द्विपक्षीय बैठकमा सहभागी हुन श्रममन्त्री युएईमा

नेपाल-युएई संयुक्त बैठकमा सहभागी हुन श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज साँझ युएई अवतरण हुँदैछ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का सामेल छन्।

मन्त्री श्रेष्ठले युएई भ्रमणका क्रममा रोजगारीका लागि पर्यटन भिसामा आई अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि समेत पहल गर्ने बताइएको छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन्।

मंगलबार नै नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

नेपाल-युएई संयुक्त समिति वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन्। नेपाल-युएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ।

बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन्।

मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधबार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ। सोही दिन उनले दुवईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नेछन्।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ।

भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2022-03-14 18:30:00

प्रतिकृया दिनुहोस्