केही समयका लागि संघीय राजधानी काठमाडौंतिर बरालिँदैछु। हजारौं अञ्जान मानवमूर्तिहरू गल्ली गल्लीमा अनयासै उद्देश्यहीन कुदिरहेका छन्, जस्तो अनुभूति हुन्छ। चोकचोकका चिया पसलमा मात्राविहीन चियाका चुस्कीले पेट पोल्दै गरेकाहरूबीच म पनि एदाकदा चियाको चुस्कीका साथ राजनीतिक गफ फलाक्ने मध्यकी एककी छु। अहिले चिया गफमा केबल ‘त्यो राम्रो.. त्यसले टिकट पाए जित्ने.. त्यो हार्ने.. त्यो बदमास... त्यो पैसा खाने.. त्यो छुचो..त्यो दलाल, त्यो भ्रष्टाचारी’ जस्ता शब्दहरू मात्र प्रयोग भइरहेका देखिन्छन्। मानौं अर्काको कुरा काट्नु भनेको उनीहरूकाे जागिर हो।
अहिले लाग्छ प्रत्येक नेपालीलाई राजनीतिको रंग चढेको छ। सबै जनताहरू नेता भइसकेका छन्। यहाँ नेताको पछाडि लाग्ने कारिन्दा मात्र बाँकी छन्, जस्तो। यस्तो सामाजिक संरचना देख्दा नेपालका चिया गफ चिनियाँ कम्पनीका उत्पदित बस्तु, उत्पादन गर्ने कम्पनी वा अमेरिकी अश्त्र कारखानाभन्दा बढी फाइदामुलक भए जस्ता पो देखिन्छन्। राजनीतिक उद्देश्य प्राप्तिका लागि नेताहरूद्वारा गरिएका हावा गफहरू निकै गिजोलिएको जस्तो लाग्न थालेको छ। राजधानीमा जीवनको एक महिना मेरा लागि निकै लामो समय हो। एक महिनाको दौरान केही महत्वपूर्ण सिकाइहरू भएका छन्। केही महत्वका भोगाइहरू भएका छन्। ती सिकाइ र भोगाइलाई मैले जीवनको एक अंश बनाएकी छु।
म धेरै कुरामा अनविज्ञ छु। विकासवादको सिद्धान्त र समाजवादको आधार संरचनाको सिकाइको प्रारम्भिक कक्षामा छु। समाज र विकासलाई हेर्ने दृष्टिकोणका हिसाबले म विद्यालयस्तरकी विद्यार्थी हुँ भन्दा असहज महसुस पटक्कै हुँदैन। राजधानीका सड्कमा हिँड्दै गरेका भीडहरू देख्दा देशको अर्थतन्त्रको न्यायोचित वितरणमा ती घुमन्तेहरूको भाग लाग्ला नलाग्ला भन्ने कौतुहलतामा छु। गुणस्तरीय जीवन निर्वाह गर्दै गरेका चिल्ला कारमा हुँइकिरहेका सुकिला टाइसुटधारी मनुवाहरू देख्दा अर्थव्यस्थाको सारथी तिनै हुन्, जसले मेरा गाउँका दाजुभाइलाई छाक टार्न मजदुरीको पैसा रोकेका छन्, जस्तो लाग्छ। न्युरोडको फुटपाथमा माइक समाती गीतद्वारा जीवनको भीक मागिरहेका दुखी दाजुभाइ दिदीबहिनीको दर्द देख्दा अस्पातालको बेडमा पैसाको सिरानी हालेको बोलवालाले धकेलेर सड्कमा पुर्याएको जस्तो अनुभव गर्छु।
यस्तो विषम, कहालिलाग्दो परिस्थितिबीच म पनि गणतन्त्र आएको चौध वर्षपछि नेपाली समाज उत्थानका लागि मुठ्ठी कसेर राजनीतिमा हामफाल्न लालायित नारी मध्येकी एक भएकी छु। यो मेरो इमान्दारिता हो वा मुर्खपन मलाई नै थाहा छैन। तर, एउटा कुरा मलाई प्रष्ट थाहा छ, त्यो के भने, जनताको मुक्तिको लागि, जनताको जीवनस्तर उकास्नका लागि शासन व्यवस्था आएको चौध वर्ष भयो। कति मुक्ति भयो र कतिको विकास भयो भन्ने अङ्कगणित मैले अझैँ बुझेको छैन। म सोच्दैछु यो दुनियाँमा राजनीतिक प्रणालीमा यसरी व्यक्तिगत स्वार्थले मात्रै जरा फिजाइरहने हो भने एक दिन गरीब निमुखाहरूले फुटपाथमा गीत गाउँदै जीवनको भीक माग्नु पर्नेछ।
अहिले राजनीतिक व्यापार फस्टाएको छ। राजनीतिलाई पेशागत मान्यतामा ढालेर तिरस्कृत बनाउन खोजिएको छ। यहाँ कृष्णप्रसाद भट्टराई जस्ता कमण्डलु बोकी हिँड्ने शन्त नेताको आदर्श र त्याग बिर्सिसके। गणेशमान सिंह, शुशील कोईरालाजस्ता आदर्श व्यक्तित्वको अभाव सधैं खड्किरहेको महसुस हुन्छ। यद्यपि, हाल पनि आदर्श इमान्दारीको कसीमा उभिएका नेताहरू छैनन्, भन्न खोजेको पक्कै होइन। कैयौं आदर्शवान व्यक्तित्व यही समाजमा छन्। तिनले आफ्नो भूमिका निर्वाह गर्न पाइरहेका छैनन्। सक्षम महिलाहरूले अवसर पाइरहेका छैनन्।
मेरो पृष्ठभूमि नागबेली जस्तै जेलिएको छ। भारतको मुम्बईमा जन्म भएर डोटी जिल्ला कफल्लेकी गाउँमा बालापनको सास्ती भोगेको पल मानसपटलमा कायम छ। माध्यमिक कक्षासम्मको भोगाई माईतिघरको ढुङ्गा माटो पानी जंगल र गाई बाख्रासंगै अगाडि बढेका दिनहरू सम्झिँदा अहिले केही त पक्कै भएको छ, जस्तो नलाग्ने हैन्। तथापि जुन गतिमा समाज परिवर्तन हुनुपर्ने थियो त्यो अझैं भइसकेको देखिदैन। महिलाका घरभित्र र घरबाहिरका दुःख पीडा उस्तै छन्। गरीब अनाथ र असहायहरूका व्यथा उस्तै छन्। यी सरा पक्षहरू केलाएर केही गर्नका लागि पनि राजनीतिमा हाम नफाली सम्भव देखिएन।
विवाह पश्चातको जीवनमा नाम, थर र गोत्रसमेत परिवर्तन हुने संस्कारलाई सहृदय स्वीकार गर्दै नवदुर्गा गाउँपालिका वडा न. ४ सुवाकोट मेरो कर्मथलो बन्न पुग्यो। जीवनको अन्तिम साससम्म यसै ठाउँका लागि केही गरौं भन्ने कुराले सदा लखेटिरह्यो। सास रहुन्जेल सुवाकोटको एक परिवर्तनकारी नारीको भूमिकामा आफूलाई उभ्याउन भित्रैदेखि इच्छा पलाइरहन्छ। एम.ए.मा पढेको समाजशाश्त्रको सैद्घान्तिक पाटोलाई ब्यवहारमा उतार्ने परीक्षणको घडी आएको हो कि जस्तो लाग्छ। अहिलेसम्म त विद्यार्थीहरूलाई कखरा सिकाउँदै जीवनका पन्ध्र वर्ष बिताएकी छु।
मानव संस्कारहरू परिवर्तनशील हुँदा हुँदै पनि आदर्श र चरित्र मेरा लागि परिवर्तनशील हुन सक्दैन। यसै नियम र समयको चाक्लाबन्दीमा आफ्ना रहरहरू लुकाउन सक्षम छु। मैले मेरा माईतिघरको समाजलाई जति भोगेकोछु, स्पन्दन गरेकोछु, ढुङ्गामाटो सुम्सुम्याएकोछु त्यति कर्मभूमिको माटो अंगाल्न पाएको छैन्। यहाँको भूगोल, नदीनाला र भीरपाखालाई अनुभूत गर्न पाएको छैन। यसलाई मैले सकारात्मक रुपमै ग्रहण गरेको छु। किनकी अब म मेरो सभ्यताको सिकाई हुने सामाजिक स्कुलमा पाइला टेक्ने दिन आएका छन्। म त्यही मार्गमा जाँदै छु जहाँ हामी नारीहरू के नै गर्न सक्छौं र भन्ने मनोविज्ञान बोकेका कयौं आमा, दिदी बहिनी छन्। हामीलाई कसले हेर्छ र ? भन्ने सोच पालेका पहुँचविहीन मनहरू छन्। ती सबैको बीचमा तिनकै छोरी बहिनी,दिदी, भाउजू बनेर उभिनु छ। तिनका मामर्का सुन्नु छ। थोरै भए पनि तिनका चर्किएका घाउमा मलम लगाउन सिक्नु छ। आदर्श समाजको गोरेटो निर्माण गर्ने अभ्यासमा तल्लिन हुनु छ। भोलि त मरेर जानु छदैछ। मर्नु अघि केही सिक्नु छ। केही सिकाउनु छ।
विषय प्रसंग कस्तो होला थाहा छैन। कथाले कस्तो रुप लिन्छ त्यो पनि थाहा छैन्। सुरुमै धेरै कुरा गर्नु पनि त्यति उचित न होला। फेरि झुटको खेती बनेको पछिल्लो समयको राजनीतिक गोरेटोमा म यसो गर्छु उसो गर्छु भन्नुको कुनै अर्थ पनि त छैन्। मात्र काम गरेर देखाउनु छ। उसो त यो जीवन एक रंगमञ्च न हो। जहाँ हेरेक मान्छेले अभिनय गरिरहेकै हून्छ। त्यो अभिनयमा इमानदारिता कति छ, परोपकारिता कति छ, परिवर्तनकारी भूमिका कस्तो छ त्यही न हो ठूलो कुरा। जुन कुरामा आफूलाई उभ्याउन चाहान्छु। आज जनताको अदालतमा माझिनुपूर्व मेरो शरीरमा प्राण भर्ने भगवान् भगवान् उनै माता पिताप्रति नतमस्तकछु। समाज र सामाजिक जनजीवनसँग म निक्कै नै अंकमालित छु। तर, भौगोलिक हिसाबले ती भीरपाखामा म अनभिज्ञ हुनसक्छु। मेरो अनभिज्ञता भनेको नयाँ विषय सिकाइको प्रारम्भिक विद्यालय हुनेछ भन्नेमा म विश्वस्त छु।
आज हाम्रो तात्कालीन समाज र समाजका मानिसका इच्छा र चाहानाहरू धेरै छन्। म के कुरामा प्रष्ट छैन भने ती दाजुभाइ दिदीबहिनीहरूले राख्ने मागहरू सबैका साझा हुन्छन् वा केही प्रतिनिधि पात्रका मात्र। सुविधाको कडीमा उभ्याउँदा साँच्चै निमुखाहरूले सुविधा पाउँछन् ? वा तिनका नाममा अरुले नै रकम कुम्याउँछन् ? स्थानीय भूगोल र आवश्यकताका आधारमा बनाइएका योजनाहरूले जनताको जनजीविकाको स्वरुपमाथि उठाउन मद्दत गर्छ वा गर्दैन ?
सामान्य नागरिकले प्राप्त गर्ने सेवा सुविधा ती नागरिकले नै पाउनुपर्छ। तर, सेवाका विषयमा सुसूचित छन् कि छैनन् यो पनि पछिल्लो समयको मूलभूत सवाल बन्न पुगेको छ। यो विषयको पनि मैले जानकारी लिनु आवश्यक छ। वास्तवमा योजनाहरू छनौट गर्दा जनताको जीवन आर्थिक उपार्जनसँग जोडिन सक्ने योजनाहरू हुनुपर्ने हो। हालसम्मका विकास योजनाहरूले समाजको अर्थतन्त्र सकारात्मकरुपमा माथि पुगेको छ वा छैन ? जनप्रतिनिधिहरू आफ्नो इच्छामुताविक योजना दिने र कार्यान्वयन गर्न लालायित हुन्छन वा हुँदैनन ? आफ्नो स्वार्थ अनुकुल दिइएका योजनाहरूबाट जनताको जीवनस्तरमा प्रभाव परेको छ वा छैन् भन्ने एउटा अध्ययनको पाटो बनेको छ। मैले यी विषयहरू बुझ्नु छ। सिक्नु छ। सबै जनजनको ह्रदयको आवाज सुन्न लालायित बन्नु छ। म केही राम्रो गर्न सकुँला या नसकुँला तर व्यक्तिगत स्वार्थ र समाजका लागि नराम्रो हुने कार्यमा कहिल्यै सरिक हुने छैन्, भन्नेमा ढुक्क छु। यही मन्त्र लिएर पाइला चाल्न गइरहेकी छु, नवदुर्गा गाउँपालिकाको सम्भावनायुक्त गन्तब्यतिर।