संसारमै अग्लो सगरमाथा, आस्था–केन्द्र पशुपतिनाथ, स्वयम्भुनाथ, मुक्तिनाथ, छायानाथ आदि–आदि मन्दिरहरू भएको हाम्रो देश नेपाल। राजा जनक, भृकुटी, अरनिको जन्मेकाे हाम्रो देश। पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर ती अग्ला हिमश्रृङ्खलादेखि दक्षिणका समथर भू–भाग सँगै १,४७,५१६ वर्गकिलोमिटरमा फैलिएको एक सुन्दर शान्त हाम्रो देश।
भौगोलिक, प्राकृतिक, जैविक, धार्मिक, भाषिक, सांस्कृतिक एवंम् ऐतिहासिक विविधता बोकेको हाम्रो देश। ऋषिमुनिहरूको तपोभूमि, वीर गोर्खालीको जन्मभूमि अनि प्रकृतिकै राजधानी हो हाम्रो देश नेपाल।
भगवान् श्रीकृष्ण, शिव, विष्णु, राम, गणेश, बुद्ध र सीताको जीवनसँगै प्रत्यक्ष सम्बन्ध राखेको हाम्रो देश। वेदव्यास र बाल्मिकीको ज्ञान राशीले पावन बनेको ३३ कोटी देवता, १२ भाई मष्ट अनि ९ दुर्गा भवानीले दशै दिशामा पहरा दिएको मेरो देश नेपाल। विश्वमानचित्र पल्टाएर हेर्दा छुट्टै पहिचान बोकेको झण्डा भएको हाम्रो देश। दक्षिण एसियाकै पुरानो हाम्रो देश। झकिझकाउ लालीगुराँस अनि एक रातको लागि मात्रै भए पनि गाउँ–सहर भरि सुगन्ध छर्दै पारिजात फुल्ने हाम्रो देश।
प्राकृतिक हिसाबले निकै धनी, पर्यटन बोलाइरहेको अनि सगरमाथालाई शीरमा राखी शान्तिका अग्रदूत गौतम बुद्धले जन्म लिएको हाम्रो देश। कोइलीले चरीले वसन्त ऋतुकाे आगमनसँगै कुहुकुहु... गरी गीत गाउँदा बनैभरी मयुर नाच्ने, गाउँ–घरकै रोधीमा आनन्दका साथ झ्याउरे, टप्पा, रोइला, मारुनी, देउडा ,ठाडि अनि दोहोरी भाकामा रमाउने हाम्रो देश। ढिडो–सिस्नु खाएर भएपनि स्याउ, ओखर, सुन्तला, आँप अनि विभिन्न जडिबुटी बेचेर विकासको बाटोतिर लम्की रहेको हाम्रो देश।
कलकल बग्ने खोला–नाला अनि झरझर झर्ने झरनाको पानी, अग्ला–अग्ला हिमाललाई स्पर्श गर्दै तराइका सुनाैला हरियाली फाँटसम्मै सलल... पानी बग्ने हाम्रो देश। जतिसुकै दुःख, कष्ट परेपनि मुसुक्क हाँस्ने विश्वकै अग्ला हिमाल अनि आफ्नै सुख, दु:ख पौरखमा रमाइरहेको हाम्रो देश नेपाल। आफ्नो देश बचाउन पानी पनि नखाई पुर्खाहरूले लडेको, सुन्दर–शान्त हरियाली ठुल्ठूला पाटन अनि गाई चराउने ती रानी र मधुबन भएको देवी–देवताले बास गरेको एकअर्काको धर्मलाई सम्मान गर्ने र एकअर्काको विश्वासले नै अडेको स्वर्गको एक टुक्रा हो हाम्रो देश।
पाटी–पौवा, मठ-मन्दिर, हिमाल, पहाड, तराई र उकाली–ओराली
उकाली–ओराली, भञ्ज्याङ, चौतारी, पाखा–पखेरा अनि सुन्दरताले विश्वभरि नै प्रख्यात भएको हाम्रो देश नेपाल। दक्षिणकाे तराईतिर झरेर एक किलो आँप किनेर खाँदै–खाँदै उकालो चढ्दा हामी सुन्तला फल्ने पहाडमा पुग्छौं, एक किलो सुन्तला टिपेर खाइ सक्दा–नसक्दै स्याउ फल्ने हिमालमा पुग्छौं। हिमालको भू–बनोट यस्तो सुन्दर, शान्त लाग्छ कि जहाँ आगो चाहिँ हातले अनि पानी चाहिँ चिम्टाले समात्न मन लाग्ने हाम्रो देश।
मेरो देश विश्वमानचित्रमा हेर्दा सानो छ। तर लाग्छ सानै चिज सबैभन्दा बढी प्रिय हुन्छ। लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ– शरीरभन्दा टाउको सानो, टाउको भन्दा आँखा सानो, आँखा भन्दा नानी सानो त्यसैले त दुनियाँ देखेका छौं।
भातखाने थाल भन्दा पूजागर्ने थाली मनपर्छ। मकै बोक्ने डोको भन्दा डटपेन राख्ने डोको नै मन पर्छ। पंतिकार कक्षामा पढ्दै गर्दा आदरणीय गुरु सरोज घिमिरे सरले भन्नुभएको कुराको याद आयो– एउटा विद्यार्थीले सरलाई प्रश्न गर्यो रे! सर प्रकृतिले सबै कुरा दिएपनि हामीलाई समुन्द्र दिएन नि ? सरोज घिमिरे सरले भन्नुभएछ– हरेक मान्छेलाई विदेशी आफन्तले पठाइदिएको उपहार सुत्नेबेलामा खाटकाे छेउपट्टी होइन भित्ता पट्टि राख्छन् किनकि उनिहरू चाहान्छन् जोखिमबाट मुक्त रहोस्। त्यसैले प्रकृतिले बनाएको सुन्दर चिज एकातिर बनायो अनि जाबो समुन्द्रलाई चाहिँ अर्कोतिर बनायो। हो! पक्कै पनि समुन्द्र नभएर के नै भयो आखिर स्वर्गकी अप्सरा रारा, शे-फोक्सुण्डो, बुलबुले, फेवा, बेगनास, रुपा, तिलिचो, गोसाइँकुण्ड, च्छोरोल्पा रानीपोखरी आदि ताल–तलैयाहरू अनि गण्डकी, कोशी, नारायणी, कर्णाली ,मेची, महाकाली, बागमती, त्रिशुली, भेरी, बबई, तिला नदी भएको हाम्रो देश।
दशै, तिहार, छठ, होली, शिवरात्रि, नयाँवर्ष, लोसार, तिज विभिन्न चाडपर्व र जात्राहरू मनाउने हाम्रो देश। विश्वकै अग्लो स्थानमा लहलह खेतका आली भरि मार्सी धान फलाउने हाम्रो देश। मनमा बुद्ध शीरमा सगरमाथा र नसा–नसामा रगत भरि वीर पुर्खाको गाथा बोकेको अनि विश्वभरि नै शान्तिको प्रतिक र सन्देश छरिरहेको हाम्रो देश। बिहान उठ्ने बित्तिकै मुसुक्क मुस्कुराइरहेको हिमाल देखिने अनि आफ्ना माता–पितालाई ईश्वर मान्ने हाम्रो देश। त्यसैले त मलाई मेरो देश प्राण भन्दा प्यारो लाग्छ।
जय देश, जय देश – जय नेपाल