दिपायलस्थित रामबाबुको चिया पसल। जिल्लाभरिका नेता कार्यकर्ताको फाइँफुट्टी लगाउने ठाउँ। जमघट गर्ने थलो। ग्रुपमा फोटो खिचाउँछन्।फेसबुकका भित्ता भर्छन्। कानेखुसी गर्छन्, गोप्य वार्ता गर्छन्। यस्तै यस्तैमा समय व्यतित भइरहन्छ।
सूर्यका किरणसँगै सुरु हुन्छ जमघट। प्रचण्ड गर्मीका कारण दिउँसो आराम गर्छन्। अपरान्ह पुन: मैफल जमाउँछन्। आखिर लोकतन्त्र भन्नु, राजनीति भन्नु यस्तै यस्तै त रहेछ हाम्रो नेपालमा।
जताततै टिकटको बहस छ। गठबन्धनको बहस छ। लाग्छ राजनीतिक समिक्षकहरूको संख्या गज्जबले बढेछ गाउँ-घरतिर। बडो तडकभडक छ कतिपयको। तीन/चार दिनदेखि मनन गरिरहेको छु, आफ्नो पुरानो अस्तित्व खोजिरहेको यो ठाउँ दिकदार छ, हैरान छ।
क्षेत्रीय राजधानी लगेर गए। पहाडका पैसा तराईमा खन्याए। बस्ती उजाड पारे। केही बचेखुचेका मनहरू निन्याउरो मुहार बनाएर जसोतसो गुजरा चलाइरहेका थिए। पुनः चुनाव नजिकियो। सम्राटहरूको आवतजावत बढ्न थाल्यो।
मख्ख परे सडक, चौक र चियापसलहरू। म हेरिरहेको छु कैयौंको चुरिफुरी। चाकडी चमत्कार। निन्याउरो मुहार लगाएर दौडधुपमा तल्लीन अनुहारहरू सबैसबै। अनि सम्झिएँ जुम्लाका तुङ्नाथले दिएको हालको राजनीतिको परिभाषा– इँटा, बिटा र ठिटा। यहाँ इँटा भनेको झै-झगडामा टाउको फोड्न हिर्काउन प्रयोग गरिने वस्तु, बिटा भनेको पैसाका गड्डी, अनि ठिटा भनेको अघिपछि लागेर नेताको गुलामी गर्ने भरौटेहरूको समूह।
निर्वाचनमा सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे केदार शर्मा र रमेश खड्काको मननयाेग्य प्रवचन सुनेर बाहिरिएका पाइलाले सडकमा टेक्न नपाउँदै टाढैबाट प्रश्न तेर्स्याउँछिन् देउसराले, ‘गरिब गुरुवा र सिमान्तकृतको पन पालो आउन्या हो भन्थे उतिबेला त। महिलानको पन कोटा हुन्छ भन्नाछन्। गोसाई हामी गरिबलाई पन दिन्या हुन् त टिकट ?’
‘पैसा हुन्याले हो राजनीति गर्नु। टिकट माग्नु। हामी पैसा नभएका, पैसा नभएकै कारण चुनाव जित्न नसक्न्या, यस्तो राजनीति नजान्ने, आफ्नो गरिखाने मान्सले एक भोट दियो चित्त बुझायो। क्या गर्नु तै टिकटले’, उनका प्रश्नको उत्तर दिनसक्ने क्षमता नभएरै अन्तमा यति भनेँ। मैले सम्झाउँदैमा कहाँ मान्थिन् र उनी! फेरि प्रश्न तेर्स्याइन्,‘उसो भए तै गठबन्धनका बिनेटामी के-के उम्रने हो ? के पैसाकै बीऊ रोप्दे हुन् ?’
डोटेली भाषामा बिनेटोको अर्थ हुन्छ, आषाढमा खेत रोप्नका लागि बीउ राख्न तयार पारिएको अर्थात् बीऊ छरेको समथल गह्रो। उनले भन्न खोजेको बिनेटो सिद्धान्तको बिनेटो हो। निष्ठा र इमानदारीताको बिनेटो हो। अनि हो स्वाभिमान र विकासवादी मनको बिनेटो। तर, यो गठबन्धनको आशय त्यसो हैन। यहाँ त गठबन्धन नामको राजनीतिक बिनेटो एउटा छ, मालिक धेरै छन्। यो बिनेटो त कमाउनिष्टको बिनेटो हो। चाकडी, चाप्लुसी, स्वार्थ र निर्लज्जताको बिनेटो हो। यहाँ प्राय सबै छोटेराजन बनेका छन् भन्ने कुरा सुनेकी छन् उनले। उनलाई कसैले यो पनि सुनाएका छन् कि अङ्गालो मारेर चुनावमा प्रचारप्रसार गर्ने छन्, अनि एउटै चुनाव चिन्हबाट तीन/चार दलका उम्मेदवारले भोट पाउने छन्। जितिसकेपछि पुनः पारपाचुके गर्ने लडाइँ सुरु हुने छ। कमाइको भागवण्डा सुरु हुने छ।
उनको प्रश्न निकै नै मार्मिक र जटिल छ। उनले चाहेको नेता माटो सुहाउँदो, जनमुखी र विकासवादी हुन्। तर, बिडम्बना यहाँ वर्षौंदेखि अर्कै खिचडी पाकिरहेको छ। टिकटको लाइनमा बसेका केही नेताहरू कठपुतली जस्तै छन्। कोही पैसाको आडमा उभिएका छन्। कोही चाकडी, चाप्लुसी र गुलामीका भरमा टिकेका छन्। कतिपय भ्रष्ट, निर्लज्ज, फुर्तिबाज, पाखण्डी छन्।
यिनले गाउँठाउँको विकास गर्छन्/गर्दैनन् थाहा छैन। तर, एउटा कुरा सबैलाई राम्ररी थाहा छ, आफ्नो भुँडीको विकास गर्छन्। आसेपासेहरूलाई तीनपाने पिलाउँछन्। परिवारको विकास गर्छन्। डाँडाकाँडामा अन्धाधुन्ध डोजर चलाएर बस्तीको मुहार बिगार्छन्। सर्वसाधारणले कर तिरेको सरकारी सम्पत्तिको सकेसम्म दोहन गरिरहन्छन्। यहाँ सत्य बोल्ने मान्छे पागल कहलिन्छ। ‘यो कुन तन्त्र हो थाहा छैन। यहाँ त मान्छेका राम्रा नराम्रा हरेक कर्म लोकतन्त्र, गणतन्त्रसँग गाँसिन थालेका छन् देउसरा।’ मैले यति भन्दै गर्दा अन्तमा ईश्वरी पन्त सरको भनाइ सम्झाइन् उनले।
२०४६ को प्रजातन्त्र आएलगत्तै उनको एक जना विद्यार्थीले प्रश्न गरेका थिए, ‘सर हजुर, हिजोआज किन टाइट गर्नुहुन्न? हामी त गल्ती गर्दा सरको डरले लुगलुग काँप्थ्यौं। अचेल त सर देखेर कोही न डराउँदा रहेछन्।’ ईश्वरी सरको उत्तर थियो, ‘बाटोमा दिसा गरिरहेको मान्छेलाई किन बाटोमा दिसा गरेको भनी सोध्दा प्रजातन्त्र आइसकेको छ थाहा छैन भन्यो। त्यसै दिनदेखि मैले टाइट गर्न छोडिदिएँ बाबु।’ यति सुनाउँदै उनी आफ्नो बाटो लागिन्। म एकछिन टोलाइरहेँ।
राणाकालदेखि पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म जे जति व्यवस्था आए, ती व्यवस्थाका तालुकदारदेखि व्यवस्थापकसम्मका सबै गोसाईहरूले हैकम जमाए आफ्नै किसिमको। ‘जति जोगी आए, कानै चिरेका’ भनेझैं सबै उस्तै गरी देखापरे कमाउनिष्ट बनेर। हिजोका दिनमा फाट्न थालेका तुना, टुटेका चप्पल लगाएर भोटमाग्दै गरेका देखिनेहरु नै आज आएर पजेरो, मर्सिडिज गाडीका झ्यालबाट कालो चश्मा देखाउन थाले। छोडिदिए सर्वसाधारणलाई चिन्न पनि। मात्र चुनावका बेला परिचय गर्ने आदत भएका नेताहरूले हिजोआज सुरु गरिसकेका छन् रे देउसरालाई नमस्कार गर्न। जुन नमस्कार, भोट माग्ने नमस्कार शिवाय अरु के नै हुन सक्छ र!
पञ्चायतका सम्राटहरूको हैकम देखेकी देउसराहरू निकै आशावादी बने २०४६ को प्रजातन्त्र प्राप्तिपछि। खासै उपलब्धी हुन सकेन। त्यसपछि साह्रै उत्साहित बने गणतन्त्र आयो भनेर। त्यो पनि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेझैं भइरहेको छ। जीउ ढाक्न र पेट पाल्न देश जानु, देशीको कमैया बन्नु मध्य तथा सुदूरपश्चिमेलीको नियति बनेकै छ। सम्राटहरूको बोलबाला चलेकै छ।
पूर्वजका पालादेखि सुनिँदै आएको एउटा उखान छ,‘मर्नु मर्नु मितकै छोरो मरोस्।’ विगतका शासकहरूको स्वार्थी, मपाइँत्वपन र सामन्ती व्यवहार देख्दा बनाइएको थियो यो उखान। आफू सुरक्षित भएपछि, टन्न कमाउन थालेपछि, विगत बिर्सिंदै गएका अहिलेका छोटेराजनहरूका व्यवहार र क्रियाकलाप पनि त्यस्तै देखिन्छन्– मरे जनताकै छोराछोरी मरुन्।
यतिखेर देउसरासँग भन्न मन लागेको छ,‘देउसरा अब तमी आफैं भन गठबन्धनको बिनेटोमा के को बीऊ छर्छन्।’ आखिर यो राजनीति भन्नु पनि केवल नारा मात्रै त रहेछ। हरेक चुनावमा आश्वासन दिइरहन्छन्, फास्टट्र्याक, पश्चिम सेतीलगायत कैयौं विकासका योजनाहरूको सपना देख्न लगाउँछन्। तर बन्दैनन् ती कहिल्यै पनि। नबन्नुको दोष बोकाइरहन्छन्, एउटा पार्टीले अर्को पार्टीलाई।
हुन त गणतन्त्र आएपछि कुनै परिवर्तन नभएको भन्ने पनि त छैन। फ्याट्टफुट्ट विकास निर्माणका कार्यहरू पनि नभएका हैनन्। तथापि जति हुनुपर्ने थियो, त्यसको एक तिहाइ पनि हुन सकेन। भष्ट्राचारको झाडी मौलाइरह्यो। गरिबका दिन उस्तै छन्। सम्राटको संख्या बढेकै छ। आज कैयाैँ देउसराहरूका लागि निल्नु न अकेल्नु भएको छ। एकातिर गणतन्त्रप्रतिको लगाव छँदैछ। अर्कोतिर नेताका कर्म देखेर खिन्न हुँदै सुसेल्न बाध्य छन् फोटो पत्रकार गोखर विष्टले सुनाएको गीतझैं यस्तै यस्तै भाव बोकेका कतिपय गीतका पंक्तिहरू–
मैना मेरी भावरीले चुल्ठी गिरायाको
भित्र मन दुई भएको बाहिर सिलायाको