बाबु ठूलो भएपछि के बन्छस् ?
सानाेमा मलाई सबैभन्दा बढी साेधिएकाे प्रश्न यही हाे। सायद तपाईंहरूलाई पनि हाेला।
अंकल म डाक्टर बन्छु नि। जब-जब कोही गाउँमा बिरामी भएर उपचार नपाएर अकालमै ज्यान गुमाएको देख्थेँ, तब म जवाफ दिन्थेँ। र, डाक्टर बन्ने सपना मज्जाले बुन्थेँ। आन्टी म वकिल बन्छु नि। जब गाउँमा कोही अन्यायमा परेर रुदैं बसेको देख्थेँ, तब म जवाफ दिन्थेँ। र, फेरि मज्जाले जवाफ दिन्थेँ। अनि मनमा फेरि वकिल बनेर सबैलाई न्याय दिने सपना बुनेर दङ्ग पर्थेँ।
म पाइलट बन्छु र धेरै पैसा कमाउछु।
बालाई र आमालाई सधै सुख दिन्छु। आकशमा उड्छु। जब आकाश उडिरहेको जहाज देख्थेँ, तब फेरि पाइलट बनेर संसार जितेको सपना देख्थेँ। सोच्थेँ, मेरो जीवनकाे सुखदायी यात्रा सुरू भयाे। अब म धेरै अगाडि बढ्ने छु, सबैभन्दा अगाडि। अब सबैलाई बदल्ने छु। मेराे देश राम्राे बनाउने छु। संसार चुम्नेछु।
तर, कहाँ जीवन सपना जस्तै रङ्गिन हुन्छ र ?
सपना देख्दैमा संसार बदल्ने कुरा कहाँ सम्भव हुन्थ्याे र । खास जीवन त त्यो बेला सुरुभयो, जुन बेला आमालाई नरुनु न म जीवनलाई राम्रो बनाउँन सहर जान लागेको हो। संसार जित्न सहर जान लागेको भन्दै ठूलो झोलामा धेरै सपना राखेर झोला बन्द गरेर आँशु आँखामा ल्याउँदा आमालाई नराम्रो लाग्ला भनेर आँखाभित्र नै लुकाएर झुटो मुस्कान ओठमा फिस्स ल्याएकी थिएँ।
बाको ऋण तिर्ने आशा र आमाको जीवनमा सफल हुने आशिष बोकेर सहर पुग्ने बसमा चढेकी थिएँ। त्यो बेला मनमा अलिअलि दु:ख सँग–सँगै दिमागमा धेरै कुराहरु खेलाउँदै यो विरानाे सहर छिरेको सम्झदा त हिजो जस्तै लाग्छ। तर, त्यो हिजोलाई बदल्न सक्ने भए चाहिँ बदलेर त्यो हिजोलाई सपना जस्तै बनाएर यो सहर कहिल्यै नफर्किने गरी फेरि गाउँमा आमाको काखमै जान्थेँ। संसार जित्ने सपना विर्सेर भाइ-बहिनीबाट आमाको काख जित्थेँ। अनि आमाको काख जित्ने र आमाको ओठमा साच्चिकैको मुस्कान ल्याउँदा नै संसार जितेको सोच्थेँ। बाको ऋण तिर्ने आशा बरु गाउँमा नै बाख्रा पालेर ऋण तिरेर आशालाई भरोसामा बदल्थेँ। तर, बगेको खोला र बितेको समय कहाँ फर्किन्थे र ?
मलाई मेरी आमाले सिकाउनु भएको, कहिले झुट बाेल्नु हुँदैन तर त्यहीँ झुटमा कोही खुशी हुन्छ र कसैलाई सहयोग मिल्छ भने झुट बोल्दा खासै फरक पर्दैन। त्यसैले मेरो आमालाई खुशी पार्न आजभोलि सधै झुटकै साहारा लिन लागेको छु। आखिर झुट नै हुँदो रहेछ साथी भनेर त म त्यो बेला महसुस गर्छु, जुन बेला मेरो आमा मेरो सबै झुटो कुरोलाई साँचो मानेर एकछिन देखाएको मेरो झुटो मुस्कानलाई देख्दा गाउँभरि– खुशी छ नानी भनेर गफ लगाई हिँड्ने गर्छिन्। अनि म सम्झिन्छु आफ्नो बालापन जुन बेला मैले कहिले आफ्नो आमासँग झुट बोलिन।
हुन त मैले आजभोलि बालापन नसम्झेको कुनै दिन हुँदैन। म हरेक समयमा बालापन सम्झिन्छु। जब कलेजबाट बस्ने कोठामा आउने बेला रेक्साले २५ रुपैयाँ माग्छ र त्यही पैसाले आफूलाई एउटा कापी आउने सम्झेर दिउँसो करिब १२ बजेको टन्टलापुर घाममा एक घण्टाकाे बाटो एक्लै हिँड्छु। त्यति नै बेला बालापन सम्झन्छु र त्यो बेलाका सपनाहरू याद आउँछन्, डाक्टर, वकील र पाइलट बनेकाे।
साथीहरू ‘खाजामा म:म सँगै कोकाकोला खाऔँ’ भन्दा म चाहिँ त्यो कुराको हिसाब गर्दा एकैदिनको खाजालाई दुई सय पर्ने भयाे भन्ने डरले १० रुपैयाँको समोसा अरुले भन्दा पहिले नै समाएर ‘मलाई आज धेरै खान मन छैन’, भन्दै झुट बोल्दा र अरुले मीठो खाएको देख्न नसकेर कामको बाहना बनाएर सबै भन्दा अगाडि होटलबाट निस्कन्छु। हो, त्यही बेला म सम्झन्छु, आमाले घरमा मासु भात पकाउँदा पनि मीठो भएन मलाई भन्दै भात पस्केको थाल हुर्याएर साथीहरूसँग घुम्न गएको।
महिनाभरि काम गर्दा साहुले तलब दिने बेलामा भने एकदिन ढिला आएको निहुँमा आधा तलब काट्दा जब आफूलाई अन्याय भए जस्तो लाग्छ, त्यो बेला सम्झन्छु म बच्चा छँदा अरुलाई अन्याय हुँदा पनि वकील बनेर उसलाई न्याय दिन्छु भन्ने सपना देखेको म आज आफैलाई अन्यायमा पर्दा पनि टुलुटुलु हेर्ने बाहेक केही उपाय छैन।
जीवनमा अझै कस्ता दिन देख्न र भाेग्न बाँकी छ। म त आज यति छिटो थाकिसकेँ त्यहीँ पनि फेरि सम्झन्छु– आमाको कहिल्यै नथाक्नु है भन्दै दिएको आशिष। सम्झन्छु, बाको आँखा जुन आँखामा धेरै आशाको किरणहरु छन्। बुढेसकालमा छोरीको पैसाले फाटेको कोट फेर्ने रहर। आफूलाई मन पर्ने फल सुन्तला छोरीको कमाईले एउटा भए पनि चाख्ने रहर। थाहा छैन, कतिञ्जेल अझै त्यो आशा रहने हो। थाहा छैन, यो जिन्दगी कुन बेला सकिने हो। त्यत्तिकैमा म फेरि आमाको फाटेको चोली सम्झन्छु। अनि फेरि उही काम गर्न लाग्छु। तर, कहाँ त्यति सजिलो रहेछ र ? काम गरेर खान। कहाँ सजिलो रहेछ र ती बालापनमा देखेका सपनाहरु पूरा गर्न।
आजभोलि त सपनाहरु पनि पुरै बदलिसके। कहाँ डाक्टर बन्ने सपना र कहाँ आज एक जोर लुगा किन्ने सपना। कहाँ घर किन्ने सपना र कहाँ यो सहरमा बसेको एक कोठाको समयमै भाडा तिर्ने गर्नु परेकाे प्रयत्न। आकाश पातालको फरक छन्, हिजोका र आजका सपनामा। हिजोका सपना सम्झेर आज खुशी त कहिलेकाही नहुने कहाँ हो र तर, खुशी न हो दु:ख जस्तो धेरै समय टिक्दैन। एकछिन खुशी हुन लाग्यो भने पनि यी चार भित्ताले गिज्जाए जस्तो लाग्छ। र, फेरि आफ्नो ठाउँ यो खुशीमा होईन। त्यही कहिले पूरा नहुने सपना देख्नुभन्दा एकछिन् काम गर्याे भने भोलि साहुको गाली खानु नपर्ला भन्ने याद आइहाल्छ।
आज पनि म त्यो खाटमुनि भएको गाउँबाट बोकेर आएको ठूलो सपना देख्दा सम्झिन्छु, त्यो दिन। अनि साच्चिकै मुस्काउरान खोज्छु। तर, त्यो झोलाले पनि विरक्त माने जस्तो लाग्छ र उसकाे कसैले नसुनिने गरी बोलेको आवाज सुन्छु, ‘खै कस्तो गरीबको हातमा परेछु म’ सधै यो खाटमुनि मात्र राख्छ, अनि यहाँ आएदेखि मलाई धोएकोसम्म पनि छैन, साबुन किन्ने पैसा नभएर होला। सायद धनीको हात परेको भए ‘म आज देश विदेश घुम्न पाउँथे हाेला।’
विचरा मेराे झाेला।