उर्लाबारी नगरपालिका विवादः किन असफल भयो, फागोकाे प्रस्ताव ?

मिलन के राउत

उर्लाबारी

आफूखुसी विधेयक र ऐन ल्याएको भन्दै उर्लाबारी नगरपालिकाका बहुमत कार्यपालिका सदस्य मेयरविरुद्ध खनिएका छन्।

मेयर खड्ग फागोले विभिन्न शीर्षकका ८ वटा विद्येयक र एउटा ऐन कार्यपालिका बैठकमा पारित गर्न जोडबल गरेपछि त्यसलाई अस्वीकार गरिएको हो। फागोले एकपक्षीय रुपमा प्रस्ताव ल्याएको भन्दै सदस्यहरु बाहिरिएपछि कार्यपालिका बैठक अनिर्णित बनेको छ।

नगरसभाले निर्णय गर्नुपर्ने विद्ययेक र ऐनको प्रस्ताव फागोले कार्यपालिका बैठकमा पेस गर्न लागेका थिए। जसकाकारण पालिका सदस्य र मेयरबीचको ‘लफडा’ले उर्लाबारी नगरपालिकाको ८औं नगर सभा अनिश्चित बनेको छ। ८ औ नगरसभा ढिलाइ भएकै कारण दर्जनौं नियमावली र कार्यविधि अलपत्र बनेका छन्। सबै समस्याको जड मेयर फागो नै भएको कार्यपालिका सदस्यहरुको भनाइ छ।

नगरसभाले गर्नुपर्ने भएपनि मेयर फागोले कार्यपालिकाको बैठकबाटै विभिन्न नियमावली र कार्यविधि स्वीकृत गर्न खोजेका थिए। ‘मेयरको नियतमै खोट देखियो,’ उपमेयर लक्ष्मीदेवी भण्डारीले भनिन्, ‘कसैका चुनावी एजेण्डा हाम्रो सरोकारको विषय भएन। त्यसलाई रोक्नै पथ्र्यो, रोक्यौ।’

पालिका गठन भएको चार वर्षसम्म नियमावली र कार्यविधि नचाहिएको स्थानीय निर्वाचनको मुखैमा पालिका बैठकबाट ति विषय उठाइएको भन्दै उपमेयर भण्डारीले प्रश्न गरिन्, ‘अब मेयरले एकलौटी नियमावली बनाउन सक्नुहुन्न।’ पालिकाको बैठक गत मंगलबार अपरान्ह ४ बजे सुरु भएको थियो। बैठकमा कुनैपनि निर्णय पारित नभएको उपमेयर भण्डारीको भनाइ छ।

पालिकाको बैठक सोमवारका लागि पनि डाकिएको थियो। तर तोकिएको समय भन्दा डेढ घण्टा ढिलो मेयर पालिका प्रवेश गरेपछि मंगलबारलाई बैठक सारिएको थियो। गत माघतिरै हुनुपर्ने नगरसभा मेयरकै कारण ढिलाइ भएको उपप्रमुखको आरोप छ। 

मेयरलेले मनोमानी बजेट र योजना बैठकमा पेस गरेर पालिका कोषको दोहन गर्न लागेको आरोप उपप्रमुखको छ। उनले भनिन्, ‘प्रमुखज्यूले आफू अनुकुलको निर्वाचन केन्द्रित कार्यक्रम पालिका बैठकमा पेस गर्न लाग्नु भएको थियो। हामीले त्यसलाई तत्कालका लागि रोकेका हौं।’

कानून  मस्याैदा निर्देशिका, नगर खेलकुद कार्यविधि, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा अनुमति निर्देशिका, गरिब तथा विपन्न लक्षित खानेपानी धारा जडान तथा महशुल व्यावस्थापन, नगर स्तरीय दलित समन्वय समिति गठन, एम्वुलेन्स सेवा सचालन, नगर स्तरीय शिक्षा नियमावली, सहकारी संस्था दर्ता कार्यविधि लगायत दर्जन बढि कार्यविधि फागोले ल्याएका थिए। 

नगर प्रमुख फागोले निर्वाचन लक्षित पालिकाको मौजुदा बजेटबाट ६ करोड ३७ लाख ६१ हजार ८ सय ३४ रुपैया ६७ पैसाको निर्माण आयोजना समेत सञ्चालनका लागि बैठकमा प्रस्ताव पेस गर्न लागेका थिए। 

यसअघि ७ औं नगर सभाले स्वीकृत गरेका बजेट नियमानुसार खर्च हुने उपमेयरले जानकारी दिइन्। उनका अनुसार अब स्वीकृत हुने योजना बाहेक यस अघिको नगर सभाले स्वीकृत गरेको कुनैपनि विनियोजित बजेट र योजना फ्रिज हुने छैन।

यस विषयमा बिएल नेपाली सेवाले थप पुष्टि गर्न खोज्दा मेयर फागोसँग सम्पर्क हुन सकेन। मेयरले प्रयोग गर्दैआएको ९८२०३०१८** मा पटक–पटक फोन गर्दा फागो अत्यावश्यक बैठकमा भएको उनका सहयोगीले बताएका छन्।

प्रकाशित मिति: : 2022-03-31 19:09:00

प्रतिकृया दिनुहोस्