के समाजबाट मानवता हराएकै हो ?

Breaknlinks
Breaknlinks

मानव र दानवको जम्काभेट भएछ। मानवले भने ‘हे दानव, तिम्रो शैतानी हरकतले अनाहकमा निर्दोष मानिस मरिन्छ। तिमी महापापी र दूराचारी हौ’ भन्दै तथानाम गाली गरे छन्।

दानव मुसुमुस हाँस्दै भन्छन्,‘म प्रत्येक मानवमा वास गर्छु। यो त मानवको बुद्धि, विवेकमा भरपर्छ कि मलाई बाहिर निकाल्ने कि ननिकाल्ने। म, बाहिर निस्केपछि आफ्नो क्रुरता देखाउँछु र विवादको विजारोपन गर्छु।’

त्यसपछि, मानवले नै विवाद बढाउँदै हिंसामा परिणत गर्छन्। मानव र दानवबीच धेरै बेरसम्म एक अर्कामाथि आरोप/प्रत्यारोप जारी रह्यो। मानव र दानवमा को धेरै बढी दोषी छन् भन्ने विषयको निक्र्यौल गर्न दानव एउटा मिठाई पसलनजिक पुगेछन्।

रसभरी (मिठाई)काे भाँडोकाे बिचमा दानवले औंला डुबाएछ। औंलामा टासिँएका मिठाईको रसलाई उनले पसलकैं भित्ताको एक कुनामा टाँसिदिएछन। दानवले भने,‘हे मानव ! अब, सो भित्तामा टासिँएका रसलाई टकटकी हेरिरहनु।’

एकछिनपछि, त्यो रसको वासनाले गर्दा झिँगाहरु रसको वरपर बसेछन्। झिँगाहरुलाई बसेको देखेर माउसुलीले झिँगाको सिकार गर्न विस्तारै–विस्तारै झिँगाको नजिक पुग्न खोज्छन्। त्यहीँ बेलामा पसलभित्र मुसा उफ्रेछ। मुसालाई उफ्रेको देखेर बिरालोले मुसाको सिकार गर्न सतर्क भएछ। सोही समयमा एक व्यक्ति कुकुरसहित मिठाई किन्न पसलमा पुगेछन्। उनले पसलेलाई एक किलो रसभरी तोल्न भनेछन्। त्यतिकैमा कुकुरको नजर बिरालोमाथि परेछ। उता, बिरालोको नजर मुसामाथि, मुसाको नजर माउसुलीमाथि र माउसुलीको नजर झिँगामाथि रहेछ।

कुकुरले एक्कासि बिरालोलाई झम्टन खोजेछ। अप्रत्यासित घटनाले गर्दा पसलभित्र कुकुर, बिरालो र मुसाको भागदौंड भयो। सोही भागदौंडको क्रममा कुकुरको ठक्करले मिठाईको भाँडो भुँइमा पोखिएछ। मिठाईको भाँडो पोखेको देखेर पसलेले रिष थाम्न सकेनन्। आवेशमा आएर उनले कुकुर लिएर किन आइस् ? भन्दै सो ग्राहकको टाउकोमाथि लट्ठी बजारेछ। टाउको फुटेपछि ग्राहक लडेर बेहोस भएछ। ग्राहकलाई कुटेको देखेर सडकमा रहेका केही बटुवाहरुले पसलेले ज्यादति गरेको भन्दै पसलेको कुटपिटका साथै पसलको तोडफोड समेत गर्न थालेछन्। पसलेलाई कुट्यो भन्दै वरपरका सबै पसलेहरु मिलेर बटुवाहरुलाई कुट्न थालेछन्। एकैछिनमा हेर्दा हेर्दै पसले र बटुवाहरुबीच भयंकर कुटाकुट सुरु भएछ।

त्यहाँको वातावरण हिंसात्मक भइसकेको थियो। एक अर्कामाथि कुटपिट र पसलमा लुटपाट चलिरहेकाे थियो। सोही समयमा घटनास्थलमा प्रहरीको प्रवेश हुन्छ। तनावपूर्ण अवस्थालाई नियन्त्रणगर्नका लागि प्रहरीले सुरुमा लट्ठीचार्य गर्छन्। त्यसपछि दुवै पक्षले उल्टै प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्न थाल्छन्। स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रुग्यास र गोली चलाउँछन्। सो अवस्थालाई नियन्त्रणमा ल्याउने क्रममा दुई जनाको घटनास्थलमा मृत्यु र आधा दर्जन व्यक्ति घाइते हुन्छन्। स्थानीय प्रशासनले सो क्षेत्रमा कफ्यू जारी गर्छन्। त्यसपछि पालो आउँछ, नेताजीहरुको। प्रतिपक्षी दलका नेताहरुले आगोमा घ्यू हालेजस्तै अतिरञ्जित भाषण गरेर देशभरकै शान्तिपूर्ण वातावरणलाई तनावग्रस्त बनाउँछन्। देशभरमैं प्रहरीले ज्यादती गरेको भनेर सरकारको राजीनामाका साथै पीडितहरुलाई क्षतिपूर्ति, प्रहरीमाथि कानूनी कारबाहीको माग गर्दे नारा/जुलुस र धर्ना गर्छन्। नेताहरु यस्तै मौंकाको खोजीमा रहेको देखिन्थ्यो। सबै आ–आफ्ना राजनीतिक छवि बनाउन भरमग्दुर प्रयासमा जुटेको देखिन्थ्यो।

त्यसपछि, दानवले भने,‘हेर ! मनुवा, मैंले मात्र मिठाईको भाँडो रस भित्तामा टाँसेको थिए। त्यसपछि, बाँकी खेल तिम्रै मानवले गरेको हो। समयमै धैर्यता र विवेक नपुर्याउने अनि मानवले हामी दानवमाथि दोष थोपार्नु कहाँसम्म उचित हो ?’

यो एउटा काल्पनिक कथा हो। तर, हाम्रो मुलुकमा यस्तै किसिमका अनेकौं  घटना घटेका छन्।

उक्त कथामा पसलले मिठाईको भाँडो पोखिएपछि उतिखेर, क्षतिपूर्ति मागेको भए, समस्याको समाधान हुन्थ्यो। तर, आवेशमा आएर कुटपिट गर्दा धन/जनको क्षति भयो। होली पर्वको दिन पानी माग्ने बहानामा शिक्षकले छात्राकै घरमा अभद्र व्यवहार गरेको आरोप छ। उतिखेर, नै प्रहरीमा उजुरी दिनुपर्ने थियो। ती विषय विद्यालयमा पुगेपछि वातावरण तनावपूर्ण बनेको हो। अराजक अवस्था सृजना हुँदा अनाहकमा प्रहरी महिला उर्मिला श्रेष्ठको दुःखद निधन भयो। उहाँको निर्मम हत्या मानवभित्र लुकेको दानव प्रवृतिकै कारणले भएको स्पष्ट हुन्छ।

मानिसमा संवेदना हराइसकेको अवस्था छ। अहिले मानिसको सोच आत्मकेन्द्रित भइसकेको छ। उहिले एक अर्काको सुख दुःखमा सरिक हुन्थे। अचेल, दुःखमा रमाउन थालेका छन्। मान्छे दुर्घटनामा परी छटपटाइरहेका हुन्छन्। उनको उद्धार गर्नुको सट्टा मानिसहरु मोवाइलबाट भिडियो बनाउनेमा तल्लिन रहन्छन्। अस्पतालमा विरामीको मृत्यु भएपछि अराजक तत्वले कानुन आफ्नै हात लिएर तोडफोड गर्छन्।

मुलुकमा हिंंसा र बलात्कारको घटना हुन नदिनका लागि अब कडा कानुनको आवश्यकता देखिन थालिएको छ। उर्मिला श्रेष्ठको हत्याले एउटा गम्भीर प्रश्न खडा गरेको छ। हाम्रो समाज कतातिर जाँदैछ ? अराजक गतिविधि गर्नेहरु रक्सी खाएका थिए, भन्छन्। रक्सी खाएर जथाभावी आक्रमण गर्न सक्छन्। तर, उर्मिला श्रेष्ठको घाटीमैं हतियारले आक्रमण गरेको देखिन्छ। यसो हेर्दा, अराजक अवस्था सृजना गर्ने उद्देश्य लुकेको प्रष्ट हुन्छ।

मुलुकको संविधानअनुसार शान्तिपूर्ण ढङ्गले विरोधका कार्यक्रम गर्न छुट छ। अहिले पनि दलहरुले बन्दको क्रममा अवहेलना गरेको भनेर गाडीमा आगजनी गर्छन्। ट्याक्सी जलाइन्छ। ऋृण लिएर ट्याक्सी किनेको हुन्छ। त्यो ट्याक्सीसँगै उनको परिवारको रोजीरोटी र भविष्य पनि जल्छन्। नेता भन्छन, जनताको लागि बन्द गरिएको हो ? क्या बात ? यही हो, विकृति। यस्तै विकृत मानसिकता क्रमिक रुपमा बढ्दै समाजमा अनैतिक कार्य गर्नमा प्रोत्साहित गर्छन्। धेरै ढिलो भयो, अब पनि सचेत हुनुपर्छ।

के बलात्कारीलाई फासी दिनुपर्ने ?

फागुन २७ गते मोरङकै सुन्दरहरैचा– ७ मा २१ महिनाकी बालिकाको बलात्कार गरी हत्या गर्‍यो। सो घटनाको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। यस्ता क्रुर अमानवीय घटनामा संलग्न हुनेहरुलाई फासीको सजाय दिनुपर्ने आवाज पनि उठ्न थालेको छ।

दिल्लीमा सन् २०१२ मा भएको निर्भयाको बलात्कारको घटनाले सम्पूर्ण भारत नै तरङ्गित बनेको थियो। जनताको अत्यधिक दवावपछि बलात्कारीलाई फासीको सजायको लागि कानुन बनाउन भारत सरकार बाध्य भए। त्यसपछि निर्भयाको बलात्कार र हत्या गर्ने चार युवालाई सन् २०२० को मार्च २० तारेखमा फासी दिइयो। सो कानुनले गर्दा भारतमा बलात्कारको घटनामा कमी आएको छ। तर, पूर्ण रुपले रोकथाम हुन सकेको छैन्। नेपालमा पनि बलात्कारीलाई फासीको सजाय दिने कानुन बनेपछि डरको वातावरण सृजना हुने र बलात्कारको घटना नियन्त्रण हुने विश्वास गरिएको छ।

महिलाको सशक्तिकरण हुनुपर्छ। तर, बालिकालाई संरक्षण कसरी गर्ने ? कानुनले मात्र सम्भव छ, जस्तो लाग्दैन्। यसप्रकारका जघन्य अपराधलाई रोक्नमा आमाबावुको पहिलो दायित्व हो। सर्वप्रथम, आफ्ना छोरालाई संस्कारी बनाउनुपर्ने हो। समाजमा के देखिएको छ भने छोरीको सधैं ख्याल राख्ने। तर, कतिपय अभिभावकहरु छोरा के गर्दैछ, कस्ता–कस्ता साथीहरु छन्, भनेर सचेत नरहेको देखिन्छ। छोराको पनि गतिविधिमा नजर नराख्दा कूलतमा फस्नुका साथै कूकृत्यका घटनामा संलग्न हुन्छन्। समाज पनि आफ्ना दायित्व बिर्सेको देखिन्छ। 

उहिले गाउँघरमा समाजका अगुवाले उश्रृंखल गतिविधिको नियन्त्रण गर्थे। मानिसमा पनि समाजले के भन्छ ? गलत कार्य गरेमा भोलि कसरी अनुहार देखाउने भन्ने लाज हुन्थ्यो। अचेल, लाज र डर हराएछ। कसैले उचित सुझाव पनि चाहदैनन्। अनाहकमा अर्काको घरको विषयमा किन पर्नु भनेर पन्छिन खोज्छन्। त्यस कारणले छाडापन पनि बढेको देखिन्छ। समाज जागरुक हुनुपर्छ नत्र उर्मिलाजस्ता हत्याको घटना र बालिकाको बलात्कारलगायतका घटनाहरु पटक–पटक दोहरिन सक्छन्।

कुनै पनि मुलुकमा बालबालिको बलात्कारको सजाय एकनासको छैन्। सन् २०१६ मा हक–सेन्टर फोर चाइल्ड राइटले दुनियाँ भरमा बालिकाकासाथ यौंन र बलात्कारको घटनामा अलग–अलग किसिमका सजायको प्रावधान उल्लेख गरेको छ। अमेरिकामा घटनाको आधारमा बढीमा ३० वर्षको सजायको व्यवस्था छ। तर, क्यालिफोर्निया, फ्लाेरिडा, जर्जिया, लोवा, लुसियाना, मोनटाना, ओरगाँन, टैक्सास र विस्काँन्सिन राज्यहरुमा बलात्कारीमाथि केमिकल र सर्जिकल तरिकाले नपुंसक बनाउने प्रावधान पनि विकल्पको रुपमा छ।

बेलायत, फ्रान्स, दक्षिण अफ्रिका र रुसमा बढीमा २० वर्ष, मलेसियामा ३० र फिलिपीन्समा बढीमा ४० बर्षको सजायको प्रावधान गरिएको छ। एमनेस्टी इन्टरनेशनलको २०१३ को रिपोर्टको आधारमा आठ देशमा बालिकाको बलात्कारमा फासीको सजायको व्यवस्था रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। चीन, नाइजेरिया,कङ्गो, पाकिस्तान, ईरान, सउदी अरब, यमन र सूडान हुन्। अब भारत पनि सो सूचीमा समावेश भएको छ।

‘अस्तु’ !

प्रकाशित मिति: : 2022-03-26 21:14:00

प्रतिकृया दिनुहोस्