आज नयाँ वर्ष सर्वप्रथम त २०७९ सालको नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षका अनेक रौनकहरु, कथ्यहरु, भास्यहरु फेरिएका छन। सेलिब्रेसनका शैलीहरु फेरिएका छ्न। अझै सामाजिक संजालमार्फत् शुभकामना साटा-साट गर्ने ट्रेण्डिङको त के कुरा गरौं, लाग्छ एउटै घरमा छुट्टाछुट्टै कोठामा बसेर म्यासेन्जरमा शुभकामनाको नोटिफिकेसन बज्छ होला। जे होस् प्रविधि र आधुनिकताले संसार साँघुरो बनाइदिएको छ। यो त खुसीको कुरा हो।
तर, शुभकामनामा करोडाैँ मूल्यका शब्दहरु खर्चिए पनि आज मान्छेका मनहरु छुट्टिएका छ्न। समाज आईसोलेसनको बाटोमा छ। बाहिर लक्जरिका सामानले झल्किएको मान्छे मनभित्र निराशा, अभाव र पीडाले टुटेका मनहरु बोकेर हिँडिरहेका छ्न। सबथोक फेरिए पनि नयाँ वर्षमा केही चिज फेरिएनन् जो दर्दनाक छ्न।
सरस्वती प्रतीक्षाको नाथियामा कोरिएका दाङका बादी महिलाको जीवन होस् वा १० तल्लाको घरमा कैदी जीवन बिताइरहेकी कुनै खान्दानी महिलाको, पुरुषसत्ताको शोषणको बीचबाट बस्तुको प्रयोगलाई अधिकारको आँखाले हेरेर महिला मुक्तिको कल्पना कहाँ गर्न सकिएला र ? नयाँ वर्षमा प्रत्येक घरहरूमा चलेका भोजहरुमा महिला बाहेक अरुले पकाए होलान् ? भाडा माझेहोलान् ? पाहुनाहरुको सत्कार गरेहोलान् ? इनभिटेसन दिने बेला घरमुली पुरुषले दिएको निम्तामा आउने पाहुनाले उसको सत्कार नपुगे दोष घरकी कारिन्दा महिलामा थोपरेर जान्छ। के हाम्रो समाजले चुलोको मूल्य बुझेको छ ?
दिनभर नि:स्वार्थ सेवा गरेर थकित तन, मन र शरीर जाँडका मटुलाहरुसँग साटनुपर्ने ? मनमा मानवीयता नभएका दानवहरुसँग साटनुपर्ने ? के महिला दिनभर रोबर्ट र रातभर पुरुषका लागि किनेर ल्याइएका सामानहरु हुन् ?
यी प्रश्नहरु यो समाजका लागि हुन्। जन्मघर छोडेर अस्तित्व बदलेर हिम्मतका साथ नयाँ परिवेशमा बदल्न सक्ने आँट के पुरुषमा छ ? आज पनि महिलाको निर्णय चाहना र विचारको स्वीकार नहुने परिवारभित्र उसको अस्तित्वको निर्मम हत्या हुने परिवारभित्र नयाँ वर्षले के दिन्छ ? फेसबुकको भित्तामा कोरिएका शुभकामनाले के दिन्छ्न् ? जब समानता र समता छैन भने।
जन्मजात नारीलाई शान्त, सरल र सालिनको उपमा दिएर धैर्यताको डेफिनेसन दिएर उनीहरुका इच्छा र आवाजहरुलाई कुण्ठित गर्ने, भ्वाइसलाई रोक्ने लगाम बनाइएको छ। छोरीप्रति बिहेअघि टिठ देखाएर माया गर्ने अर्थात् कमजोर जात अर्काको घर जाने जातको रुपमा हेरिन्छ। यही समाजाको अर्काको घर जाने भन्ने निर्णयको बेला जबर्जस्ति गरिन्छ। अर्काको घर जाने मञ्जुर भएन भने तमान बाबुआमाको निद्रा हराम हुन्छ। उनीहरुसँगको बाध्यता यही हो, जसरी पनि छोरीलाई घर निकाला गर्नुपर्ने छ, त्यो पनि वैधानिक रुपमा।
अर्कातिर अर्को नयाँ मान्छेले शोषणको बैधानिक लाईसेन्स पाउने वाला छ। एउटा कारिन्दा पाउने वाला छ। गहना र खानामा लगानी गरेर मान्छे किन्नेवाला के बर्तमान समाजको कुहिएको विचार, दृष्टिकोणलाई र चेतनाको बीचबाट नयाँ वर्षको शुभकामना बाढ्न सकिने अवस्था छ ? म पाठकहरुलाई साेध्न चाहन्छु।
महिलाले आफ्नो भूमिका निर्वाह गर्ने कुराको विरोध होइन, हाउसहोल्डिङको विरोध होइन, कियरिङको विरोध होइन तर यसको मूल्य, सम्मान र समानताको सवाल मुख्य कुरा हो।
महिला मात्रै होइन सबै मार्जिन ग्रुपहरुमा चेतनाको ज्वार, बिद्रोहको स्वर र भौतिक रुपमा मात्रै होइन मनदेखि मनसम्म स्वतन्त्रता प्राप्त गर्ने हिम्मत मिलोस्। अन्त्यमा नयाँ वर्ष २०७९ को सबै नेपाली दाजु-भाइ दिदी-बहिनीहरूमा शुभकामना।
(लेखक समाजशास्त्रको विद्यार्थी तथा सामाजिक अभियान्ता हुन्।)