बिरामी हुनुहुन्छ ?
अँ बाबु बिरामी छु। राम्रो सँग बस्न पनि सकेको छैन। यहाँ दुखिरहेको छ (निधारमा देखाउँदै)। ज्वरो पनि आएको छ।
ए ! होर। अस्पताल जानलाग्नु भएको हो ?
जाने भनेको त हो बाबु.....।
गाडी (जिप) अगाडि बढिरहेको थियो। यात्रुका रुपमा गाडीको पछाडि सिटमा म थिएँ। सँगै अर्को पट्टीको सिटमा मुजा परेका गाला देखिने एक बृद्ध पनि थिए। अरु यात्रु पछाडि सिटमा थिएनन्। अगाडि भरिभराउ थियाे।
नयाँ वर्षको दुई दिन अघिको कुरा हो, यो अगाडि भनेको दृष्य। दाङकै एक ग्रामीण गाउँबाट घोराहीको यात्रा गर्दा मसँगै मुजा परेका गालासहित ती बृद्ध पनि थिए। म गाडीमा चढ्नुभन्दा पहिले ती बृद्ध पछाडिको सिटमा उक्लै थिए। म चढेपछि दुई जना भएका थियौँ।
गाडीको रफ्तार निरन्तर थियो। ती बृद्धले मैले अस्पताल जान लाग्नुभएको हो ? भन्दा उनले जाने भनेको त हो बाबु.....। भनेकोमा फेरि प्रश्न गरें।
किन ? घोराही जानुहुँदैन र ? अँ फेरि हजुरको घरबाट अरु कोही आउनु भएको छैन ?
छैनन्, आएका। घरमा पनि कोही छैनन्। एउटा छोरी छ घर हेर्नु पर्यो उसले।
छोरा हुनुहुन्न ?
छ, घरमा छैन।
बाहिर हुनुहुन्छ ?
के भन्ने बाबु। बाहिर छ भन्ने हो भने घरमा छ। तर, आज छैन।
कहाँ जानुभएको छ त ?
के भन्ने हो र... (एकछिन रोकिएर अक्मकाउँदै) तल प्रहरीमा गएको छ रे ! हिजो, अस्ति कहिले स्वास्नीलाई मारेछ (कुटपिट) आज मुद्दा मिलाउन गएको छ रे !
ती बृद्धले यति कुरा भनेपछि अझ धेरै प्रश्न गर्न मन लागिरहेको थियो। तर, गर्न सकेन। उनले आफै बिरामी छु भनेका थिए। मसँग कुरा गरिरहँदा पनि आफ्नो अगाडि भएको बोरामा हातले टेकिरहेका थिए। उनलाई बस्न असहज भइरहेको छ भन्ने मलाई महशुस भइरहेको थियो।
यत्ति सोधे- सुत्नुहुन्छ ?
‘मिलेकै छैन,’ ती बृद्धले भने।
मैले एउटा बोरामाथि अर्को ठूलो ब्याग राखिदिएँ (टाउको अढेस लगाउन मिल्ने गरी)। भनेँ,‘यसैमा अढेस लगाउनुस् है।’
उनी सुत्ने प्रयास गरे। तर, के सुत्न सक्थे र ! गाउँको कच्चिबाटो भएकाले गाडीले कहिले उफ्रार्छ पत्ताे थिएन। कहिले दायाँ हुत्याउँछ। कहिले बायाँ हुत्याउँछ। सुत्न मन हुँदा हुँदै पनि ती बृद्ध सुत्न सकेनन्।
अनि फेरि हातले आफ्नो अगाडिको बोरामा टेक्दै यात्रा गरे।
मलाई भने अझै अरु कुरा सोध्न मन लागिरहेको थियो।
सोधेँ, ‘कुन अस्पताल जानुहुन्छ उपचार गर्न ?’
उनी झट्ट बोलेनन्। केहीछिन रोकिएर भने,‘खै कहाँ जाउँ। पैसा छैन।’
‘महेन्द्रमा (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) जानुहुन्छ होला। अलिकति भएपनि कम लाग्ला नि,’ मैले भनेँ।
जाने त हो कतिबेला हुने हो। यही बेचेर जाने भनेको हो। (आफैले हात टेकिरहेको बोरलाई देखाउँदै)
यो के हो र ?
केराउ हो (हरियो)। यहाँ तल लगेर बेचेर अलिकति भएपनि पैसा लगेर जाने हो। ढिलो पाे हुन्छ कि। कतिबेला पुगिने हो।
ती बृद्धको टाउको दुखेको छ। ज्वारो आएको छ। उपचार गर्न त हिँडेका छन् तर पैसा छैन। उपचार गर्नका लागि घरमा फलेको (सायद) केराउ लिएर बेच्ने सोच बनाइरहेका छन्। त्यही बेचेर उपचार गर्ने योजनामा छन्, उनी। यदि त्यो केराउ बिक्री भएन भने उनी उपचार गर्ने छैनन्।
गाडी आफ्नै गतिमा थियो। पहिले गाडीको पछाडि दुई जना मात्र भएकोमा अन्य मान्छे पनि बसिसकेका थिए। सिट फुल (भरिएकाे) भइसकेको थियो। सिटमा मान्छे फुल भएकाले गाडीले हामीलाई दायँ-बायाँ पनि हुत्याउँन छाडिसकेको थियो। हाम्रो यात्रा पनि करिब १ घण्टा पुग्न लागेको थियो।
ती बृद्धले बेलाबेलामा आफूलाई असहज भएको जसरी अथवा टाउको बेसरी दुखेको आभाष दिने गरी दायाँ–बायाँ गरिरहेका हुन्थे। धेरै छिटो बोलिरहन सकेका थिएनन्। बिस्तारै सानो स्वरमा बल्ने गरेका थिए।
यत्तिकैमा एउटा गाउँको बजार आयो। ती बृद्ध झर्ने भए। झरे। जिपका सहचालकले बोरा झारिदिए। सहचालकले गाडी भाडा मागे कि मागेनन् थाहा भएन। अलि पर गाडीबाट नदेखिने ठाउँमा बोरा सहचालकले लगिदिएपछि ती बृद्ध पनि उतै गए।
सहचालक आए। गाडीको ढोका लगाए। ढ्याप–ढ्याप पारेपछि गाडी गुड्यो। यहाँ आइपुग्दा बाटो पनि पिच भेटिएको थियो। गाडीको स्पिड (गति) बढेको थियो। करिब आधी घण्टाको गाडीको यात्रापछि घोराही बजारमा म आइपुगे।
तर, उपचार गर्न हिँडेका ती बृद्ध मसँगै घोराही आइपुगेनन्। घोराही आइपुग्दा ११ बजिसकेको थियो। सायद ती बृद्ध त्यसदिन घोराही आएनन्। केराउ बिक्रीको भए उनीले त्यही स्थानीय मेडिकलमा आफ्नो उपचार गरे होलान्। यदि केराउ बिक्री नभए उनी त्यसै घर फर्कन बाध्य पनि भए होलान्।
ती बृद्धजस्तै नेपालमा कयौँ नागरिकहरु पैसाको अभावमा उपचार गर्नबाट बञ्चित छन् होला। ती बृद्धजस्तै स्वास्नी कुट्ने छोराका कारण कयौँ बुवाहरु एक्लै उपचार गर्न हिँड्न बाध्य छन् होला। ती बृद्धका छोरा जस्तै कयौँ बुवाहरु छोरा भएर पनि साहाराविहीन हुन पुगेका छन् होला।
दुई दिनअघि छोराले स्वास्नी नकुटेको भए आफूलाई जन्मदिने बुवा बिरामी हुँदा ती छोरा बुवाको साहारा हुने थिए होला। बुवाको उपचार गर्न जानुपर्ने बेला प्रहरी कहाँ जानुपर्ने थिएन होला।
धिक्कार छ, ती छोरालाई ! जसले स्वास्नी कुटे र एउटा गल्ती त गरिहाले नै जसको कारणले ६० वर्ष बढी लागेका बुवालाई छोरा भएको आभास दिलाउन सकेनन्।