भरतपुर महानगरपालिका–९ को वडा कार्यालय नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
केन्द्रिय बसपार्कबाट गौरीगञ्जतर्फ जाँदै गरेको ना ५८ प ६३३४ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब १ बजे साइकल यात्री सर्लाही पिपरियाका ४५ वर्षिय कलाम शेखलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएका शेखको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन्। मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तैगरी, नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा रोकिराखेको डिब्बा ट्रक त्रिशुलीमा खसेको छ। ना ६ ख ४९३९ नम्बरको खाली ट्रक आज बिहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
‘गाडी बिग्रिएर दुई/तीन दिन देखि रोकेर राखेको रहेछ। रोकिराखेको ट्रक कसरी त्रिशुलीमा खस्यो भनेर अहिलेसम्म खुलेको छैन’, उनले भने, ‘गाडीको साहु र चालकसँग सम्पर्क भएको छ। उनीहरु आएपछि मात्रै थाहा हुन्छ।’ उनकाअनुसार ट्रकका चालक पनि काठमाडौँ छन्।
पानीमा डुबेको ट्रकलाई निकालेर पाखामा राखिएको छ। स्थानीयले बताएअनुसार आज बिहान ट्रक त्रिशुलीमा खसेको अवस्थामा भेटिएको थियो। त्रिशुलीमा कसरी खस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको रानाले बताए।
२० सवारी साधन नियन्त्रणमा
नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न २० वटा सवारी साधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। इच्छाकामना गाउँपालिका–७ भालुमारामा आज बिहान नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अवस्थामा ४ वटा जेसिबी, लोड गरिसकेका १० वटा टिपर र ६ वटा ट्रयाक्टर गरी जम्मा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिमा बुझाइएको छ।