उर्लाबारीका मेयर फागो कार्यक्रममै वडाध्यक्षमाथि जाइलागे (भिडियोसहित)

मिलन के राउत

उर्लाबारी

उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीयमाथि जाइलागेका छन्।

जरुवापानी भन्ने ठाउँमा बुधबार विहान वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो। कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफूमाथि आक्रमण प्रयास गरेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए।

वडाध्यक्ष कार्कीकाअनुसार भवन शिलान्यास गर्न मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई कार्यक्रममा निम्त्याइएको थियो। सुरुमा उपमेयर भण्डारी र त्यसपछि मेयर फागोले क्रमैसँग मन्तब्य राखेका थिए।

कार्यक्रम अन्त्यका लागि सभापतिको तर्फबाट वडाध्यक्षले मन्तब्य राख्दै गर्दा मेयर फागो अराजक शैलीमा प्रस्तुत भएको उपमेयर भण्डारीले जनाइन्। जथाभावी बोल्दै वडाध्यक्ष कार्कीलाई हुलहुज्जत गर्ने गरी अघि बढेका फागोलाई स्थानीयले रोकेका थिए।

वडाध्यक्ष कार्कीले गत पुसमै हुनुपर्ने नगरसभा नगरेको प्रसंग कार्यक्रममा उठाए थिए। आफुले पटक–पटक आग्रह गरेको तर मेयरले कार्यव्यस्तता जनाउदै कार्यपालिका र नगरसभा गर्न अनिच्छुक रहेको भनी वडाध्यक्षले मन्तब्य राखेका थिए।

यसैक्रममा फागो ठूलो स्वरमा कराउँदै बोल्दै गरेका वडाध्यक्षलाई झम्टिएको स्थानीय रुद्र लामिछानेले जानकारी दिएका छन्। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मेयरलाई सम्झाउँदा आफुहरु माथिपनि आइलागेको अर्का स्थानीय माधव भट्टराईले बताए।

उपमेयर भण्डारीले भनिन्,'हामी मेयर मातहतका कर्मचारी होइनौं, स्वायत्त छौँ। उनको हप्किदप्कि सह्यै छैन।'

फरक दलका जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममा हुलहुज्जत गर्ने मेयरको तरिका आपत्तिजनक भएको जनाउँदै समयक्रममा फागोले त्यसको मूल्य चुकाउनुपर्ने उपमेयरले चेतावनी दिइन्।

प्रकाशित मिति: : 2022-04-06 21:18:00

प्रतिकृया दिनुहोस्