रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायो : युक्रेनी सेना

File Photo - AP
File Photo - AP

रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ। रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन्।

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिबारका चार जना मारिएका थिए। उनीहरु युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए।

त्यस्तै मारिओपोल सहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ।  मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ। त्यहाँ उर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ।

रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ। तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरुमाथि हमला भइरहेका बताएको छ। रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ।

आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरुका अनुसार रुसी सेनाले २४ फेब्रुवरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन्।

तर, रुसले सर्बसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ। आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रबादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ। एजेन्सी

प्रकाशित मिति: : 2022-03-07 12:08:00

प्रतिकृया दिनुहोस्