लाेकराज भट्टकाे ‘छाइल’ उपन्यास बजारमा

डोट्याली कवि लोकराज भट्टको पहिलो उपन्यास ‘‘छाइल’’ प्रकाशित भएको छ।

सुदूरपश्चिमको जीवनशैलीमा आधारित ‘छाइल’ सरल अनि कलात्मक भाषामा लेखिएको छ। यसमा बाबु र छोराको सम्बन्ध मात्र होइन, समग्र डोट्याली सभ्यताको छायाँ प्रतिविम्बित भएको छ।

प्रकाशकबाट पुस्तक पाएपछि उपन्यासकार भट्ट हौसिएका छन्। उनको यो कृति सुदूरपश्चिमको प्रतिनिधि उपन्यास बन्ने विश्वास गरिएको छ।

डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ–छाँया। यस उपन्यासमा सुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाँया र प्रतिछाँया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको ‘छाइल’लाई उजिल्याउने जर्मको गरिएको छ।

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुका बा निकै मायालु लाग्छन्। जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ। जितुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउने पक्का छ।

‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको संगीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्। यस उपन्यासलाई काव्याख्यान वा काव्यान्यास भने पनि हुन्छ।

बुक्स हिमालयले प्रकाशन गरेको पुस्तक शुक्रबारदेखि बजारमा पुगेको प्रकाशन संस्थाका निर्देशक पवन शाक्यले जानकारी गराएका छन्। ४ सय पचास रुपैयाँ मूल्य पर्ने पुस्तक बुक्स हिमालय डटकम मार्फत् समेत खरिद गर्न सकिने छ।

प्रकाशित मिति: : 2022-04-09 09:25:00

प्रतिकृया दिनुहोस्