जमलमा बन्न थाले सेतो मच्छिन्द्रनाथको रथ [भिडियाे]

शनि शाक्य

काठमाडौँ

काठमाडाैं उपत्यकाकाे सबैभन्दा ठूलाे जात्रा मानिन्छ, सेतो मच्छिन्द्रनाथ। 

वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वरको मूर्तिलाई रथमा राखेर जात्रा मनाइने गरिन्छ। 

धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शक्ति सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ।   

किम्बदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा काम गर्दै जाँदा एक जना मानिसले सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारे। 

उक्त मूर्तिलाई उनले घर लगेर धानको भकारीभित्र लुकाइ राखे, त्याे मूर्ति राखेपछि भकारीबाट जति धान झिक्दा पनि धानै सकिएन। त्यसैले मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरेका थिए। 

सोही परम्पराअनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमा रथ बनाउने चलन छ। 

उपत्यकामा जमल, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्।

मछिन्द्रनाथलाई हिन्दू धर्मावलम्बी ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ -पञ्चबुद्धमध्येका चौथो बुद्ध_ का रूपमा पूजा गर्ने गर्छन्।

यस बर्ष  पनि मछिन्द्रनाथको रथको बनाउन थालिसकेका छन्। चैत शुक्लपक्षको परेवा तिर्थिमा रथको पाङग्रालाई स्थापना गर्ने र अष्टमी तिथिदेखि नगर परिक्रमा गराउने  प्रचलन रहेको छ 

रथ यात्राको पहिलो दिन जमलबाट असन, दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरव, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइने गरिन्छ। 

चौथो दिन लगनटोलमा रथ घुमाउने र पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाईन्छ। र अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

प्रकाशित मिति: : 2022-04-07 18:20:00

प्रतिकृया दिनुहोस्