मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन्।
बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गरेका छन्।
सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमाले प्रवेश गरेका छन्।
अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ एमालेले जनाएको छ। एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो।
माओवादीले उनलाई पार्टीबाट निष्काशन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो। तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिएका थिए।
मोरङमा पछिल्लो समय एमाले प्रवेश गर्नेको लहर नै चलेको छ। एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन दिइसकेको छ।