सूर्यमुखी फूलखेतीमा टिकटक बनाउनेको भीड, दैनिक ५ हजार आम्दानी (भिडियोसहित)

शान्त ठाउँ। होहल्ला सुनिदैन। कुनै–कुनै समयमा ठूला गाडीले बजाएको हर्न सुनिन्छ। कहीँ-कहीँ घरहरु पनि देखिन्छ। त्यही पनि टाढा। साथमा गहरा–गहरा देखिने खेतको फाँट (ठूलो समथर ठाउँ) छ। त्यही फाँटमा जताततै देखिन्छ गहुँ, तोरी, मसुरो लगायतका अन्नवाली।

खेतको फाँटको एक कुनामा छ, सूर्यमुखी तोरीको फूलखेती पनि। सूर्यमुखी फूल थोरै देखिन्छ। तर, पहेँलो अकार्षक देखिन्छ। यही अकर्षणले गर्दा अहिले सूर्यमुखी फूल हेर्न आउने आन्तरिक पर्यटकको भीड देखिन्छ। 

घोराही उपमहानगरपालिका– ८ स्यानी गाउँमा रहेको यस फूलखेती हेर्न आउने र टिकटक बनाउन आउने पर्यटकको भीड लाग्ने गरेको छ। घोराही– १० नारायणपुरको झारबैरा पेट्रोल पम्पदेखि दक्षिणतर्फ करिब ३ किलोमिटरभित्र पुगेपछि यस फूलखेतीमा पुगिन्छ।

भित्रि सडकले छोएको ७ कट्ठा खेतमा फूलखेती छ। फूल फूल्न थालेसँगै फोटो खिचाउने, टिकटक बनाउने तथा अवलोकन गर्ने पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ।

घोराही, तुलसीपुर, लमही लगायतका ठाउँबाट दैनिक मानिसहरु फूल अवलोकन गर्न आउने गरेका छन्। ‘यो हेर्न दैनिक धेरै आउनुहुन्छ। हामीलाई फुर्सद पनि छैन,’ फूलखेती गरेका स्यानी गाउँ निवासी भीमबहादुर चौधरीले भने,‘घोराही, तुलसीपुर, लमहीबाट मात्रै होइन पश्चिम हापुरेबाट समेत आउनुहुन्छ।’

नसोचैकै भयो: कृषक चौधरी 

फूलखेती गरेका चौधरी पर्यटकको घुइँचो लागेको देखेर खुसीसँगै अचम्मित छन्। तेल धेरै उत्पादन सुनेपछि सूर्यमुखी फूलखेती गरेका उनले दैनिक सयौँको संख्यामा आउने पर्यटकलाई देखेर दंग पर्छन्।

‘सोच एउटा थियो। यहाँ अर्को भइदियो। सुरु–सुरुमा एकदुई जना आउनुभयो। अहिले त यति धेरै आउनुहुन्छ, यहाँ व्यवस्थापन गर्न धौ हुन्छ,’ कृषक चौधरीले भने।

उनले पर्यटकको घुइँचो लाग्न थालेपछि फूलखेतीमा फोटो खिच्न तथा टिकटक बनाउनेका लागि शूल्क निर्धारण समेत गरेका छन्। फूलमा गएर नोक्सोन गर्न थालेपछि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धाण गरेको चौधरीले बताए।

५० रुपैयाँ शुल्क निर्धारण गरेपछि आम्दानी पनि राम्रै भएको उनले बताए। टिकट बेचेर दैनिक ५ हजार बढी आम्दानी गर्दै आएका उनले कुनै दिनमा १५ हजार बढी आम्दानीसमेत हुने गरेको बताए।

अहिले फूल हेर्न आउने पर्यटकको व्यवस्थापन गर्नका लागि चौधरीसहित दुई जना खटिने गरेका छन्। ‘यहाँ त दुई जनालाई फुर्सद छैन,’ उनले भने,  ‘एक जनाले गाडीको व्यवस्थापन गर्नुपर्छ। एक जनाले शुल्क उठाउने र फूल हेर्नुपर्छ।’

पछिल्लो १५ दिनमा फूलको अवलोकन गर्ने पर्यटकको अत्याधिक भीड रहेको चौधरीको भनाइ छ। ‘सुरुमा एक दुई जना आउने समयमा शुल्क थिएन,’ उनले भने, ‘यहाँ हेर्न आउनेले नै शुल्क लिने सल्लाह दिएपछि लिन थालेको हुँ।’

अब फूल झर्न थालेको भन्दै केही दिनमा सबै सकिने उनले बताए। उनले अबको २ हप्ता फूल रहने र त्यहिसम्म पर्यटक आउने अनुमान व्यक्त गरे। चौधरीले एक हजार रुपैयाँको बीउ किनेर ७ कट्ठा खेतमा सूर्यमुखी फूलखेती गरेका हुन्।

अब बन्ने छ टिकटक बनाउनकै लागि पार्क

कृषक चौधरीले अर्को वर्षबाट टिकटक बनाउने पार्कसहित सूर्यमुखी फूलखेती गर्ने योजना बनाएको बताए।

यस वर्ष तेलका लागि सूर्यमुखी फूलखेती गरेका उनले पर्यटकको रोजाईमा फूल परेपछि पार्क बनाउने योजना बनाएको जानकारी दिए। अगाडि भने,‘अर्को वर्ष अलि व्यवस्थित बनाउँछु। टिकटक पार्कसहित, तारबार गरेर अझ आकर्षक देखिन र बस्न मिल्ने खालको बनाउछु।’

हाल फोटो फूलको अवलोकन गर्न आउनेले फूल छोइदिने, भाँचिदिने समस्या देखिएकाले अर्को वर्षबाट यस्तो समस्या नहुन नयाँ योजना बनाएको चौधरीको भनाइ छ।

पर्यटक पनि दङ्ग

सूर्यमुखी फूल हेर्न आएकी एञ्जिला पुरीले टिकटकमा देखेर आएको भन्दै नयाँ लागेको बताइन। उनले फूलमा आउने भमरा, माहुरीले समेत आफ्नो मन लोभ्याएको बताइन्।

भनिन्,‘फुल खेतीको अवलोकन गर्दा मन निकै खुशी भयो। राम्रो, शान्त र फूलमय वातावरणमा छ। मलाई मज्जा लागेको अर्काे कुरा फूलमा आउने भमरा हेर्न र त्यसको भिडियो खिच्न पनि हो।’

यस्तै तुलसीपुर– ६ बाट फूल अवलोकन गर्न पुगेकी राधा अधिकारीले ५० रुपैयाँ तिरे पनि कुनै पछुतो नलाग्ने र मन  खुसी हुने खालको मनोरम वातावरण भएको बताइन।

त्यस्तै रोल्पाबाट फूल हेर्न पुगेका सूर्य विकले यसलाई आगामी दिनमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थप व्यवस्थित गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2022-03-24 21:35:00

प्रतिकृया दिनुहोस्