होली अर्थात् रङहरूको पर्व। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व परम्परागतरुपमा विभिन्न रंग खेली मनाउने परम्परा छ।
कला र संस्कृतिले भरिपूर्ण हाम्रो देश नेपालमा मनाउने विभिन्न चाडहरूमध्ये होली पनि एक हो। होलीले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ।
हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमामा होली मनाइन्छ। होली खासगरी नेपाल, भारतलगायत देशमा रहेका हिन्दूहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।
रङहरूको पर्व होलीमा एक अर्कामा सद्भाव, उत्साह र हर्षोल्लासका साथ रंग दलेर मनाउने गरिन्छ। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्।
होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ। नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ।
होली किन मनाइन्छ ?
वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ। विष्णुपुराणमा उल्लेख गरिएअनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो। होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाइने गर्छन्।
हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो। तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे। छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो।
ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो। उल्टै आगोमा होलिकानै जलेर भष्म भइन्। असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन। असत्यमाथि सत्यको विजय भयो। त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
होलीमा बढ्दो विकृति
पछिल्लो समय होली पर्व विकृतिका रुपमा देखा परेको छ। होलीका नाममा विभिन्न खालका विकृति विसंगतिहरु भित्रिदै गएको छ। जथाभाबी लोला हान्ने, रङ छ्यापी दिने र नसालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रुपमा यसलाई प्रयोग गर्नेहरूको जमात बढ्दो छ।
होलीमा गाजाभाङ र जाड–रक्सी खाएर होहल्ला गर्नु र अरुलाई दुःख दिनु गलत कार्य हो।
यतिबेलाको समय सङ्क्रमणकालीन छ। यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने कामहरू बढी हुने गर्दछन्।
यस्ता पर्वमा देखिएका यस्ता विकृतिलाई अन्त्य गर्न समाज अग्रसर हुनुपर्ने आवश्यकता देखिएको छ।
तसर्थः समाजमा मिलेर बसौँ। वर्षको एकदिन खुलेर हर्ष मनाऔं। पीर चिन्ता तनाव भुलौँ। एक आपसमा मिलेर होलीमा रमाऔँ।