दाइले ‘मिस उर्लाबारी’ हुँदैछ जाउ भन्दा दोधारमा थिएँ, उपाधि जितेँ: दिया दाहाल

Breaknlinks
Breaknlinks

तेस्रो सिजनकाे ‘मिस उर्लाबारी’को उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्। होटल ग्राण्डमा साेमाबर राति सम्पन्न फाइनल राउण्डका १७ जना सुन्दरीलाई उछिन्दै १६ वर्षीया दियाले ‘मिस उर्लाबारी’को ताज पहिरिएकी हुन्।

सानैदेखि माेडलिङ र नृत्यमा रूचि राख्ने उनी याे उपाधि जितेपछि अब आगामी दिनमा के गर्ने साेचमा छिन भन्नेलगायतका विषयमा बिएल नेपाली सेवाकाे लागि रबिन पुन मगर (आइडु)ले गरेकाे कुराकानी प्रस्तुत छ–


‘मिस उर्लाबारी’ जितेपछि कस्ताे महसुस भइरहेकाे छ ?

एकदमै खुसी छु। अनस्पेक्टेट्ली जितेकी हुँ, जर्जहरुले निष्पक्ष रुपमा मूल्याङ्कन गरिदिनुभयाे। मेरो जिन्दगीको एउटा सफलताको खुड्किला पार गरे जस्तो लागेको छ।

स्टेजमा तपाईंंको नाम लिइरहँदा कस्लाई सम्झिनुभयो ? कस्तो लाग्याे त्याे क्षण ?

मैले त मम्मी–बाबालाई सम्झिएँ, नि। म त टप फाइभमा परेपछि रनरअप हुन्छु जस्तो लागेको थियो। तर, स्टेजमा विजेतामा मेरो नाम आउँदा त कति धेरै खुसी भएकी थिएँ, शब्दमा बर्णन गर्नै सक्दिनँ।

त्यति धेरै प्रतिस्पर्धीहरूमध्ये तपाईंले नै उपाधि जित्नुकाे कारण के होला जस्ताे लाग्छ ?

सबै जनाले तिम्रो कन्फिडेन्ट लेभल राम्रो थियो भन्नु भएको थियो। मैले पनि त्यहाँ फ्री माइन्ड बनाएर उत्तरहरु दिएँ। आफूलाई कुनै कुराबाट पनि प्रेसरमा राखिनँ। सायद मैले दिएको प्रस्तुति पनि अर्गानिक भएर होला।

उपाधि जित्छु भनेर नै जानुभएको थियो ?

हैन नि, मलाई मेरो दादाले मिस उर्लाबारी हुँदैछ जाउ भन्नु भएको थियो। आफूलाई त जाउ कि नजाउ लागेको थियो। तर, पछि केही सिकिन्छ भनेर गएकी हुँ। उपाधि नै जित्छु भन्ने त सोचेको पनि थिएनँ।

‘मिस उर्लाबारी’बाट के कुरा सिक्नुभयो नि ?

मेरो कन्फिडेन्ट लेभल बढ्यो। कसरी बोल्ने, अरुको सामु कसरी प्रस्तुत हुने, सेल्फ डिफेन्डेन्ट हुनुपर्नेलगायत थुप्रै कुराहरु सिकाउनुभयो। अगामी पाइलाका लागि चाहिने धेरै कुराहरु सिक्ने मौका पाएँ।

तपाईंमा के कस्तो जिम्मेवारीहरु थपिए जस्ताे लागेकाे छ ?

उर्लाबारीतिर हुने महिला हिंसाविरुद्ध सचेतना बढाउने। अनि, मोडलिङ क्षेत्रमा आउन चाहनेहरुलाई सपोर्ट गर्ने छु। सफलताको पहिलो कदम चालेँ, अझै ठूला–ठूला प्ल्याटफर्ममा गएर आफ्नो गाउँको नाम चिनाउनेछ।

प्रतियोगितामा जानुभन्दा अगाडि तपाईंलाई मोडलिङबारे थाहा थियो ?

त्यही हाे, टिभीमा हेर्ने गर्थेँ, मलाई त्यस्तो केही थाहा थिएन। बाहिर देख्दा राम्री भए हुने पुग्नेजस्तो लागेपनि भित्र त अन्य ट्यालेन्टको कुरा पनि हेरिँदो रहिछ नि।

हजुरलाई मोडलिङ बाहेक अन्य के कुरामा रुचि छ ?

मलाई डान्सिङमा रुचि छ। सानैदेखि नाच्ने गर्थेँ। स्कुलहरुमा नाच्थेँ, अनि धेरै चोटी जितेको पनि छु। डान्सक्लास पनि जाने गरेको छु।

अबकाे यात्रा के छ ?

त्यो भन्दा पहिले म मिस पूर्वाञ्चलमा जानुछ। अझै धेरै सिक्नु छ/जान्नु छ। अनि मात्रै बिस्तारै अगाडिका पाइलाहरु चाल्नेछु।

तपाईंलाई यो क्षेत्रमा परिवारबाट कस्ताे सहयाेग मिलेकाे छ ?

सुरुमा त मम्मी–बाबाले नजाउ भन्नुहुन्थ्यो। पढाइ बिग्रन्छ, प्लस टु सकेर मात्रै जानु भन्नुभएको थियो। तर, अहिले चाहिँ धेरै सपोर्ट गर्नुभएको छ।

कतिमा पढ्दै हुनुहुन्छ र ?

११ मा।

उमेर कति भयाे नि ?

१६ वर्षको भएँ। मिस उर्लाबारीको कन्टेस्टेन्टमा सबैभन्दा कान्छी त मै हाे नि।

यो क्षेत्रलाई हाम्रो समाजले त्यति सकारात्मक रूपले लिँदैन। यस विषयमा तपाईंकाे धारणा के छ ?

सबैको सोचाइ एउटै हुँदैन, सबै ठाउँमा राम्रा/नराम्रो कुरा भइहाल्छन। आफूले के गर्ने भन्ने कुरा हो। सकारात्मक काम गर्दै सफलता चुमेर यो क्षेत्रमा भएका राम्रा कुराको उजागर गर्ने छु। अरुले के भन्लान् भन्नेभन्दा पनि आफ्नो सपना हो, सकारात्मक ढंगले पूरा गर्नतिर लाग्नेछु।

तपाईंको भावी लक्ष्य के होला ?

एउटा सफल मोडल नायिका बन्ने हो। त्यो सँगै महिलाकाे हकहितका लागि काम गर्न मन छ, अनि समाजसेवा पनि।

अनि राजनितीमा रुचि छैन ?

त्यस्तो प्रत्यक्ष राजनीतिमा रुचि त छैन। तर, हामी जस्तो युवाहरूले पनि राजनीति गर्नुपर्छ। देश र समाजको समग्र विकासको लागि सचेत युवाहरू राजनीतिमा आओस् भन्ने लाग्छ।

स्थानीय तहकाे निर्वाचन आउँदै छ कस्ताे व्यक्ति निर्वाचित हाेस् भन्ने चाहनुहन्छ ?

त्यही हो, समग्र विकासमा ध्यान दिने। व्यक्तिगत स्वार्थमा नलाग्ने गाउँकाे विकासमा लाग्ने खालकाे व्यक्ति।

यो अन्तर्वार्ता पढ्नेहरुलाई केही भन्न चाहनुहुन्छ ?

तपाईहरुले आफूलाई रुचि भएको क्षेत्रमा दत्तचित्त भएर लाग्नुस्। अरुले भन्ने नराम्रो कुराहरुलाई इग्नोर (वेवास्ता) गर्दै आफ्नो सपना साकार गर्नतिर लाग्नुस्। भन्न चाहन्छु।

प्रकाशित मिति: : 2022-04-12 17:17:00

प्रतिकृया दिनुहोस्