आईएमई–पे क्यान इन्फोटेक वैशाख ७ गतेदेखि भृकुटीमण्डपमा हुने

आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘आईएमई–पे क्यान इन्फोटेक २०२२’ हुने भएको छ। कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने २७औं संस्करणको क्यान इन्फोटेकको तयारी पूरा भएकाे महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए।

महासंघले आज सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ। भने, सह–प्रायोजन एससीटी स्मार्ट क्युआर युनियन–पेले गरेको छ। सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको महासंघको दाबी छ।

कोरोना भाइरस महामारीले उत्पन्न परिस्थितिहरूका कारण यसअघि दुई पटक स्थगित भएको मेला यो पटक राजधानीमा मात्रै गरिन लागिएकाे हाे। यसअघि मेला आयोजना गर्दा सबै प्रदेशहरूमा एकसाथ आयोजना गर्ने गरिएको महासंघले जानकारी दिएको छ।

क्यान मेलाले कोभिड– १९ का कारण प्रभावित भएका तथा नभएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने अपेक्षा महासंघले लिएको छ।

‘क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुन सक्ने गरी भर्चुअल प्रदर्शनीको समेत व्यवस्था गरिने छ,’ महासंघका महासचिव नारायण थापाले भने,‘भर्चुअल प्रदर्शनीका निम्ती मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ।

’ इन्फोटकको प्लाटिनम प्रायोजक वर्ल्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन्। त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन्।

प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: : 2022-04-11 18:21:00

प्रतिकृया दिनुहोस्