डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।
खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यही गोल निणर्यक बन्यो। निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्यो। तर, सफल हुन सकेन। जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे। दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता थियो।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन्।