डेढलाख पाउण्डको लोभले गुम्यो सबै कमाइ

Breaknlinks
Breaknlinks

काठमाडौंकाे बुढानीलकण्ठ नगरपालिका–८ की ५८ वर्षीया गीता (नाम परिवर्तन) शिक्षण पेसामा आवद्ध थिइन्। २०७७ सालको मंसिरमा पेसाबाट अवकाश पाएकी उनी काठमाडौंका एक्लै बस्दै आएकी थिइन्।

उनका दुई छोरी बेलायतमा बस्दै आएका छन्। अवकाशपछि उनी छोरीहरुसँगै बेलायतमा बस्ने योजनामा थिइन्। काटमाडौंमा एक्लै भएकाले छोरीहरुले उनलाई बोलाइरहेका थिए।

घरमा एक्लै भएकाले उनको दैनिकी सामाजिक सञ्जाल फेसबुक चलाउँदै बित्थ्यो। गीता बेलाबेलामा छोरी, नातिनातीनाहरूसँग म्यासेन्जरमार्फत कुराकानी गर्ने गर्थिन्।

२०७७ माघमा फेसबुकमा ‘डीआर जोन लाउरेन्स्’ काे फ्रेन्ड रिक्वेस्ट आयो। उनले त्यो रिक्वेस्ट स्वीकार गरिन्। म्यासेन्जरमा कुराकानी पनि हुन थाल्यो। कुराकानीको क्रममा एकदिन उनलाई ह्वाट्स एपमा जोडिन अनुरोध गरे। ह्वाट्स एपमा उनी ४४७४३८३१३८०० नम्बरमार्फत जाेडिइन्।

एकदिन गीतालाई ती व्यक्तिले भने, ‘तपाईंलाई सुनको सिक्री र १ लाख ५० हजार पाउण्डको चिठ्ठा भरिदिएको छु, तपाईंलाई ह्वाट्स एपमा फोन आउनसक्छ।’

त्यसको २ दिनपछि उनलाई ह्वाट्स एप नम्बर ९८०९४६९४८१५९, ३८०९१६९४८१५९ र ९९४४०२६८३०३२ बाट ‘तपाईंलाई ९० लाख नेपाली रुपैयाँ चिठ्ठा परेको छ’ भनेर फोन आयो।

गीताको खुशीको सीमा रहेन। काठमाडौंमा भएको घर र अवकाशपछि आएको पैसा लिएर बेलायत जाने योजनामा थिइन्। त्यो पैसा खर्च नहुने भयो भन्दै मनमनै लड्डु खाइरहेकी थिइन्।

उनलाई कस्टम चार्ज लाग्ने भनियो र एसबीआई बैंकमा खाता नभए खोल्न समेत ती व्यक्तिहरुले आग्रह गरे। उनले एसबीआई बैंकमा खाता भएको भन्दै खाता नम्बर दिइन्। उनीहरुले चिठ्ठा परेको पैसा उक्त बैंकमा आउने बताएका थिए।

डीआर जोनले ९० लाख पाउनको लागि आफूले भनेको व्यक्तिलाई पैसा पठाउन आग्रह गरे। उनले चिठ्ठा परेको विश्वास दिलाउनको लागि सुटकेशमा पैसा भएको फोटोहरु पठाए।

जोनले उनलाई पहिला एसबीआई बैंकमा खाता भएका विकास झालाई भारतीय रुपैयाँ २५ हजार अर्थात् नेपाली रुपैयाँ ४० हजार पठाउन भने, उनले ०७७ चैत १८ गते पठाइन्।

फेरि सन् २०२१ अप्रिल २७ राजिव मण्डल, मे ११ असिम हलम, मार्च १७ गते कमलेश गुप्ताको एसबीआई बैंकमा रहेको खातामा ४०/४० हजारका दरले पैसा पठाइन्।

जोनले उनलाई प्रलोभनमा पारिरहे। उनले २०७८ जेठ २८ गते ज्योति विकास बैंकमा खाता रहेका गंगा बिसीका नाममा ६ लाख ५० हजार पठाइन्। यस्तै गान्दिप गौतमका नाममा ५ लाख, २ लाख ५० हजार, ३ लाख ५० हजार गरेर ११ लाख गर्दै २० जना व्यक्तिको नाममा २९ लाख ४० हजार रुपैयाँ पठाइन्।

जोनले त्यो पैसा लगेपछि पनि ३५ लाख रुपैयाँ पठाउनुपर्ने भनेपछि मात्र उनले महानगरीय अपराध महाशाखामा उजुरी दिन पुगेकी थिइन्।

अपराध महाशाखाको अनुसन्धानमा उनले विभिन्न व्यक्तिका नाममा आइएमी, बैंक खाता, सिटी एक्सप्रेस, प्रभु मनिट्रान्सफरलगायतबाट पैसा पठाएको देखिएको छ।

उनले जोनले जसरी पठाउन भन्छ त्यसरी नै पठाउने गरेकी थिइन्। पेसाबाट अवकाश भएपछि पाएको सबै पैसा पठाइसकेपछि प्रहरीकोमा आएको महाशाखाले जनाएको छ।

‘उहाँले आफूसँग भएको पैसा सबै पठाएपछि मात्र प्रहरीकोमा आउनुभएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने,‘उहाँ कसैलाई नभनिकन पैसा पठाउँदा र अनलाइनमा चिनजान भएका व्यक्तिहरुसँग विश्वास गर्दा ठगिनु भएको छ।’

अपराध महाशाखामा अहिले अनलाइनबाट ठगी भएको भन्दै उजुरीहरु बढिरहेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए।

‘अनलाइनबाट ठगी भएका उजुरीहरु दैनिक वृद्धि भइरहेका छन्,’ एसपी कोइरालाले भने, ‘एक महिनामा ७० निवेदन महाशाखामा आएका छन्।’

एसपी कोइरालाका अनुसार सबैभन्दा धेरै अनलाइनमा चिठ्ठा पर्यो, कस्टम तिर्नुपर्छ भन्दै ठगिने धेरै छन्। ह्वाट्स एप, भाइबरबाटै धेरै ठगिएका छन्। मोबाइल वालेटबाट ठगिने पनि उति नै धेरै रहेको एसपी कोइरालाले बताए।  

प्रकाशित मिति: : 2022-03-04 19:30:00

प्रतिकृया दिनुहोस्