स्थानीय तह निर्वाचनमा होमियो अनेरास्ववियु,अध्यक्ष बराल भन्छिन,‘हरेक बुथमा १ सय स्वयम्‌सेवक’

तेजन खड्का

काठमाडौँ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रत्येक बुथमा १०० स्वयम्‌सेवक खटिने निर्णय गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटीको चैत १८ र १९ गते सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले ‘जनमतको सुरक्षा हाम्रो दायित्व, निष्पक्ष निर्वाचनमा हुने षड्यन्त्रविरुद्ध अनेरास्ववियुको नेतृत्व’ भन्ने उद्घोषका साथ स्वयम्‌सेवक परिचालन गर्ने निर्णय भएको बताएकी हुन्।

अध्यक्ष बरालले सांगठनिक योजना तथा अभियान सार्वजनिक गर्दै साक्षरता सुधार अभियान, मधेश जागरण र साक्षरता अभियान, सार्वजनिक शिक्षामा गुणस्तर वृद्विका लागि विद्यालयदेखि विश्वविद्यालय सुधार अभियान, प्रशिक्षण सञ्चालन अभियान, संगठन विस्तार तथा सदस्यता वितरण अभियान र प्राविधिक तथा चिकित्सा शिक्षा सुधार अभियान सञ्चालन गर्ने बताइन्।
उनले समाजवादी शिक्षा प्रणालीको आधार खडा गर्ने शैक्षिक कार्यदिशालाई टेवा पुग्ने गरी विद्यमान शिक्षा क्षेत्रमा देखिएका शैक्षिक मुद्दाहरूलाई दृढतापूर्वक समातेर तत्कालका लागि योजनाबद्ध रूपमा शैक्षिक आन्दोलनलाई उठान गर्ने निर्णय गरिएको बताइन्।

नीतिगत तथा संरचनागत पुनर्संरचनाको पक्ष अनेरास्ववियु रहेको बताउँदै अध्यक्ष बरालले आधारभूत शिक्षा मौलिक हक तथा माध्यमिक शिक्षा निःशुल्क कार्यान्वयनमा जोड दिने गरी कार्यक्रम ल्याउने उल्लेख गरिन्। 
सार्वजनिक शिक्षामा राज्यको दायित्व र निजी शिक्षाको विस्थापन अभियान चलाउने उनले बताइन्। समाजवादी शिक्षा प्रणालीको आधार तयार गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाका पक्षमा अभियान चलाउने उनले बताइन्।
स्थानीय तहको निर्वाचनमा अनेरास्ववियु

अध्यक्ष बरालका अनुसार ‘वडा र पालिकामा अखिलको जागरण अभियान, सुशासन र समृद्ध स्थानीय सरकार निर्माणका निम्ति सूर्य चिन्हमा मतदान’ भन्ने उद्घोषका साथ अनेरास्ववियुका सम्पूर्ण कमिटीहरू आ–आफ्नो कार्यक्षेत्रमा आगामी बैशाख ३० गते सम्म स्थानिय तह निर्वाचन सहयोग कमिटीको रुपमा परिचालन गर्ने निर्णय भएको छ। 
‘उपत्यका र प्रदेश राजधानीमा रहेका सम्पूर्ण अनेरास्ववियुका पंक्ति आगामी एक हप्ताभित्र आ–आफ्नो पालिकामा नेकपा एमालेलाई विजयी गराउन निर्वाचन सहयोगीका रुपमा अनिवार्य परिचालन गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

अध्यक्ष बरालले मातहतका कमिटीहरूले सार्वजनिक शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी र युवा उद्यमशीलता केन्द्रित एक नमूना स्थानीय निर्वाचन केन्द्रित घोषणापत्रको निर्माण कार्य सरोकारवाला विज्ञसँगको परामर्शमा केन्द्रीय कमिटीले निर्माण गरी मातहतका कमिटीहरूलाई पठाउने बताएकी छिन्।

 त्यसमा स्थानीय विशिष्टताका आधारमा परिमार्जन गरी प्रत्येक जिल्ला कमिटी र पालिका कमिटीले ‘म बनाउछु मेरो पालिका’ भन्ने शीर्षकमा आफ्नो घोषणा पत्र बनाउन सुझाब संकलन गर्ने बताउँदै अध्यक्ष बरालले आफ्नो भूगोल केन्द्रित नमुना घोषणापत्र निर्माण गरी पार्टी कमिटीलाई हस्तान्तरण गर्ने र पार्टीको स्थानीय घोषणापत्र निर्माणमा सहयोग गर्ने उल्लेख गरिन्।

अनेरास्ववियुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा गराउन सरकारसँग माग गरेको छ।
अनेरास्ववियुले युक्रेनी जनताका स्वतन्त्रपूर्वक बाँच्न पाउने मानव अधिकारलाई रसियाले कुण्ठित गरेको छ, तत्काल युद्धलाई रोकी शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको सामाधान गर्न यो बैठक अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ।

सरकारका प्रमुख छिमेकी मुलकको भ्रमणमा जाँदा होस वा अन्य मुलकमा जाँदा होस देशका राजनीतिक दल र प्रमुख प्रतिपक्ष दलसँग छलफल नगरी स्पष्ट नीति तथा छलफलका विषयवस्तु सार्वजनिक नगरी भारत भ्रमणमा जानु राष्ट्रिय अखण्डता तथा परराष्ट्र निति विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमाा जानु शंकास्पद रहेको अनेरास्ववियुको ठहर छ। ‘प्रोटोकल कुटनीतिक मर्यादा विपरीत भाजपाको कार्यालय जानु लम्पसारवादी भएको ठहर गर्दै कुनै पनि राष्ट्रघाति सम्झौता भए, गरेमा नेपाली जनतालाई किमार्थ स्वीकार्य हुँदैन। त्यसका निम्ति सचेत हुन अपिल गर्दछु,’ उनले भनिन्।

साथै इन्धन र ग्याँसको मूल्य बृद्धिसँगै खाद्यपदार्थ लगायत अन्य सामाग्रीको मूल्यवृद्धिले जनताको दैनिक जीवन झन कष्टकर बन्दै गइरहेकाले तत्काल इन्धनको मूल्यलाई समायोजन गरी बजार अनुगमन गर्न अनेरास्ववियुले माग गरेको छ।
कोभिड १९ को संक्रमणको कारण शैक्षिक प्रणाली तहसनहस बनेकले त्यसलाई व्यवस्थित गर्न शैक्षिक क्यालेण्डर निर्माण र कार्यान्वयन गर्न माग गर्ने निर्णय भएको अध्यक्ष बरालले बताइन्।

उनले नेपालको सबै विश्वविद्यालयमा परीक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई अनुसन्धनात्मक शिक्षालाई पूर्णरुपमा राज्यले निःशुल्क बनाउनुपर्ने बताइन्।
‘मेडिकल शिक्षा आयोगको कमजोर भूमिका, निजी मेडिकल कलेजहरूको आर्थिक–चर्को शुल्क असुलीको रवैया बढ्दो छ। यसलाई नियन्त्रण गर्न एउटा छुट्टै नियमनकारी निकाय बनाउन नेपाल सरकारसँग अनेरास्ववियु जोडदार माग गर्दछ,’ उनले भनिन्।

त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी र रोकिएको सेवा आयोगका परीक्षा लगायत विश्वविद्यालयमा हस्तक्षेप भएको बताउँदै अध्यक्ष बरालले तत्काल तालाबन्दी खोल्न आग्रह गरिन्।
बैठकको उद्घाटन समारोहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम् विद्यार्थी इन्चार्ज माधव ढुङ्गेल लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2022-04-03 20:23:00

प्रतिकृया दिनुहोस्