रकाशन गरे। त्यसको केही दिनभित्रै कार्यलयबाट बागबजारको काेठामा फर्किँदैै गर्दा पुतलीसडकबाट सेनाले अपहरण गर्यो। पूरै मुख छोपेर उनलाई सेनाले गाडीमा हाल्यो। तीन चक्करजति घुमाएपछि सेनाले आफ्नो क्याम्पमा लग्यो। त्यसबेला भने जन्मदेवलाई साँच्च्किै त्रास भयो। अब पक्कै पनि मार्छन् भन्ने लाग्यो।
तर, उनलाई एउटा कोठामा राखेर सोधियो। बादललाई कहाँ भेटिस्, तेरो सम्बन्ध के हो, परिवारका सबै सदस्य माओवादी रहेछन् अब तँलाई पनि मार्छु भन्दै तर्साउन थाले। तर, आफू पत्रकार नै भएको भनेर दाबी गरिरहे। दिनभर केही नखाएका जैसीलाई बेलुका खानलाई चाउचाउ दिइयो। तर, चाउचाउ खाँदा भने पूरै बालुवा मात्रै मिसाइएकाे थियो। तैपनि उनले बालुवा थिग्राएर झोल पिए। तीन दिनको यातनापछि सीपी मैनालीको पहलमा उनी रिहा भए।
श्रमजीवीका पक्षमा लड्दा एक वर्ष निलम्बनमा
जीवेन्द्र सिंखडाले उनलाई राजधानी दैनिकमा जोडे। त्यसबेला जीवेन्द्र सम्पादक थिए। त्यहीबाट जैसीको पत्रकारिताभित्र श्रमजीवीको पेसागत सुरक्षाको आन्दोलन सुरु भयो। उनी आफैंलाई तलब अग्रिम दिए पनि अन्यले भने नियमित पाइरहेका थिएनन्। त्यसैले त्यहीँ संगठन निर्माण पनि गरे। प्रकाशकसँग नै श्रमजीवीको तलबबारे त्यहीँ लडे। पछि युवराज घिमिरे सम्पादक भएर आए। घिमिरेसँग पनि उनले श्रमजीवीकै माग उठाए। पछि एउटा समाचारका विषयमा घिमिरेसँग विवाद नै भयो। वैदेशिक रोजगारीको समाचार रोकिएपछि जैसीले घिमिरेसँग प्रतिवाद गरे। त्यसपछि जैसीलाई निलम्बनमा राखियो। करिब ७ महिनाको आन्दोलनपछि घिमिरे झुके। श्रमजीवीका केही आधारभूत मागहरु पूरा गरेपछि जैसी पुनर्वहाली भएसँगै घिमिरेले राजधानी दैनिकबाट राजिनामा दिए।
प्रकाण्डसँगको सहकार्य र अन्तरविरोध
पार्टी भित्रको खराब प्रवृत्तिविरुद्ध जन्मदेव जैसीले लामो समयदेखि नै संघर्ष गर्दै आएका थिए। उनले सबैभन्दा पहिले तत्कालीन मन्त्री खड्गबहादुर विश्वकर्माको वुर्जुवा र नोकरशाही शैलीविरुद्ध संघर्ष गरे। माओवादी एमाले समिकरणमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला कर्णालीका शीर्ष नेता मानिने खड्गबहादुर विश्वकर्मा पर्यटन मन्त्री थिए। पत्रकार जैसी खड्गबहादुरका सहयोगी थिए। एकदिन कर्णालीबाट सहिद परिवारका सदस्य प्रकाण्डलाई भेट्न मन्त्रालयमा आएछन्। मन्त्री क्वाटरमा गाडीबाट झर्ने बेला मन्त्री खिड्गबहादुर संँगै बसेका सहिद परिवार झर्ने बेला प्रकाण्डको पाईन्टमा धुलो लगाएपछि कस्तो फोहोरी ! भनेर गाली गरेपछि पत्रकार जैसीले सहिद परिवारको बचाउ गर्दै ‘हिजो गास बास दिने यिनीहरु नै हुन् आफ्नो धरातल नविसिंनु’ भनेर प्रकाण्डको इलिट शैलीको प्रतिवाद गरेको पत्रकार जैसी सम्झन्छन्। त्यो घटनापछि प्रकाण्डले नेता जैसीलाई आँखाको कसिंगरको रुपमा व्यवहार गर्ने गरेका छन्।
वैद्य माओवादीमा राज्य समिति सदस्य
प्रकाण्डको सहयोगी भूमिकाबाट बाहिरिएका जैसी राजधानी दैनिकमा त्यसअघि नै कार्यरत थिए। उक्त मिडियामा एक वर्षसम्मको लडाइँ जितेपछि जैसी पुर्नबहाली भए। तर, जैसीले पनि त्यहाँ बसिरहन उपयुक्त नमानेपछि राजीनामा दिएर श्रमजीवी पत्रकारका मुद्दालाई उठान गर्न थाले। पछि माओवादी पार्टी फुट्दा वैद्यतिर लागे। त्यतिबेला उनी वैद्य माओवादीभित्र पार्टी राज्य समिति सदस्य थिए। श्रमजीवीका मुद्धामा सञ्चारसम्वद्ध मजदुर संगठनको अध्यक्ष भइसकेका उनी महासंघमा लडे, सर्वाधिक मतसहित महासंघको केन्द्रीय सदस्य पनि बने। महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवद्र्धन समितिका सह संयोजकसमेत रहेका जैसीकै नेतृत्वमा महासंघले पारिश्रमिक नदिने कैयौं मिडिया हाउससँग लड्यो। उनले पत्रकारितासँगै राजनीतिलाई पनि समानान्तर गतिमा अघि बढाए।
विप्लवको पार्टीमा अन्तरसंघर्षको नेतृत्व
पार्टीमा इमान्दार नेताका रुपमा चिनिएका जैसी बैद्यबाट पनि अलग भएर विप्लवसँगै गए। थवाङ महाधिवेशनमार्फत जवर्जस्त लादिएको मन मिल्नेहरुबीचको पार्टी चलाउने लाइन, त्यसपछि पार्टीमा हुर्किएको व्यक्तिवादी चिन्तन, एकमनावादी सोच र क्रान्तिकारी भावनामाथि विप्लवहरुले गरिरहेको व्ल्याकमेलिङकाविरुद्ध पार्टीभित्रको संघर्षमा मुख्य भूमिका निर्वाह गरे। त्यस्तै उनले प्रतिबन्धको बेला पार्टी अप्ठ्यारोमा परेकाले योगदान दिँदै आएका थिए। सिंगो क्रान्तिकारी पत्रकार संगठनलाई प्रतिबन्धका कारण संकटमा परेको पार्टीलाई देशव्यापी रुपममा अदालत, हिरासत एवं कारागारहरुमा बाहिरबाट गर्न सकिने सबै काम गरे, योगदान दिनुपर्छ, वर्गीय पक्षधरताका लागि लागिपर्नुपर्छ भनेर दिनरात खटे। त्यसको पनि मूल्यांकन नहुने, पार्टीलाई रुपान्तरण गर्दै क्रान्तिकारी धारमा विकास गर्नुपर्छ भन्ने जैसीलगायतको टिमको कुराको सुनुवाई नभएपछि, झन् झन् पार्टीलाई कम्पनीजस्तो गरेर चलाउने प्रवृतिबाट विद्रोह गर्दै उनीसहितको सिंगो टिम नेकपा (माओवादी केन्द्र)मै फर्किएको थियो। माओवादीको गत आठौं राष्ट्रिय महाधिवेशनमा एकता प्रक्रियाबाट जैसीसहित क्रान्तिकारी टिमबाट ५ जना महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए।
विप्लव प्रकाण्डले टिका लगाएकाहरुको भागाभाग
त्यतिमात्रै होइन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि मिति २०७५ फागुन २८ गते ओली सरकारले प्रतिवन्ध लगायो। त्यसको विरुद्ध विप्लव नेकपाले संघर्ष गर्ने निर्णय गर्यो। त्यसपछि विप्लवका पार्टीका नेता कार्यकर्ताहरुको भागाभाग भयो। गाउँ–गाउँ सहर–सहरबाट विप्लवका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थाले। सडक खाली हुन थाल्यो। त्यसपछि विप्लव नेतृत्वको नेकपाले सौतेने व्यवाहार गरेको क्रान्तिकारी पत्रकार संगठनले सडक मोर्चामा श्रमजीवीलाई श्रमको मूल्य दिनुपर्ने, राजनीतिक मुद्धा मुद्धा उठाएकै कारण कथित प्रतिवन्ध लगाउन नहुनेलगायत विभिन्न माग राख्दै सघर्ष गर्यो। संगठनको अध्यक्ष डिल्लराज रावत भएपनि संघर्ष तथा सडक मोर्चा र जेल मोर्चाको नेतृत्व भने संगठनका उपाध्यक्ष जन्मदेव जैसीले गरे।
जेल मोर्चामा दिनरात खटाई
जैसीको मुख्य पेसा पत्रकारिता भए पनि विप्लवमाथि प्रतिबन्ध लागेपछि विप्लवका नेता कार्यकर्तालाई जेलबाट छुटाउने, अदालतमा मुद्धाको साक्षी बस्नेदेखि बम विष्फोटमा परेकाहरुको सव व्यवस्थापन गर्ने काम गरे। जैसीलगायत क्रान्तिकारी पत्रकार संगठनका सबै साथीहरुले प्रतिबन्धको पत्रकारिता मोर्चाबाट डटेर प्रतिवाद गरेको थियो। तर, वैगुनी विप्लव र प्रकाण्डले पत्रकार संगठनका उपाध्यक्ष जैसी लगायतका पत्रकारहरुलाई सिआईडी जस्तो मिथ्या आरोप लगाए। करिब २ वर्ष पहिला काठमाडौंको अनामनगर र सुकेधाराको बम विष्फोटमा परेर ४ जनाको ज्यान गएपछि विप्लवका पार्टीका नेता कार्यकर्ताहरु लासको व्यवस्थापन गर्नसमेत डराएपछि जैसीको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय समितिले लासको व्यवस्थापन गर्यो। बमका छर्राहरुले प्रज्वल शाही, दिपेश राईलगायतको छिन्न भिन्न लासमा पार्टीको झण्डा ओडाउन विप्लवका कार्यकर्ताहरु आउनसमेत डराएपछि पत्रकारिताको धर्म त्यागेर पत्रकार जैसीलागयतले अन्य पत्रकारिता पेसाकाले पार्टीको झण्डा ओडाएको फोटो सामाजिक संजालमा भाइरल भएपछि पत्रकारहरुलाई विप्लवले क्रान्तिकारी पत्रकार संगठनलाई सडक मोर्चाको जिम्मा दिएको सुरक्षा निकायले आरोप लगाउने गरेको थियो तर यथार्थ त्यो मिथ्या कल्पनाभन्दा सयौं कोस टाढा थियो।
क्रान्तिकारी पत्रकार संगठनका जैसीसहित संगठनका जिम्मेवार सदस्यले पशुपति आर्यघाटमा विप्लवका कार्यकर्ताहरुको दाह संस्कार गरेपछि विप्लवले बनाएको जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, हिम विष्ट र सिर्जना तिमल्सिना एवं पार्टीका पोलिट्व्यूरो सदस्य तथा प्रकाशन मोर्चाका इन्चार्ज अनिल शर्माले जन्मदेव जैसी, बाबुराम भुसाल, कमल बुढा लगतयतका पत्रकारहरुले गृहमन्त्रालयबाट पार्टीको सुराकी गरी तलब खाइरहेको फगद आरोप लगाईरहेका थिए भने विप्लवले पनि खोपीमा बसेर आफैलाई निस्वार्थ सहयोग गर्ने पत्रकारहरुलाई विभिन्न आरोप लगाएर सर्कुलर जारी गरिरहेका थिए।
विवेकपूर्ण अन्तरसंघर्ष
जैसी भन्छन्,‘हामीले कुनै आवेगमा आएर समानान्तर संगठन निर्माण गरेका थिएनाैं।’ अझ जैसीले त सबै पक्षलाई समेटेर नोकरशाही शैलीविरुद्ध संघर्ष गर्न सहयोग पुगोस् भनेर समानान्तर संगठन बनाउँदा आफूभन्दा निक्कै कनिष्ट सल्यानका डिल्लीराज रावतलाई अध्यक्ष स्वीकारेर आफू उपाध्यक्षमा बस्न राजी भए। जब संघर्षमा होमिनु पर्नेभयो, त्यसपछि भने जन्मदेव एक हिसाबले वान मेन आर्मी बने। विप्लवका कार्यकर्ताले जेलमा हुँदा आफ्नो ज्यान धरापमा नपरोस् भनेर पत्रकार जैसीसँग सहकार्य गर्र्थे। ‘नेता तपाईं नै हो, तपाईंको मात्रै होइन, संगठन कै विषयमा कुरा राख्छौ’ भन्ने गर्दथे तर जब जेलबाट छुट्थे त्यसपछि आफ्नो अज्ञात अवस्थालाई ज्ञात बनाउने र जेल तथा हिरासतमा सहयोग गर्ने जैसीको खेदो खन्थे। जैसीविरुद्ध तथानाम गाली ओकल्थे। जसको उदाहरण हुन्, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा। पत्रकार महासंघलाई घचघच्याउनुका साथै मिडिया क्यम्पेन गरेर शेरबहादुर विश्वकर्मालाई जेलबाट छुटाउन दिनरात खट्ने पत्रकार जैसी र अर्का चर्चित पत्रकार केशव भुललाई शेरबहादुर विश्वकर्माले सुराकी गरेर आफूलाई पक्राउ गराएको पार्टीमा रिपोर्टिङ गर्नसम्म भ्याए।
हेमन्तप्राकश ओली बाहेक अरुले सबैले विष मात्रै ओकले
पक्राउदेखि रिहासम्म निरन्तर खटिरहेका पत्रकार जैसीले खेलेको भूमिका, उनले गरेको निर्मम संघर्ष र योगदानका विषयमा विप्लवको पार्टीमा इमान्दारितापूर्वक खुलेर प्रशंसा गर्ने एक मात्र नेता हेमन्तप्रकाश ओली नै हुन्। तर, अरु जेल र हिरासतमा हुँदा मुद्दामा सहयोग माग्न जैसीलाई बोलाउँथे, गुहार्थे तर बाहिर निस्केपछि उल्टै तल्लो स्ततरमा उत्रिएर गाली गर्थे र प्रकाण्डप्रतिको भक्तिभाव दर्शाउँदै आफ्नो फुली बढाउँथे।
विप्लवका केही अराजकहरुले खुट्टा भाँच्ने योजना बनाए
पत्रकार जैसी श्रमजीवीका पक्षमा लड्ने पत्रकार मात्र होइनन्। उनी कुशल लिडर पनि हुन्। वैचारिक रुपमा स्पष्टता, विषयवस्तु प्रतिको गहिरो ज्ञान र संगठनलाई परिचालन गर्ने क्षमता भएका नेता पनि हुन्। नेता जैसीसँग सांगठनभित्रको अन्तरविरोधलाई वैज्ञानिक रुपमा सामाधान गर्ने कौशता पनि छ। उनले विप्लवको एकीकृत जनक्रान्तिका विषयमा पटक–पटक फरक मत राख्दै आएका थिए। त्यही कारण विप्लवको पार्टीमा समानान्तर संगठन बनाउन भूमिका खेलेको भन्दै केही अराजकहरुले पत्रकार जैसीको हात खुट्टा भाँच्ने योजना बनाएको खुलासा भएपछि पत्रकार जैसीले पत्रकार सम्मेलन गर्ने चेतावनीसमेत दिएका थिए। त्यसपछि विप्लवका पार्टीमा रहेका केही अराजक तत्वहरु पछि हटेका थिए।
पुन: मूल घरमै फर्किए नेता जैसी
अहिले जैसीले नेपालमै पत्रकारिता क्षेत्रमा हकहितका लागि लड्न पहिलो ट्रेड युनियन श्रमजीवी पत्रकार संघको गठन गरेका छन्। उनी निरन्तर श्रमजीवीका पक्षमा लड्दै आएका छन्। गत वर्ष कोभिडको बाहनामा पत्रकारलाई जागिरबाट निकाल्ने, सरुवा गर्ने र तलब नदिने सञ्चारगृहविरुद्ध उनकै नेतृत्वमा आन्दोलन भयो। लामो समय लागे पनि पीडित पत्रकारलाई न्याय दिलाउन उनी सफल भए। पत्रकारिता क्षेत्रभन्दा पनि राजनीतिक नेताका रुपमा चिनिएका जैसी भन्छन्,‘प्रकाण्ड र विप्लवहरु नवनोकरशाही आकांक्षी हुन्।’ क्रान्तिकारी हैनन् भनेर ४ वर्षअघि नै उनले पार्टी आन्दोलनभित्र संघर्षको नेतृत्व गरे। सार्वजनिक विज्ञप्ति निकालेर प्रकाण्डहरुको नवनोकरशाह प्रवृति विरुद्ध संगठनमा समानानान्तर निर्माणसहित योगदान र संघर्ष सँगसँगै चलाए। पार्टीभित्र नेतृत्वको नवसामन्ती प्रवृतिविरुद्ध लडेपनि केपी सरकारले अलोकतान्त्रिक ढंगले पार्टीमाथि प्रतिबन्ध लगाएपछि पार्टीका क्रान्तिकारी नेता कार्यकर्ताको रक्षाका लागि संकटकै बिचमा जैसीकै नेतृत्वको सिंगो टिमले योगदान दियो। सर्वोच्च अदालतदेखि हिरासत, जेलहरुमा ईमानदार कमरेडहरुको रेखदेखदेखि रिहाईका लागि दौडथुप गरियो।
‘क्रान्तिकारी पत्रकार संगठनकोे टिम त पूर्वविराटनगरदेखि मध्य लुम्बिनी हुँदै पश्चिम धनगढी र विशेषतः उपत्यकामा भइरहेका सयौं गिरफ्तारी, धरपकड, यातना, खेपिरहेका कमरेडहरुको मनको घाउमा मलमपट्टी लगाउनतिर लाग्यो,’ जैसी भन्छन्।
विप्लव र प्रकाण्डको क्रान्तिकारी भावनामाथिको ब्ल्याकमेलिङ
यी सबै पीडा र कष्टकर जीवनकै बीच ५ जना निर्दोष योद्धाहरुलाई जबर्जस्ती बम पट्काउन लगाएर होनाहार साथीहरु सहिद भए। त्यो दुःखत घटनापछि जैसीसहितको टोली आफै घटनास्थल र हस्पिटलमा गयो र सहिदहरुको अन्त्योष्टिमा पशुपति आर्यघाटमा अहिले क्रान्ति भनेर फेसबुकमा चिच्याउनेहरु कोही आएनन्। जैसी नेतृत्वको टोली आफैले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दियो। बरु जिम्मामा खटाइएकाहरु दाहसंस्कारका लागि पठाएको रकमसमेत नदिएर त्यही राती वियरमा झुम्मिए। ओम हस्पिटलको दिनुपर्ने रकम अझै दिइएको छैन। ‘उल्टै केही अपराधीहरुको झुण्ड र प्रकाण्डहरुले गुण्डा तयार गरेर संकटमा निर्णायक काम गरिरहेकाहरुलाई सिध्याउन फर्माइस दिए, तर सकेनन,’ नेता जैसी भन्छन्।
वैचारिक रुपमा पनि खारिएका नेता जैसी भन्छन्,‘हामीले सुरुदेखि उठाएको विषय र गरेको अन्तरसंघर्ष अहिले सही सावित भएको छ। आखिर यही हुनु थियो, भयो। किनकि यिनीहरु क्रान्ति भनेर नेताका छोराछोरीको रगतमाथि होली खेल्दै जनयुद्धको ब्याज खाँदै धोका दिनु थियो, दिए। अन्तत नव नोकरशाहका आकांक्षीहरु तासको महल ढले झैं गर्याम्गुर्लुम् ढले। हरेक क्रान्तिकारीहरुले सिक्नुपर्ने एक अजम्बरी पाठ बन्यो एकीकृत महापतन।’