धोका दिनेलाई के भनौँ र खोइ !

लिभिङ टुगेदर र फ्री सेक्सको बहसमा नेपाली समाज

रातोपाटी

अरुण बराल

 

पत्रकारिता भनेको फगत राजनीतिक परिघटनाको वर्णन मात्र होइन। पत्रकारिताले समाजका सबै खाले बहस र अवयवहरूलाई समेट्न सक्नुपर्छ। समाजमात्र होइन, वातावरण र भूगोल पनि पत्रकारिताको विषयवस्तुभित्रै पर्छ। यही परिधिलाई मध्यनजर गर्दै यहाँ नेपाली समाजमा चल्न थालेको ‘यौन स्वतन्त्रता भर्सेस अनुशासन’ का विषयमा थोरै बहस गर्ने प्रयास गरिएको छ।

हालै प्रतिनिधिसभाको संसदीय समितिमा लिभिङ टुगेदरका विषयमा छलफल चल्यो। काठमाडौँलगायतका सहरमा पश्चिमी देशमा जस्तै विवाहपूर्व महिला–पुरुष लिभिङ टुगेदरमा बस्न थालेका घटना बढेका छन्। लिभिङ टुगेदरमा बसेपछि शारीरिक सम्बन्ध त हुने नै भयो, कतिपयबाट जायजन्मसमेत हुने तर बिहे नगरी पुरुषहरूले महिलालाई छाडिदिएका घटना बढ्न थालेपछि यसबारे कानुनको आवश्यकता विधायकहरूले महसुस गर्न थालेको देखिन्छ।

नेपालमा अहिलेसम्म लिभिङ टुगेदरले कानुनी मान्यता पाएको छैन। आपसी विवाहको बन्धनमा नबाँधिएका महिला र पुरुष सँगै बस्ने उनीहरूको स्वतन्त्रता भएता पनि मन नमिलेर छुटिएको स्थितिमा महिलाले आफू पीडित भएको वा धोका खाएको महसुस गर्नु पूर्वीय समाजमा स्वाभाविकै हो। लिभिङ टुगेदरमा बसेर जतिसुकै आधुनिक देखिन खोजे पनि पश्चिमी सभ्यताको गहिराइमा नेपाली समाज पुगिसकेको छैन।

प्रकाशित मिति: : 2022-02-22 12:10:00

प्रतिकृया दिनुहोस्