नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूमाथि कहीँ पनि ढुङ्गामुढा प्रहार नभएकाे र सामाजिक सञ्जालमा फैलिएकाे हल्ला झुट भएकाे बताएका छन्। शुक्रबार पार्टीकाे प्रशिक्षण कार्यक्रमकाे लागि सुर्खेतमा पुगेका प्रचण्डले साे कुरा बताएका हुन्।
यसअघि केही सामाजिक सञ्जालमा माओवादी अध्यक्ष प्रचण्डमाथि ढुङ्गाप्रहार भएकाे भन्ने हल्ला गलत भएकाे उनले प्रतिक्रिया दिए।
‘म माथि कहीँ पनि ढुङ्गा प्रहार भएकाे छैन,’ अध्यक्ष प्रचण्डले,‘एमाले भन्ने गुटमा मान्छेहरू विक्षिप्त भएका छन्, याे गलत प्रचार उनीहरूले नै गरेका हुन्।’
याे हल्लालाई निराधार भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सूचना समेत जारी गरेका छ।
‘माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएकाे प्रचारमा सत्यता छैन,’ सूचनामा भनिएकाे छ ‘यस्ता प्रकारका झुठा, भ्रमण र शान्ति सुरक्षाका दृष्टिकाेणले गम्भीर प्रकृतिका हल्ला गरेकाे पाइएमा विद्युतिय काराेबार ऐन २०६३ बमाेजिम कारबाही हुने ब्यहाेरा समेत सूचित गरिन्छ।’