कार्य सम्पादनमा अग्रणी सुनिलस्मृति गाउँपालिका

स्थानीय तहको वार्षिक कार्य सम्पादनमा सुनिलस्मृति गाउँपालिका अग्रपङ्तिमा देखिएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा रोल्पा जिल्लाका १० वटा स्थानीय तहमध्ये सुनिलस्मृति गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ।

आयोगले विभिन्न १७ वटा सुचकका आधारमा गरेको गत वर्षको वार्षिक कार्य सम्पादनमा गाउँपालिकाले ६७.६७ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहलाई उछिनेको हो।

स्थानीय तहको सभामा समयमै बजेट पेश गर्ने, पारित गर्ने, प्रदेशको सञ्चित कोषमा समयमै राजश्व जम्मा गर्ने, राजश्व संकलन, वार्षिक समीक्षालगायतका सुचकका आधारमा आयोगले मूल्याङ्कन गरेको सुनिलस्मृति गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोतिम आलमले बताए।

‘गाउँपालिकाको सबैजसो तथ्याङ्कहरु हामीले समयमै हाम्रो वेब साइटमा अपडेट गरेका हुन्छौ।’ आलमले भने, ‘हामीले गरेको वार्षिक कार्य सम्पादनको तथ्याङ्कका आधारमा आयोगले मूल्याङ्कन गरेको हो।’

आगामी वर्ष अनुदान बढ्ने सम्भावना

आयोगको मूल्याङ्कनमा राम्रो अंक प्राप्त गरेसँगै आगामी आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले संघीय सरकारबाट पाउने अनुदान बढ्ने भएको छ।

संघीय सञ्चित कोषबाट स्थानीय तहलाई दिइने समानीकरण अनुदानका लागि आयोगको यो मूल्याङ्कनलाई समेत आधार बनाई अनुदान सिफारिस हुने भएकाले गाउँपालिकाले पाउने अनुदान बढ्ने भएको हो।

आयोगको सिफारिसकै आधारमा कोषबाट प्रदेश र स्थानीय सरकारलाई अनुदान दिइने भएकाले गाउँपालिकाको यो सफलता नै अनुदान बढ्ने आधार बनेको बताइएको छ।

प्रकाशित मिति: : 2022-03-08 14:55:00

प्रतिकृया दिनुहोस्