अहिले चर्चामा रोल्पाको भ्यूटावर मेरो नगरपालिकाको मेरै वडाको मेरै गाउँको जङ्गलमा अवस्थित छ। अर्थात् रोल्पा नगरपालिका वडा–३ सातदोबाटो नजिकैको अवस्थित उक्त भ्यूटावर रहेको ठाउँलाई 'पोखरालेक' भनेर चिन्छौँ।
नजिकै रहेको रमणीय 'हलहले' मैदान र 'रक गार्डेन'सँग जोडिएको हुनाले पर्यटन प्रवर्द्धनमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ।
चैत १४ मा भ्यूटावरको भव्य उद्घाटन भयो। मलाई खुसी लागेको छ। तर 'जनयुद्ध स्मृति भ्यूटावर'का नामले उद्घाटन भएकोमा मेरो एउटा मात्रै असहमति छ, त्यो हो 'जनयुद्ध स्मृति भ्यूटावर'भित्रको शब्द 'स्मृति'।
'नेपाली बृहत् शब्दकोश'का अनुसार 'स्मृति' भनेको 'स्मरण, सम्झना, हेक्का' हो। जनयुद्ध नेतृत्व गर्ने 'प्रचण्ड'ले टावर उद्घाटन गर्नु, जनयुद्धमै सहभागी मेयरसाप 'पुरण क्षेत्री'ले सो टावर निर्माण गर्नुभएको छ भने जनयुद्ध कसरी स्मृति हो? जनयुद्ध त हामीसँगै छ। जनयुद्धलाई स्मृति त हाम्रा नाति पनातिको पालामा पो गर्लान्। अर्को कुरा जनयुद्ध 'स्मृति' होइन, यसले त इतिहास निर्माण गरेको हो!
मानौ 'खेमराज स्मृति भ्यूटावर' राखेको भए तपाईंले मलाई जिवित सम्झनुहुन्थ्यो र? कतै हामीबाटै जनयुद्धलाई मार्ने काम पो भयो कि? सोचौँ। यो मेरो अबुझ विचार मात्रै हो!
एक जुग बाँच्ने मान्छेको जन्मेपछि नाम जुराउन त विधि पुर्याउनुपर्छ। यो भ्यूटावर त जुगौँजुग बाँच्नेछ अब। नाम राख्न किन साँघुरो सोच राख्ने? फराकिलो मन, फराकिलो दिलले सोचौँ। जे बित्नु बिती त गयो! जे हुनु राम्रैका लागि भयो।
हिँड्ने मान्छे लड्छ, लेडेपछि फेरि उठेर हिँड्ने क्षमता हुन्छ ऊसँग। स्याबासीलाई सहर्ष स्वीकार्नुस्, आलोचनाबाट पाठ सिकेर अगाडि बढ्नुहोस् मेयर साप।
यो भ्यूटावरको सम्भावित नाम यी हुन सक्थे–
१. जनयुद्ध भ्यूटावर [स्मृति शब्द हटाउनुपर्ने, जुन मेयरसाप र माओवादीलाई मन परेको छ]
२. रोल्पा भ्यूटावर [नगरपालिको नामका साथै जिल्लाकै नाम प्रतिनिधित्व हुने]
३. सातदोबाटो भ्यूटावर [सातदोबाटो अहिले आन्तरिक पर्यटनले चहलपहल बढ्दैछ]
४. हलहले भ्यूटावर [टावर नजिकैको रमणीय स्थल]
५. पोखरालेक भ्यूटावर [जहाँ भ्यूटावर अवस्थित छ, यो नामले स्थानीय खुसी हुने]
६..... [अरू पनि राख्न सकिन्छ]