गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह: आफूसँग भएको सीप नेपाल निर्माणमा उपयोग गर्नुस्

तेजन खड्का

काठमाडौँ

राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैरआवासीय नेपालीहरुलाई आफूसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्।

गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै भण्डारीले पर्यटन प्रवर्द्धनलगायत नेपाललाई विश्वसामु चिनाउन  गैरआवासीय नेपालीहरु सहयोग गरेको बताइन्।

उनले सन् २०१५ को भूकम्पपछि राहत र पुनर्स्थापनामा गैरआवासीय नेपाली संघले पुर्याएको योगदानको प्रशंसा गरिन्। 

कोभिड १९ पछि सहयोगको हात बढाउन प्रवासी नेपालीहरु अग्रपंक्तिमा रहेको भन्दै उनले भनिन्, 'नेपाली कला संस्कृति, भाषा र भुषा भावी पुस्तामा पनि जीवित राख्नु हुनेछ भन्ने मैले विश्वास लिएकी छु।'

समारोहमा बोल्दै गृह मन्त्री बालकृष्ण खाणले नेपालमा उद्योग व्यवसाय प्रवर्द्धन गर्ने र लगानी भित्र्याउने कार्यमा सरकारको पूर्ण समर्थन र साथ रहने बताए।

'तपाईंहरुको सम्पत्ति र व्यवसायको सुरक्षाका लागि आवश्यक कानूनी संशोधन गरिने छ। गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध छ' मन्त्री खाणले भने।

संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले देश समृद्ध भएन भए व्यक्तिगत सफलताको कुनै महत्व नहुने बताए।

उनले नेपालीहरुले नै नेपाल बनाउन सक्छन् भन्दै नेपाललाई आर्थिक र बौद्धिक रुपमा समृद्ध बनाउने क्षमता गैर आवासीय नेपालीहरुमा रहेको बताए।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता गरेको समारोहमा पूर्व अध्यक्ष जीबा लामिछाने, पूर्व संरक्षक रामप्रताप थापा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष दिवाकर गोल्छा लगायतले मन्तव्य व्यक्त गरेका थिए। 
 

प्रकाशित मिति: : 2022-03-26 20:42:00

प्रतिकृया दिनुहोस्