किन छाडे माओवादी दाङका इन्चार्ज गौतमले पार्टी ?

नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन गौतमले सोमबार साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे।

घोराहीमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्दै उनले अहिले नै कुनै पार्टीमा नजाने र स्वतन्त्र रुपमा बस्ने बताए।

गौतमले माओवादी पार्टी गैर कम्युनिष्ट भएकाले पार्टी छाडेको बताए। उनले माओवादीले सर्वहारा वर्ग, सर्वहारा मूल्यमान्यता र आदर्श छोडिसकेको आरोप लगाउँदै माओवादीमा नबस्ने निष्कर्षमा पुगेको बताए।

‘म अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराहीमा हार्छु भन्दाभन्दै पनि मेरयमा लडेको हुँ। सधैं चुनाव जित्नका लागि लडिँदैन। हार्नका लागि पनि लडिन्छ। मैले के सोचेँ भन्दा हार्ने चुनाव भएपनि जनतालाई सचेत गराउनुपर्छ र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता थियो’, गौतमले भने, ‘तर यो ५ वर्षको अवधिमा माओवादी पार्टीभित्र विभिन्न उतारचढावहरु भए। आजका दिनसम्ममा आइपुग्दाखेरी माओवादी कम्युनिष्ट पार्टीका रुपमा देखिँदैन। यो कम्युनिष्ट पार्टी होइन। यसले सर्वहारा वर्ग, सर्वहारा मूल्यमान्यता, आदर्श छोडिसक्यो।’

उनले माओवादी पार्टी छाड्नुका पछाडि अमेरिकी सहयोग परियोजना एमसीसी रहेको पनि बताए। उनले भने, ‘पछिल्लो समयमा एमसीसी पास गर्दा माओवादीले आफ्नो अडान एकाएक बदल्यो। त्यसका विरुद्धमा म थिएँ। त्यसका विषयमा तपाईंहरुलाई पनि थाहा छ। म फेसबुकमा धेरै लेख्दिनँ, तर त्यस समयमा मैले फेसबुकमै धेरै विरोधहरु लेखेँ। त्यसबेला नै मैले पार्टी छाड्ने कि नछाड्ने भन्ने विषयमा विमर्श गरेँ। तर पार्टी छाड्नु हुँदैन भनेर आजसम्म बसेँ।’

गौतमले पार्टी छाड्नुका यी दुई कारणसँगै अर्को पनि रहेको बताए। माओवादी पार्टीमा चरम गैर कम्युनिष्ट चरित्र मौलाएकाले पनि पार्टी छाडेको उनको भनाई  छ। ‘पार्टीभित्र गुटबन्दी, चरम गैर कम्युनिष्ट चरित्र, अत्यन्त षड्यन्त्रकारी कार्यशैली माओवादी केन्द्रमा देखियो। चुनाव आउँदै गर्दा यो प्रवृत्ति अझ संगठित भयो। त्यसपछि मलाई लाग्यो, अब मेरो स्वाभिमान बचाउनुपर्छ। अनि मैले पार्टी छाडेको छु र स्वतन्त्र रहने घोषणा गर्दछु।’

गौतमले यी तीन कारण देखाउँदै आफू कम्युनिष्ट पार्टीमा रहेको जानकारी पनि दिए। उनले जनताको सेवामा सधैं लाग्ने र आफू सधैं कम्युनिष्ट रहिरहने बताए। हाल कुनै पार्टीमा प्रवेश गर्ने योजना नरहेको भन्दै गौतमले भोलिको दिनमा विचार मिल्दै गयो भने कसैलाई समर्थन, सहयोग गर्न सकिने बताए।

गौतम अघिल्लो ०७४ सालमा घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए। उनी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्यानलका मानिन्छन्।

के छ भित्रि कुरा?

गौतमले माओवादी पार्टी छाड्नुका पछाडि माओवादी पार्टी गैर कम्युनिष्ट भएको, एमसीसी पास गर्न व्याख्यात्मक घोषणा गरेर आफ्नो अडान छाडेको लगायतका कारण गौण रहेको बताइन्छ।

उनी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा पनि घोराहीको मेयरका लागि बलियो दाबेदारी मानिएका थिए।

अघिल्लो पटकको निर्वाचनमा पनि हारेकाले उनले आफैँ अर्को पटकको निर्वाचनमा फेरि चुनाव लड्ने बताएका थिए। तर माओवादीले मेयरमा सिफारिस गर्दा गौतमलाई नगरेर अन्य व्यक्तिलाई गरेका कारणले उनले पार्टी छाडेको माओवादी नेताहरु बताउँछन्। तर गौतम यो विषयले आफूले पार्टीको छाडेको मान्दैनन्।

गौतमले हाल स्वतन्त्र बस्ने दाबी गरेपनि नेकपा एमाले प्रवेश गर्ने कुरा राजनीतिक वृत्तमा सुरु भइसकेको छ। आइतबार साँझ नै यस विषयमा दाङमा चर्चा सुरु भइसकेको थियो।

प्रकाशित मिति: : 2022-04-18 15:37:00

प्रतिकृया दिनुहोस्